एसिया कप क्रिकेटमा नेपाल भारतसंग पराजित,नवप्रवेशी नेपालको चौतर्फी प्रशंसा

डेली न्युजराप्ती       १९ भाद्र २०८० ०७:४३ मा प्रकाशित     294 No Comments

काठमाडौँ । सात पटकको च्याम्पियन भारतले एसिया कप क्रिकेटको सोमबार खेलिएको खेलमा पहिलो पटक प्रतियोगिताको अनुभव बटुलिरहेको नेपाललाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १० विकेटले हराएको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरमा अलआउट हुनुअघि दुई सय ३० रन बनायो । जवाफी ब्याटिङमा ओर्लिएको भारतले २.१ ओभरमा कुनै विकेट नगुमाई १७ रन बनाएपछि वर्षा सुरु भएको थियो ।
त्यतिबेला भारतका शुभमन गिल अविजित १२ र कप्तान रोहित शर्मा अविजित चार रन बनाउँदै क्रिजमा थिए ।

वर्षाका कारण लामो समय खेल अवरुद्ध भएपछि भारतले २३ ओभरमा जितका लागि एक सय ४५ रन बनाउनु पर्ने गरी नयाँ लक्ष्य पाएको थियो । भारतीय टोलीले उक्त लक्ष्य २०.१ ओभरमा कुनै पनि विकेट नगुमाई पुरा गरेको थियो । भारतका लागि कप्तान रोहित शर्माले अविजित ७४ र शुभमन गिलले अविजित ६७ रनको योगदान गरे ।

त्यसअघि श्रीलंकाको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नेपाली ब्याट्सम्यानले गतिलो प्रदर्शन गरेका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले कुनै पनि टेस्ट राष्ट्रको सिनियर टोलीविरुद्द बनाएको यो नै सर्वाधिक रन हो ।

भारतविरुद्दकाे खेलमा ओपनर ब्याट्सम्यानद्वय कुशल भुर्तेल र आसिफ शेखले ६५ रनको साझेदारी गरेका थिए । दुबै ब्याट्सम्यानले सम्हालिएर ब्याटिङ गर्दै नेपाललाई गतिलो सुरुआत दिलाएका थिए । खेल पटक—पटक वर्षाले अवरुद्ध हुँदै पुनः सुरु भएको थियो ।

पहिलो पटक एसिया कपजस्तो महत्वपूर्ण प्रतियोगिता खेलिरहेको नेपाली टोलीका खेलाडीको हौसला बढाउन सयौंको सँख्यामा समर्थकहरु श्रीलंका पुगेका थिए । त्यसैले भारतविरुद्दकाे खेलमा नेपाली खेलाडीले समर्थकको कम महसुस गर्नु परेन ।

यद्दपि, खेलको प्रारम्भमै नेपाली टोलीका ओपनरद्वयले भारतीय फिल्डरको गल्तिका कारण पटक—पटक जीवनदान पाएका थिए । टेस्ट राष्ट्रको सिनियर टोलीविरुद्द दोस्रो खेल खेलिरहेकाले नेपाली खेलाडीको हरेक प्रदर्शन नेपाली क्रिकेटका लागि आफैमा कीर्तिमान पनि हो ।

आसिफ शेख एसिया कपमा अर्धसतक बनाउने पहिलो नेपाली खेलाडी बने । उनी टेस्ट राष्ट्रको सिनियर टोलीविरुद्द अर्धसतक बनाउने पहिलो नेपाली ब्याट्सम्यान पनि बने । सोमपाल कामीले भने केवल दुई रनका कारण त्यो अवसर गुमाए ।

नेपालले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशललाई गुमाएको थियो । उनी ३८ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनले २५ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए । कुशलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रनको कोशेढुंगा पनि पार गरेका छन् ।

कुशलले ४६ वटा एकदिवसीय क्रिकेट खेलेर एक हजार ३२ रन बनाएका हुन् । २६ वर्षीय कुशलले भारतविरुद्दकाे खेलअघि ४५ एकदिवसीय खेल्दै नौ सय ९४ रन बनाएका थिए । उनको विकेट भारतीय बलर सार्दुल ठाकुरले लिएका हुन् । उनी सार्दुलको बलमा विकेटकिपर इशान किशनद्वारा आउट भए । उनी आउट हुँदा नेपालले ९.५ ओभरमा ६५ रन बनाएको थियो ।

यसैगरी दोस्रो विकेटका रुपमा भीम सार्की पेभेलियन फर्किएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले १७ बलमा सात रन बनाए । उनी भारतीय बलर रविन्द्र जडेको बलमा बोल्ड भए । त्यतिबेला नेपालले १६ ओभरमा दुई विकेट गुमाएर ७७ रन बनाएको छ ।

यसैगरी तेस्रो विकेटका रुपमा नेपालका कप्तान रोहित पौडेल पेभेलियन फर्किएका थिए । उनी केवल पाँच रनको ब्यक्तिगत स्कोरमा आउट भएका थिए । उनको विकेट रविन्द्र जडेजाले लिए । जडेजाले रोहितलाई भारतीय कप्तान रोहित शर्माद्वारा क्याच गराएका हुन् । त्यतिबेला नेपालले २० ओभरमा तीन विकेट गुमाएर ९३ रन बनाएको थियो ।

यसैगरी चौथो विकेटका रुपमा नेपालका कुशल मल्ल पेभेलियन फर्किएका थिए । उनी दुई रनको ब्यक्तिगत स्कोरमा आउट भएका थिए । उनको विकेट रविन्द्र जडेजाले लिएका थिए । जडेजाले कुशल मल्ललाई मोहम्मद सिराजद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले २१.५ ओभरमा चार विकेट गुमाएर एक सय एक रन बनाएको थियो ।

यसैगरी पाँचौं विकेटका रुपमा नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेख पेभेलियन फर्किएका थिए । उनी ५८ रनको ब्यक्तिगत स्कोरमा आउट भएका थिए । उनले ९७ बलको सामना गरी आठ चौका प्रहार गरे । उनको विकेट मोहम्मद सिराजले लिए । सिराजले उनलाई विराट कोहलीद्वारा क्याच गराएका थिए ।

एसिया कप क्रिकेट प्रतियोगितामा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी पनि बनेका छन्, आसिफ शेख । उनले ८८ बलमा अर्धशतक पूरा गरेका थिए । टेस्ट मान्यताप्राप्त राष्ट्रको सिनियर टोलीविरुद्द अर्धसतक प्रहार गर्ने पनि उनी पहिलो नेपाली खेलाडी बनेका छन् ।

आशिफले एकदिवसीय क्रिकेटमा एक हजार दुई सय रन पनि पुरा गरेका छन् । २२ वर्षीय आशिफले ४३ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै हालसम्म एक हजार दुई सय ५० रन बनाएका छन् । एकदिवसीय क्रिकेटमा आसिफले एक शतक र १० वटा अर्धशतक प्रहार गरका छन् ।

एकदिवसीय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन एक सय १० रन हो । उनले सन् २०२१ को सेप्टेम्बर ७ तारिखमा पपुवा न्युगिनीविरुद्द पहिलो एकदिवसीय प्रतियोगिता खेलेका थिए ।

यसैगरी छैटौं विकेटका रुपमा गुल्सन झा पेभेलियन फर्किएका थिए । उनले ३५ बलमा तीन चौकाको मद्दतले २३ रन बनाए । उनको विकेट मोहम्मद सिराजले लिएका थिए ।

सिराजले उनलाई विकेटकिपर इशान किसनद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले ३१.५ ओभरमा ६ विकेट गुमाएर एक सय ४४ रन बनाएको थियो ।

यसैगरी सातौं विकेटका रुपमा दीपेन्द्रसिंह ऐरी पेभेलियन फर्किएका थिए । उनले २५ बलको सामना गरी तीन चौकाको मद्दतले २९ रन बनाए । उनलाई भारतीय बलर हार्दिक पाण्डेयाले एलबीडब्लूको धरापमा पारेका थिए । उनी आउट हुँदा नेपालले ४१.१ ओभरमा सात विकेट गुमाएर एक सय ९४ रन बनाएको थियो ।

यसैगरी आठौं विकेटका रुपमा सोमपाल कामी आउट भए । उनी एसिया कपमा अर्धसतक बनाउने दोस्रो खेलाडी बन्नबाट केवल दुई रनले चुके । उनी ४८ रन बनाउँदै आउट भए । उनको विकेट मोहम्मद सामीले लिए । सामीले उनलाई विकेटकिपर इशान किशनद्वारा क्याच गराएका थिए ।

सोमपालले ५६ बलको सामना गरी दुई छक्का र एक चौका पनि हिर्काए । २७ वर्षीय सोमपालले ४९औं एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका हुन् । एकदिवसीय क्रिकेटमा उनले पाँच सयभन्दा बढी रन बनाएका छन् । उनी टेस्ट राष्ट्रको सिनियर टोलीविरुद्घ अर्धसतक बनाउने दोस्रो खेलाडी बन्नबाट पनि केवल दुई रनले चुके । उनी आउट हुँदा नेपालले ४७.२ ओभरमा दुई सय २८ रन बनाएको थियो ।

यसैगरी नवौं विकेटका रुपमासन्दीप लामिछाने पेभेलियन फर्किएका थिए । उनले १७ बलको सामना गरी नौ रन बनाए । उनी रनआउट भएर पेभेलियन फर्किएका थिए । उनी आउट हुँदा नेपालले ४७.४ ओभरमा नौ विकेट गुमाएर दुई सय २९ रन बनाएको थियो ।

यसैगरी अन्तिम विकेटका रुपमा नेपालले ललित राजवंशीलाई गुमाएको थियो । तीन बलको सामना गरेका उनले खाता खोल्न पनि पाएनन् । उनलाई मोहम्मद सिराजले बोल्ड गरेका थिए । करण केसी भने दुई रनमा अविजित रहे ।

त्यसअघि खेलको प्रारम्भमै भारतीय फिल्डरले नेपालका दुबै ओपनर ब्याट्सम्यानको क्याच छाडेका थिए । दुबै ओपनर कुशल र आशिफ तीनपटक क्याच आउट हुनुबाट जोगिएका थिए । पहिलो ओभरमा मोहम्मद सामीको बलमा श्रेयस ऐयरले नेपालका ओपनर कुशल भुर्तेलको क्याच छाडेका थिए ।

त्यसपछि दोस्रो ओभरमा मोहम्मद सिराजको बलमा विराट कोहलीले आशिफ शेखको क्याच छोडेका थिए । यसैगरी पाँचौं ओभरमा कुशल भुर्तेलको क्याच विकेटकिपर इशान किशनले छाडेका थिए । त्यसपछि छैटौं ओभरमा सिराजको बलमा नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले छक्का प्रहार गरेका थिए ।

पहिलो पटक एसिया कपमा सहभागिता जनाएको नेपालले खेलेको यो दोस्रो खेल हो । यसअघि प्रतियोगिताको उद्घाटन खेलमा नेपाली टोली आयोजक पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको थियो । उक्त खेल पाकिस्तानको मुल्तानमा खेलिएको थियो । पाकिस्तानले दिएको तीन सय ४३ रनको लक्ष्य पछ्याएको नेपाली टोली २३.४ ओभरमा एक सय चार रन बनाउँदै अलआउट भएको थियो ।

समूह ‘ए’ बाट पाकिस्तान र भारत ‘सुपर फोर’ चरणमा पुगेका छन् । नेपाल भने दुई हारपछि समूहगत चरणबाटै घर फर्कने निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार