दर्शनको विकासमा विप्लवले छेडेको बहस र ‘कूपमण्डूक’हरू!

डेली न्युजराप्ती       १३ श्रावण २०८० २१:३० मा प्रकाशित     131 No Comments

वस्तुतः दर्शनमाथि विज्ञान हावी हुँदै गएको छ । त्यसैले दर्शनको विकास अनिवार्य भएको छ । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको संश्लेषणपछि दर्शनले विज्ञानहरूको पनि विज्ञानका रूपमा काम गरेको थियो तर आज किन गरिरहेको छैन?

भरत सी

कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औं स्मृतिको सन्दर्भमा यही साउन ७ र ८ गते काठमाडौंमा आयोजित कार्यक्रममा नेकपाका महासचिव विप्लवले व्यक्त गरेको विचारलाई लिएर नयाँ तरंग पैदा भएको छ । विप्लवको उद्देश्य नयाँ बहस होस् भन्ने छ तर कूपमण्डूक (कुवामा बसेको भ्यागुको जस्तो सीमित घेराको कुरा मात्र देखेबुझेको र बाहिरका कुरा केही थाहा नपाउने व्यक्ति) हरू विषयान्तर गर्दैछन् ।

वर्तमान नेपाली राजनीतिमा समाजवादी मोर्चा बनेसँगै एक प्रकारले विप्लव केन्द्रित बहस छ र त्यो विस्तारै दर्शन र राजनैतिक अर्थशास्त्रमा प्रवेश गरेको छ । तर, हामी हाम्रो समाज विकासको अवस्था र पछिल्लो विकसित प्रवृत्ति र प्रविधिको कारण सार्थक बहसद्वारा अपेक्षित परिणाम हासिल गर्न प्रायः असफल भएका छौं ।

उदाहरणको रूपमा दोस्रो जनआन्दोलन २०६२–६३ पछि चलेको राज्य रूपान्तरणको बहस र त्यसबाट निस्केको परिणामलाई लिन सकिन्छ । जहाँ प्रचण्ड उदयको भयातङ्क रोक्ने संकीर्ण बुझाइ र गलत उद्देश्यले काम गरेको थियो । जसको नकारात्मक परिणाम अहिले सिङ्गो समाजले भोगिरहेको छ र त्यसको दोष प्रचण्डमाथि थोपरिंदै छ । आज विप्लवले उठाउन खोजेको बहस पनि सिङ्गो नेपाली समाजको अग्रगामी रूपान्तरण र त्यसका लागि माक्र्सवादको औचित्य, आवश्यकता र विकाससँग सम्बन्धित छ ।

फेरि पनि यहाँ विप्लव उदयको भयातङ्कको संकीर्ण बुझाइ र त्यसलाई रोक्ने गलत उद्देश्यले विषयान्तर भइरहेको त छैन ? अवश्य पनि भएको छ । बहसमा भाग लिने र नयाँ निष्कर्ष दिने भन्दा पनि अनावश्यक आरोप, हमला र खिसिटिउरी गर्ने कोणको प्रचुरता देखिएको छ । जो गलत छ ।

कार्ल माक्र्सले ‘दर्शन भनेको आफ्नो समयको बौद्धिक सारतत्व हो’ भनेको १८१ वर्ष बितेको छ । माओले दर्शनलाई ‘ज्ञान सिद्धान्त’ भनेका थिए । अमेरिकी लेखक तथा भविष्यवेत्ता अल्विन टोफलर (सन् १९२८–२०१६) ले ‘यो युगको सबैभन्दा शक्तिशाली र मूल्यवान सम्पत्ति मानव ज्ञान हो’ भनेका छन् भने चीनका वर्तमान राष्ट्रपति सी जिनपिङले ‘ज्ञान थोरै समयमा पुरानो हुन थालेको छ’ भनेका छन् ।

यो स्थितिमा हामीले द्वन्द्वात्मक भौतिकवादको विकासको आवश्यकता नठान्नु वा अस्वीकार गर्नु भनेको माक्र्सवाद तथा द्वन्द्वात्मक भौतिकवाद विरोधी जडसूत्रवादी धार्मिक गुरु जस्तै बन्नु हो । त्यसैले मालेमावादी स्कुलको आधारभूत पाठ्यक्रममा भनिएको छ, ‘जब नयाँ भौतिक अवस्थाहरू अस्तित्वमा देखा पर्दछन् तब नयाँ विचार र सिद्धान्तहरू पनि स्वभावतः उदय हुन्छन्, यही सत्य माक्र्सवाद आफैंमा लागू हुन्छ ।’

अहिलेको युग चौथो औद्योगिक क्रान्तिको युग मानिन्छ । जसलाई व्यक्त गर्न र स्पष्ट पार्न वल्र्ड इकोनोमिक फोरमका संस्थापक तथा कार्यकारी अध्यक्ष क्लाउस श्वाबले सन् २०१६ मा ‘द फोर्थ इन्डस्ट्रियल रिभोल्युसन’ भन्ने पुस्तक प्रकाशन गरे । यो चौथो क्रान्ति-विज्ञान, सूचना, कम्प्युटर र डिजिटल प्रविधिको विकाससँग जोडिएको छ । यो कम्प्युटर र सूचना क्रान्तिपछि न्युरोसाइन्स, क्वान्टम कम्प्युटर, बायोटेक, भर्चुअल र अगमेन्टेट रियालिटिज, थ्रीडी प्रिन्टिङ, रोबोटिक्स, स्पेस टेक्नोलोजी, ब्लक चेन, नानो टेक्नोलोजी र इन्टरनेट अफ थिंग्सले मानव समाजमा असाधारण परिवर्तन ल्याएको छ ।

त्यसैले यो युगको विशेषता भौतिक, जैविक र संख्यात्मक प्रविधिको व्यापक सम्मिश्रण, कृत्रिम ज्ञान (आर्टिफिसियल इन्टिलिजेन्स) र बृहत् तथ्यांक (बिग डाटा) हुन् । जसका कारण आज संसारमा विगतको भन्दा धेरै अस्थिरता, अनिश्चितता, जटिलता र अस्पष्टता व्याप्त भएको मानिन्छ ।

विगतका क्रान्तिभन्दा भिन्न यसले नयाँ प्रविधिको सहयोगले भौतिक, डिजिटल र जैविक क्षेत्रलाई एकीकृत गर्दै परिवर्तनको गति तीव्र पार्दछ । हरेक क्षेत्रमा छिनछिनमा परिवर्तन भइरहेको हुन्छ । साथै यसको सीमा धेरै विशाल छ जसको प्रभाव बाहिर विश्वको कुनै क्षेत्र छैन र यसले पुराना पद्धतिमा बदलाव ल्याएको छ । जस्तो कि पूँजीको स्वरूप र उत्पादन, व्यवस्थापन, शिक्षा र राजनीतिका पुराना पद्धतिमा व्यापक हेरफेर ल्याएको छ ।

वस्तुतः पुरानो दर्शनमा पनि विकासको आवश्यकतालाई उजागर गरेको छ । अहिले रूस-युक्रेन युद्धमा पनि नयाँ युगको विशेषता प्रष्ट देखिएको छ । लर्निङ जेनेरेसन २०१८ को रिपोर्ट अनुसार कृत्रिम ज्ञान निर्देशित रोबोटहरूले २०३० सम्म विश्वको आधा रोजगारी विस्थापित गर्ने प्रक्षेपण गरिंदैछ ।

ती रोबोटले वास्तविक मान्छेभन्दा श्रेष्ठ सावित हुने दिशा लिएको विश्लेषण भइरहेको छ । ठोस रूपमा नयाँ भौतिक अवस्थाको विकास भएको छ । जसले त्यो अनुरूप नयाँ दर्शन, विचार र सिद्धान्त विकासको माग गर्दछ ।

भौतिकवादको विधिशास्त्र द्वन्द्ववाद (जसको लेनिन र माओले पनि विकास गरे) मा ‘अनिश्चय, रक्षा र रूपान्तरण’ को नयाँ नियमको संश्लेषण नेपाल कम्युनिस्ट पार्टीको नवौं (२०७९ असोज–कात्तिक) महाधिवेशनले गरेको हो । यो भौतिक विज्ञानमा हाइजनवर्गको ‘अनिश्चितताको सिद्धान्त’ (सन् १९२७, विनर हाइजनवर्ग १९०१-१९७६) सँग सम्बन्धित छ जसले वस्तुको अवस्थिति र गति एकै समयमा ठिक ढंगले जान्न वा नाप्न सकिंदैन भन्छ । हामी एक अर्थात् गतिका बारे जति धेरै जान्दछौं त्यति धेरै अर्को अर्थात् अवस्थितिका बारे कम जान्दछौं । जति धेरै अवस्थितिका बारे जान्दछौं त्यति धेरै गतिका बारे कम जान्दछौं ।

हामी वस्तुको अवस्थाको बारे निश्चित भएको बेला त्यसको गतिको बारे अनिश्चित हुन्छौं भने गतिको बारे निश्चित भएको बेला अवस्थाको बारे अनिश्चित हुन्छौं । यो नियम प्रकृति, मानव समाज र चिन्तनका क्षेत्रमा पनि लागू हुन्छ । त्यसैले यो दर्शनको विषय बन्छ ।

हामी पूँजीवादी अवस्थामा छौं । यसका बारे जति निश्चित हुनसक्छौं त्यति नै यसको गतिका बारे अनिश्चित छौं कि यसको गति समाजवादमा कतिबेला कसरी पुग्छ ? ठिक त्यसरी नै ‘यसको गति जो समाजवाद उन्मुख छ’ का बारे जति निश्चित हुनसक्छौं त्यति नै बढी पूँजीवाद यही अवस्थामा रहनेमा अनिश्चित हुनेछौं कि यसको कतिबेला कसरी अन्त्य हुन्छ ।

मुख्य कुरा नयाँ संश्लेषणद्वारा वस्तुको अनिश्चितताप्रति स्पष्ट र सचेत हुँदै कुन कुराको रक्षा गर्ने र कुन दिशामा रूपान्तरण गर्ने भन्ने मानिसको सचेतन पहलकदमीको महत्वपूर्ण भूमिकामाथि जोड दिनु हो । अनिश्चितता भित्र पनि आवश्यक सम्भावनाको खोजी गर्नु हो ।

विपरीतहरूको एकअर्कोमा रूपान्तरणको तीव्रतामा मानवीय चेतना र व्यवहारको रूपान्तरणको तालमेल मिलाउनु हो । यदि सचेत पहलकदमी भएन भने न पूँजीवादको अन्त्य हुन्छ न त वैज्ञानिक समाजवाद साम्यवादमा नै रूपान्तरण हुन्छ भन्ने देखिएको छ । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका अनुसार पूँजीवादपछि समाजवाद र त्यसपछि साम्यवाद आउनुपर्ने हो तर आएन बरु समाजवाद आएपछि फेरी पूँजीवाद आयो । पक्कै पनि यहाँनेर दर्शनमा केही कमी छ भन्ने देखिन्छ ।

यो भौतिक विज्ञानको अनिश्चितताको नियम दर्शनमा समावेश गरेपछि प्रोफेसर लोत्फी जादेहले सन् १९७८ मा प्रस्तुत गरेको गणितीय ‘सम्भावनाको सिद्धान्त’ आकर्षित भएको छ । जसले निश्चित प्रकारको अनिश्चिततासँग व्यवहार गर्छ । ० र १ को बीचमा सम्भावना र आवश्यकताको उपायहरू प्रयोग गर्छ । जस्तो कि असम्भवदेखि सम्भव र अनावश्यकदेखि आवश्यकसम्म ।

यसरी हेर्दा अब दर्शनमा ‘अनिश्चय–सम्भावना, रक्षा र रूपान्तरण’ को नियम बन्छ । जुन नियमको व्यावहारिक अभ्यास र परिणामको रूपमा अहिलेको समाजवादी मोर्चालाई लिन सकिन्छ ।

पछिल्लो चरण भौतिक विज्ञानको विकासले दर्शनको नेतृत्वदायी भूमिकालाई चुनौती दिएको मानिन्छ र दर्शनलाई भौतिक विज्ञानको विश्लेषण गर्ने स्तरमा झारिएको छ । वस्तुतः दर्शनमाथि विज्ञान हावी हुँदै गएको छ । त्यसैले दर्शनको विकास अनिवार्य भएको छ । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको संश्लेषणपछि दर्शनले विज्ञानहरूको पनि विज्ञानका रूपमा काम गरेको थियो तर आज किन गरिरहेको छैन ? समाजवादको रक्षा र विकास गर्न किन सकेन ? र क्रान्ति किन भइरहेको छैन त ?

अवश्य पनि यहाँ माक्र्सले भने झैं आजको भौतिक र समाज विज्ञानमा भएको विकासको ‘उच्चतम बौद्धिक सारतत्व’ को रूपमा दर्शनलाई पुनस्र्थापित तथा विकास गर्नुपर्ने आवश्यकता छ । साथै, माओले भने झैं आजको क्रान्ति सम्भव बनाउन र समाजवादको रक्षा र विकासका लागि ‘विश्व दृष्टिकोणको समस्या हल गर्न’ जरूरी छ । जो भएको छैन ।

त्यसैले यो नयाँ संश्लेषणले त्यो आवश्यकता र भूमिका पूरा गर्ने विश्वास सहित नेकपा द्वन्द्वात्मक भौतिकवादको मुख्य नियम विपरीतको एकता र संघर्षको नियममा थप विकासको रूपमा ‘अनिश्चय-सम्भावना, रक्षा र रूपान्तरण’ को नियम जोडेर हेर्नुपर्ने निष्कर्षमा पुगेको हो । जसले पुरानो द्वन्द्वात्मक भौतिकवाद अपुग छ, त्यसले काम गरिरहेको छैन भन्ने आधार दिएको हो ।

अन्त्यमा, विप्लवले उठाउन खोजेको बहस र भनेको कुरा दर्शन र अर्थशास्त्रसँग सम्बन्धित छ । जस्तो कि उनले ‘एकीकृत स्वामित्व’ को नयाँ अवधारणा अघि सार्दै आफूले लागू नगरी अरूलाई उपदेश दिने विद्यमान ‘ढोंगी सामूहिकताको काम छैन’ भनेका हुन् । त्यस्तैगरी पछिल्लो समाज र भौतिक विज्ञान विकासको सापेक्षतामा द्वन्द्वात्मक भौतिकवादको विकास नगरी पुरानोको काम छैन भनेका हुन् । जुन कुरा सही नै छ ।

तर बोल्दा कहिलेकाहीं शब्द चयन नमिल्न पनि सक्छ अनि त्यसलाई विषयवस्तुको सार नै ओझेलमा पर्ने गरी र प्रस्तुतिको मनसाय नै उल्टिने गरी तोडमरोड गरिनुहुँदैन । निषेधको निषेधलाई माओले नै खारेज गरिसकेका हुन् भने ‘एकको दुईमा विभाजनको नियम’ भनेको ‘विपरीतको एकता र संघर्षको नियम’ अन्तर्गतको नियम हो ।

यो चीनको नयाँ जनवादी क्रान्तिपछि बहसमा अगाडि आएको थियो । वास्तवमा, यहाँ विप्लवको सचेत पहलकदमीमा वैचारिक तथा सैद्धान्तिक बहस सुरु भएको छ । यसलाई सकारात्मक रूपमा ग्रहण गर्दै स्वागत गर्नुपर्दछ र उनले उठाउन खोजेका विषय र गरेका तर्क कति नियमसंगत छन् त ? जाँच गर्नुपर्दछ ।

वास्तवमा, पुरानो द्वन्द्वात्मक भौतिकवाद र सामूहिकताको काम छैन भन्नुको अर्थ त्यस सम्बन्धीको जडता र यान्त्रिकता तोड्नु र तिनको समयसापेक्ष विकास गर्ने प्रयास गर्नु हो ।

साँच्चै भन्ने हो भने जीवन व्यवहारबाट अलग दर्शन, कहिल्यै परिणाम नदिने र लागू नहुने सिद्धान्त, गति र निरन्तर नवीकरण नहुने कुनै पनि वस्तुको अस्तित्व रहँदैन र त्यसको काम छैन । यसको अर्थ पुरानोको सम्पूर्ण रूपले अस्वीकृति होइन बरु त्यो आधारमाथि टिकेर थप नयाँ विकास हो ।

आज बहसभन्दा बढी बदलाभावले विषयान्तरण गर्नेहरू अस्तित्व रक्षाको संकटबाट गुज्रिरहेका कूपमण्डूकहरू हुन् । वास्तवमा गति र परिवर्तन विज्ञानको आधारभूत नियम हो र यो द्वन्द्वात्मक भौतिकवाद तथा माक्र्सवाद सबैमा लागू हुन्छ ।

फेरि पनि नयाँ विषयले बहस सिर्जना गर्नु स्वाभाविक र अनिवार्य छ । जसको बीचबाट त्यो थप परिपक्व र पूर्ण बन्दै जान्छ । त्यसैले नेपाली समाजको समाजवादी रूपान्तरणलाई केन्द्रमा राखेर विप्लवले गर्न खोजेको दर्शनको बहसलाई सकारात्मक रूपमा लिएर सार्थक निष्कर्षमा पुर्‍याउने प्रयास गरौं ।

लेखक भरत सी नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार