काठमाडौंको खुल्लामञ्चमा भोली बृहत आमसभा गर्दै नेकपा , विप्लवदेखि बैध र प्रचण्डले सम्बोधन गर्ने

डेली न्युजराप्ती       ८ बैशाख २०८० ०८:२२ मा प्रकाशित     272 No Comments

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीले बृहत आमसभा गर्ने भएको छ । नेकपाले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ औं बार्षिकोत्सवको अवसरमा बैशाख ९ गते शनिबार काठमाडौंको खुल्लामञ्चमा बृहत आमसभा गर्ने भएको हो । उक्त आमसभामा देशका १० बढी कम्युनिस्ट पार्टीहरुलाई बोलाइएको नेकपा प्रवक्ता प्रकाण्ड सीले जानकारी दिए । पार्टीले गर्न लागेको बृहत आमसभाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रकाण्डले प्रचण्डदेखि आहुतिसम्मका सबै कम्युनिस्ट पार्टीलाई बोलाएको बताए ।

‘हामीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका अध्यक्ष आहुतीलाई बोलाएका छौं । उहाँहरुले आउछौं भन्नुभएको छ ।’, पत्रकार सम्मेलनलाई संबोधन गर्दै उनले भने, ‘माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, क्रान्तिकारी माओवादीका महासचिव किरण, एमाले अध्यक्ष केपी शर्मा ओली, मसालका अध्यक्ष मोहन विक्रम सिंह, नेमकिपाका अध्यक्ष रोहितलाई पनि बोलाएका छौं । उहाँहरुले निर्णय दिनुभएको छैन् । तर उहाँहरुको पनि सहभागिता हुनेछ ।’

बैशाख ९ गते अर्थात अप्रिल २२ ऐतिहासिक दिन भएको भन्दै प्रकाण्डले यो दिनलाई सबै कम्युनिस्ट पार्टीहरुले उत्सवका रुपमा मनाउनु पर्ने बताए । ‘सबै कम्युनिस्ट पार्टीको जन्मदिनको हो अप्रिल २२ अर्थात बैशाख ९ गते । यसलाई सबैले उत्सवका रुपमा मनाउनु पर्छ । त्यसको पहलकदमी नेकपाले लिएको छ ।’, उनले भने, ‘लेनिनको जन्मदिनका अवसरमा पुस्पलाल श्रेष्ठको पहलकदमीमा र नेतृत्वमा कम्युनिस्ट पार्टी स्थापना भएको थियो । त्यो दिन सबै कम्युनिस्ट पार्टीको जन्मदिन हो ।’

यो उत्सवलाई आफ्नो पार्टीले वैशाख २ देखी ९ गतेसम्म मनाउने पूर्व निर्णयअनुसार देशभरी कार्यक्रमहरु सम्पन्न भइरहेको र साताव्यापी सो कार्यक्रमको अन्तिम तथा उत्कर्ष वैशाख ९ गतेको सम्पूर्ण तयारी पुरा भएको उनको भनाई थियो । सो दिन मध्यान्न १२ बजे काठमाण्डौं, सुन्धाराबाट जुलुश सुरुभै २ बजे जनसभामा परिणत हुने नेकपाले जनाएको छ ।

देश राजनीतिक अस्थिरताको दुश्चक्रमा फसेको भन्दै त्यसको अन्त्यका लागि पार्टीले पहलकदमी लिएको बताए । ‘देशमा आर्थिक संकट चुलिएको छ । यस्तो बेला वामपन्थी र देशलाई माया गर्ने पार्टीहरु र नेताहरुविच गम्भीर विमर्श गर्नु र निकासको पहलकदमी लिनुपर्ने युगिन दायित्व हाम्रो कांधमा आएको छ ।’, पत्रकार सम्मेलनलाई संबोधन गर्दै उनले भने, ‘हाम्रो पार्टीले त्यही दायित्व पूरा गर्ने उदेश्यले नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसलाई सार्थक बनाउन चाहन्छ । त्यसकारण यो अभियानमा सहभागी भैदिनुहुन सम्बन्धित सवैमा हार्दिक अनुरोध गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार