दाङमा विप्लव सहितका संयुक्त युवा संगठनद्वारा एमसिसी विरुद्ध बिरोध प्रदर्शन

डेली न्युजराप्ती       २९ फाल्गुन २०७८ ०८:१० मा प्रकाशित     313 No Comments


घोराही, २९ फागुन । दाङको घोराहीमा नेकपा निकट युवा संगठन नेपालसहितका युवा संगठनहरुले एमसीसीविरुद्ध बिरोध प्रदर्शन गरेका छन् । संसदमा फागुन १५ गते एमसीसी सझौता अनुमोदन गरिएको बिरोधमा नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र २ मोर्चाको संयुक्त आयोजनामा पूर्व घोषित कार्यक्रम अनुरुप पार्टी निकट संयुक्त युवा संगठनले घोराहीमा हिजो शनिबार बिरोध प्रदर्शन गरेका हुन् ।
कोणसभाका प्रमुख वक्ता विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटनले फागुन १५ गते कालो दिनको रुपमा दर्ज भएको बताए । उनले नेपाली जनताले जुन आशा र भरोसाका साथ आफ्ना जनप्रतिनिधिहरुलाई संसदमा पुर्याएका थिए, उनीहरूले राष्ट्रघाती एमसीसी पास गरेर नेपाली जनतामाथि कुठाराघात गरेको प्रष्ट पारे ।

हामीले एमसीसीविरुद्ध मात्र विरोध गर्नको लागि बिरोध गरेका छैनौं, उनले भने अमेरिकाको साम्राज्यवादले चालेका सबै कदमका विरुद्ध बिरोध प्रदर्शन गर्नुपर्छ भन्ने मनसायका साथ यो विरोध प्रदर्शन गरेका हौं ।´

एमसीसी सम्झौता आफुहरुले राम्रोसँग अध्ययन गरेको र उक्त सम्झौतामा लिखिएका बुँदाहरुले नेपालको कानुन र नेपाली जनतालाई सदाको लागि दास बनाउने उनको भनाइ छ ।

यो सम्झौता राष्ट्र र नेपाली जनताको पक्षमा छैन् र यसको सशक्त बिरोध गर्नुपर्छ । सो सम्झौतालाई सदाको लागि नेपालबाट खारेज गर्न सम्पूर्ण आम युवा तथा जनसमुदाय हरु अन्तिम संघर्षमा उत्रन अध्यक्ष पाटनले अपिल गरे ।

नेकपा ( क्रान्तिकारी माओवादी) निकट युवालिग नेपाल क्रान्तिकारी दाङका फ्याक्सन इन्चार्ज मनबहादुर वलीले एमसीसीको विरुद्धमा २०७२ सालदेखी निरन्तर संघर्षरत रहेको बताए । उनले हिन्दप्रसान्त रणनीति अन्तर्गतको यो एमसीसी परियोजना सैन्य रणनीति भएको र नेपालमा विकासको नाममा नेपाललाई गुलाम बनाउने समेत प्रष्ट पारे । जनताको लागि घातक एमसीसी आफुहरुलाई सह्य नभएको र यो परियोजना फिर्ता नहुँदासम्म निरन्तर विरोधका संघर्ष गर्ने पनि उनको भनाइ छ ।

नेकपा निकट युवा संगठन नेपालका केन्द्रीय सदस्य बिरेन्द्रले एमसीसी सम्झौताको बिरोधमा निरन्तर सडकमा संघर्ष गरिएको बताए । उनले यो राष्ट्रघाती परियोजनाविरुद्ध आवश्यक परे सच्चा र क्रान्तिकारी युवाहरुले सडकमा बन्दुक उठाउन समेत पछि नपर्ने प्रष्ट पारे ।

नेकपा मसाल निकट अखिल नेपाल युवक संघका प्रतिनिधि चित्रबहादुरले यो देशका दलालहरु आर्थिक प्रलोभनमा पर्दा अमेरिकी साम्राज्यवादले नेपालको राष्ट्रिय स्वाधीनतामाथि खेलवाड गर्ने खोजेको र यो देश राष्ट्र र राष्ट्रियताका लागि ज्यान दिन पनि तयार रहेको उनको भनाइ छ ।

कोणसभाको सहजीकरण नेकपा निकट युवा संगठन नेपालका केन्द्रीय सदस्य मनोजले गरेका थिए ।
घोराहीको ट्राफिक चोकबाट निकालिएको एमसीसी विरुद्धको बिरोध प्रदर्शन बजारका विभिन्न ठाउँ परिक्रमा गरि तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार