शनिबार, कात्तिक १२ । कालिकोटको तिलागुफा नगरपालिका–१० रानाबाडामा बम विस्फोट हुँदा दुई बालिकाको मृत्यु भएको छ । दुई बालक र एक बालिका घाइते भएका छन् । विस्फोटमा परि रानाबाडाका चार वर्षका सरस्वती राना र झरना रानाको मृत्यु भएको कालिकोटका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । झरनाको घटनास्थलमै र सरस्वतीको उपचारका क्रममा कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भएको उहाँले बताउनुभयो ।
घाइते हुनेमा रानाबाडा का पाँच वर्षका मुस्कान थापा, सात वर्षका कमल थापा, तीन वर्षका दर्शना राना छन् । घाइतेमध्ये दर्शना र मुस्कानको अवस्था गम्भीर रहेको डीएसपी रिमालले जानकारी दिनुभयो ।
गोरु चराउन जाँदा घर नजिकैको गोरेटोमा बम फेला पारेको र बालबालिकाले बम खेलाउने क्रममा विस्फोट भएको डिएसपी रिमालले जानकारी दिनुभयो । घटना स्थलमा पुगेको प्रहरी टोलीले सकेट बम हुन सक्ने अनुमान गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको पनि उहाँले बताउनुभयो । विस्फोटमा घाइते भएका बालबालिकालाई थप उपचारका लागि अस्पताल लैजान नेपाली सेनाको हेलिकोप्टर घटनास्थलमा पुगेको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.