पूर्वमन्त्री यादवले वनरक्षक बनाइदिने भन्दै चार लाख घुस मागेको आरोप

डेली न्युजराप्ती       ५ श्रावण २०८० १०:०७ मा प्रकाशित     119 No Comments

दीपक बोहरा, दाङ ।
बैंकिङ कसुरमा पक्राउ परेका लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवं एमाले नेता विजय यादवले वनरक्षक बनाइदिने भन्दै एक युवकसँग चार लाख रुपैयाँ घुस मागेको आरोप लागेको छ ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बनेका वेला यादवले दाङ दंगीशरण गाउँपालिका– ४ मिरौलीका ३७ वर्षीय हेतराम चौधरीसँग पटक–पटक गरी चार लाख रुपैयाँ असुलेको उनको आरोप छ । यादवले हेतरामका २५ वर्षीय भाइ कृष्णलाई वनरक्षक बनाइदिने आश्वासन दिएपछि उनले पटक–पटक गरी सो रकम दिएको बताए । ‘मन्त्रीले पैसा दिए वनरक्षक बनाइदिने आश्वासन दिएकाले विभिन्न समयमा गरी चार लाख दिएँ,’ उनले भने ।

यादवको खातामा साढे दुई लाख बढी रकम पठाएको भौचर हेतरामसँग सुरक्षित छ । बाँकी डेढ लाख भने बुटवलस्थित मन्त्रीनिवासमै बुझाएको उनको दाबी छ । तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले यादवलाई मन्त्री नियुक्त गरेका थिए । तत्कालीन अवस्थामा यादव प्रदेश सांसद थिएनन् । निर्णयविपरीत कार्य गरेकाले जसपाले कारबाही गरेपछि उनको सांसद पद गएको थियो ।
मुख्यमन्त्री पोखरेलले यादवलाई १९ वैशाख ०७८ मा मन्त्री नियुक्त गरेका थिए । त्यसको तीन महिनापछि प्रदेश लोकसेवा आयोगले एक सय ६ जना वनरक्षकको विज्ञापन खोलेको थियो । त्यही पदमा चौधरीलाई जागिर लगाइदिने नाममा तत्कालीन मन्त्री यादवले घुस लिएका थिए । यो विषयमा प्रतिक्रिया लिन खोज्दा पूर्वमन्त्री यादव सम्पर्कमा आएनन् ।
यादव ३१ असारमा बैकिङ कसुरमा बाँकेबाट पक्राउ परेका थिए । रुपन्देहीको सियारी गाउँपालिका– १ का उमाशंकर यादवको १२ लाख २८ हजार रुपैयाँ फिर्ता नदिएको र दिएको चेकसमेत नसाटिएको भन्दै उनीविरुद्ध उजुरी परेको थियो । सोहीबराबरको रकम फिर्ता गरेपछि यादव मंगलबार नै रिहा भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार