७ सदस्यीय छानबिन समिति बनाउने सहमतीपछि आजदेखी प्रतिष्ठानमा उपचार सेवा सुचारु

डेली न्युजराप्ती       ३० असार २०८० १०:१६ मा प्रकाशित     139 No Comments

दाङ , ३० असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सेवा आजदेखि सुचारु भएको छ । बालक मृत्युको घटनालाई लिएर बिरामीका आफन्तले आकस्मिक सहितका सबै सेवा ठप्प पारेपछि बिहिबार र शुक्रबार दिनभर अशान्त बनेको स्वास्थ्य सेवा सुचारु भएको हो ।

प्रतिष्ठानमा उपचारका क्रममा ११ वर्षीय बालकको मृत्यु भएको घटनापछि अस्पताल प्रशासन र पीडित पक्षबीच शुक्रबार बेलुकी अबेर सम्पन्न वार्ताले सहमति जुटाएको छ । अबेरसम्म चलेको बार्ता निष्कर्षमा पुगेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. विकास लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार पीडित र अस्पताल पक्षबीच घोराही ३ का वडा अध्यक्ष रामप्रसाद चौधरीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति बनाउने सहमती भएको छ ।

जसमा वडा अध्यक्ष संयोजक रहने गरी सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरीबाट एक जना, अस्पताल प्रशासनबाट एक जना, राजनीतिक दलका तर्फबाट एक जना, पीडित पक्षबाट २ जना सदस्य रहने गरी ७ सदस्यीय छानबीन समिति बनाईएको छ ।

जसले अबिलम्ब घटनाको सत्यतथ्य छानबीन गरी प्रतिवेदन ल्याउने बताईएको छ । शैक्षिक योग्यता अनुसार मृतक एकाघरका नजिकका आफन्तलाई रोजगारी दिने पनि सहमति भएको छ ।

यसैगरी, पीडित परिवारका लागि आर्थिक सहयोग जुटाउन सर्वपक्षीय समिती बनाई सहयोग संकलन गर्ने सहमति भएको छ । यका लागि स्थानीय सरकार, प्रदेश र संघ सरकारसँग राहत उपलब्ध गराउन अनुरोध गर्ने सहमती भएको छ ।

त्यस्तै अवरुद्ध अस्पतालको स्वास्थ्य सेवा सुचारु गर्ने पनि सहमति भएअनुसार राति अबेरबाट स्वास्थ्य सेवा सुचारु भएको छ । अस्पताल प्रशासन पक्ष र पीडित पक्षबीच वार्ताका माध्यमबाट सहमति भएसँगै मृतक बालकको शब आफन्तले बुझ्ने र अन्त्येष्टि गर्ने सहमति भएको छ ।

उपचारका क्रममा मृत्यु भएका बालकको उपचारका क्रममा लागेको सम्पूणर् खर्च प्रतिष्ठानले ब्यहोर्न कार्यकारी परिषदमा सिफारिस गर्ने सहमति भएको उपकुलपति डा. लामिछानेले बताउनुभयो ।

छारे रोगको समस्या लिएर अस्पतालमा उपचारका लागि आएका घोराही-३ का ११ वर्षीय बालक आक्रोश नेपालीको मृत्यु भएपछि मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै शुक्रबार दिनभर अस्पतालको सेवा अवरुद्ध पारेका थिए ।

अस्पतालका डा. रमेश कँडेल अनुसार बालकलाई आकस्मिक उपचारपछि पिआइसियुमा राखिएको थियो । बालकमा देखिएको छारेरोगको कारण पत्ता लगाउन बिहीबार एमआरआई गराउन लगिएको थियो । एमआरआई गर्ने क्रममा बालकमा फेरि छारेरोगको लक्षण देखिएको र अक्सिजन कम भएपछि थप अक्सिजन दिन अक्सिजन सिलिन्डर एमआरआई कक्षमा राखिएको थियो ।

बालकलाई एमआरआई कक्षबाट बाहिर लान एमआरआई कक्षको ढोका खोल्ने क्रममा एमआरआई मेसिनको चुम्बकीय शक्तिले अक्सिजन सिलिन्डर तान्दा चर्को आवाज आयो । चर्को आवाज आएलगत्तै बालक अचेत बनेका थिए । अस्पतालले ती बालकलाई तत्काल भेन्टिलेटरमा राखेपनि केही समयमा उनको मृत्यु भएको थियो । बालकको मृत्युपछि मृतकका आफन्तले अस्पतालको लापरबाहीको कारण बालकको मृत्यु भएको आरोप लगाउँदै स्वास्थ्य सेवा प्रभावित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार