असार २० , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङले आजदेखी २ बिघा जमिनमा धान रोपाइँ सुरु गर्ने जनाएको छ ।
नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सीले यो वर्ष पार्टीको सामुहिक उत्पादन अन्तर्गत बुधबारदेखि २ बिघा जमिनमा धान रोपाइँ सुरु गर्न लागिएको बताए ।
आजदेखि सुरु हुने धान रोपाइँ दुईदिनसम्म चल्ने नेकपाले जनाएको छ ।
धान रोपाइँमा नेकपाका पोलिटव्युरो सदस्य शितल सी , पार्टीका राप्ती ब्युरो इन्चार्ज सविन सी , पार्टीका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सी , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य तथा पश्चिम दाङका सचिव निर्मल सी , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य तथा राप्ती ब्युरो कार्यालय सचिव बिकाश सी , जवस/मोर्चाका केन्द्रीय सदस्यहरु , पार्टीका जिल्ला मातहतका नेता-कार्यकर्ता एवम स्थानीय जनताको सहभागीतामा धान रोपाइँ गरिने जनाइएको छ ।
यता नेकपाले असार १५ गते देशभर एकैसाथ श्रम उत्सवको उद्घाटन गरेको थियो ।
नेकपाले केन्द्रिय उत्पादन अन्तर्गत कपिलवस्तु , चितवन , वर्दियाको राजापुरमा विशेष कार्यक्रमको आयोजना गरि देशभर एकैसाथ श्रम उत्सवको उद्घाटन गरेको हो ।
नेकपाले आफ्नो केन्द्रिय कार्यालय कपिलवस्तुमा महासचिव विप्लव सी लगायतका नेता कार्यकर्ता , इन्द्रेणी कलाकार परिवार , सामना कलाकार परिवारको सहभागितामा अन्तर्राष्ट्रिय गित गाएर श्रम उत्सवको भव्य उद्घाटन गरेको थियो ।
नेकपाले श्रम उत्सवको उद्घाटनको दिनमा कपिलवस्तुमा अढाइ बिघा जग्गामा धान रोपेको जनाएको छ।
यस्तै नेकपाले चितवन र वर्दियाको राजापुरमा पनि करिब २० बिघा जमिनमा धान रोपेको छ ।
नेकपाले बर्दियाको राजापुरका लागि स्थायी समिति सदस्य भरत सी र चितवनका लागि स्थायी समिति सदस्य अनिल सीको नेतृत्वमा धान रोप्ने जनशक्ति खटाएको हो ।
नेकपाले पार्टीलाई आत्मनिर्भर बनाउन देशभर करिव ८० बिघा जमीनमा धान रोप्ने लक्ष्य लिएको नेकपाका केन्द्रिय कार्यालय सचिव बिजय सीले जानकारी दिएका छन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.