शान्तिनगर–२ का वडा अध्यक्ष वली विरुद्ध प्रहरीमा जाहेरी दर्ता , पक्राउपुर्जी ल्याउदै प्रहरी!

डेली न्युजराप्ती       ८ असार २०८० १२:१४ मा प्रकाशित     196 No Comments

तुलसीपुर, ८ असार । दाङको शान्तिनगर गाउँपालिका –२ का वडा अध्यक्ष सुनिल वलीका विरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दर्ता भएको छ । वलीका विरुद्ध प्रहरीमा परेको जाहेरीमा कार्यालय समयमा कर्मचारी माथि कुटपिट र सरकारी कागजात च्यातेकोले हदैसम्म कारबाहीको माग गरिएको छ । जाहेरी दर्ता भएकाले जिल्ला अदालतबाट आजै पक्राउपुर्जी ल्याएर वडा अध्यक्ष वलीलाई पक्राउ गर्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी नवराज केसीले बताउनुभयो। प्रहरीमा मुद्दा दर्ता गर्न पालिकाका सबै कर्मचारी गएका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरमा मुद्दा दर्ता गरे लगत्तै कर्मचारीहरू जिल्ला प्रशासन कार्यालय घोराहीमा कारबाहीको माग गर्दै धर्ना दिन गएको गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले बताउनुभयो । वडाध्यक्ष वलीले बिहीबार दिउँसो ४ बजेतिर शान्तिनगर गाउँपालिकाको कार्यालयमा प्रवेश गरि प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काको कार्यकक्षमा शिक्षा अधिकृत सुमन पाण्डेलाई कुटपिट गरेको पालिकाले जनाएको छ ।

खड्काका अनुसार वडाध्यक्ष वली शिक्षा शाखामा प्रवेश गरी सरकारको सशर्त बजेट अन्तर्गत जनकल्याण माध्यमिक विद्यालय सिमसुन्दरपुरमा कार्यान्वयन हुने पुस्तकालय स्थापना कार्यक्रमको फाइल मागेका थिए । वडाध्यक्षले सोही कुरामा विवाद झिकी आफैँले फाइल बोकेर प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काको कार्यकक्षमा प्रवेश गरेका थिए । यसअघि उनले आफ्नै वडामा रहेको विद्यालयका प्रअलाइ पनि हातपातको प्रयास गरेका थिए । शिक्षा अधिकृत पाण्डेको समेत उपस्थितिमा छलफल चलिरहँदा र तर्कवितर्क भएपछि वडाध्यक्ष वलीले कार्यक्रमसँग सम्बन्धित सम्झौताको फाइल नै च्यातेको प्रमुख प्रशासकीय अधिकृत खड्काले बताएका छन ।

त्यसपछि वडाध्यक्ष वलीले सामुन्ने अगाडि बसेका शिक्षा अधिकृत पाण्डेलाई कुटपिट गरेको प्रमुख प्रशासकीय अधिकृत खड्काले बताएका छन । घटनाबारे जानकारी लिन खोज्दा वडाध्यक्ष वलीको मोबाइलमा सम्पर्क हुन सकेन । गत फागुन महिनामा मात्रै वडाध्यक्ष वलीले गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत र प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्कामाथि कार्यकक्षमै हातपातको प्रयास गरेका थिए। उनले कुर्सी उठाएर दुबै जनालाई त्यसैले हान्न खोजेका थिए। त्यसको विरोधमा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयमा लिखित निवेदन दिए पनि फेरि त्यस्तो कार्य नदोहोर्याउने सर्तमा कुरा मिलेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार