प्रेमप्रसादको नाउँमा:खोमा तरामु मगर

डेली न्युजराप्ती       ११ माघ २०७९ १४:१८ मा प्रकाशित     389 No Comments

पुँजीवाद हिंस्रक जनावर हो
जसले मान्छेलाई जिउँदै पोलेर खान्छ

पुँजीवाद बधशाला हो
जसले मान्छेको जिउँदै
व्यापार गर्छ र मुनाफा कमाउँछ

पुँजीवाद संगठित ग्याङ् हो
जसले मान्छेको जीवनलिला निमोठ्न
अक्षम्य अपराध गर्छ

प्रेमप्रसाद ! के तिमीलाई थाहा छ ?
तिम्रो हत्यारा को हो ?
तिम्रो शरिरभरि आगो लगाउने को हो ?
तिम्रो जिजिबिषा बध गर्ने मालिक को हो ?
तिम्रो जीवनको शिकार गर्ने नरभक्षी को हो ?

प्रेमप्रसाद ! तिमीले बुझिराख–
तिम्रो हत्यारोहरु
गणतन्त्रको तक्मा लगाएर
भर्खरै सिंहरदरबार पसेको छ

तिमीलाई किस्ता–किस्तामा
लिलाम विक्री गरि आगो झोस्ने मालिकहरु
ब्रिफकेस बोकेर संसदभवन
वरिपरी डुलिरहेको छ
तिमीले नै पठायौ बाकसमा भोट हालेर
र अभिसप्त भयौं सिंहदरवार गेटमा जल्न

त्यसैले बुझिराख–
पुँजीवाद घिनलाग्दो सिनो हो
पुँजीवाद आत्महत्याको कारखाना हो
पुँजीवाद रक्तपिपासुहरुको बजार हो
पुँजीवाद नाफाखोरहरुको हातबजार हो

ओ, विवेकी युवाहरु !
मुर्दा शान्तिको चिहानमा उभिएर
शोकको विलाप नगर
दलाल पुँजीवादको बर्वर पाशविकता विरुद्व
निर्भीक र निर्बन्ध विद्रोह गर्ने आँट गर ।
००
दिवंगत प्रेमप्रसादप्रति विशेष स्मरण एवं श्रद्धासुमन !

लेखक:कवि खोमा तरामु मगर नेकपा गुल्मी जिल्लाका सेक्रेटरी हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार