दाङमा विप्लवका युवा बिद्यार्थीद्वारा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन

डेली न्युजराप्ती       १८ जेष्ठ २०८० २१:३२ मा प्रकाशित     242 No Comments

हेमन्त प्रकाश ओली ।
जेष्ठ १८ , घोराही । दाङको घोराहीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध प्रदर्शन भएको छ ।
आज बिहिवार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) पुर्वी दाङ र युवा संगठन नेपाल पुर्वी दाङ जिल्ला कमिटीको संयुक्त आयोजनामा घोराहीको तुलसीपुर चोकमा अखण्ड भारतको नक्सामा नेपाली भुभाग समेटिएपछि प्रदर्शन गरिएको हो ।

प्रदर्शनको क्रममा युवा बिद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गर्नुका साथै अखण्ड भारतको नक्सा समेत जलाएका थिए ।

प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य खुमन सीले भारतले पटकपटक दोहोर्‍याएको अतिक्रमणकारी चरित्र बदल्न आग्रह गरेका थिए । नेता खुमन सीले भने – ‘हामी हाम्रो देशको स्वाधीनता , राष्ट्रियता र सार्वभौम सत्ता चाहान्छौ तर भारतले सुगौली सन्धीदेखि नेपाललाइ विभिन्न तरिकाले अतिक्रमण गरिरहेको छ । हामी भारतीय शासकहरुलाइ सच्चिन आह्वान गर्छौं अन्यथा हामी राष्ट्रिय स्वाधीनताको पक्षमा बलिदान दिन तयार छौँ तर झुक्दैनौ ।’

यस्तै बिरोध प्रदर्शनमा बोल्दै युवा संगठन नेपाल पुर्वी दाङका अध्यक्ष पदम सीले भारतीय अतिक्रमणको बिरोध गर्नु केवल आफ्नो पार्टीको मात्रै मामिला नभएको स्पष्ट पारेका थिए । उनले भने – ‘भारतीय साम्राज्यवादको बिरोध गर्नु केवल नेकपाको मात्रै दायित्व होइन । यो हरेक नेपालका क्रान्तिकारी , देशभक्त , प्रगतिशील , बामपंथी युवाहरुको सबैको मामिला हो । यो केवल हामिले बिरोध गर्ने विषयबस्तु बनाउने कुरा जायज हुँदैन । तपाईहरु सबै सडकमा आउनुस अनि देशका लागि संगै लडाइँ लडौ । यो देश रहेमात्रै तपाई हामी रहने छौं ।’

एक अर्को प्रसंगमा बोल्दै नेता पदमले दलाल पुजीवादी संसदीय व्यवस्था असफल सिद्ध भइसकेको दाबी गरेका हुन् । उनले फेरि भने ‘अहिले देखिएको संकटको मुख्य कारक यो असफल दलाल पुजीवादी संसदीय व्यवस्था हो । यो व्यवस्था रहेसम्म मुलुक स्वाधिन हुँदैन । यो व्यवस्थाको कारणले राष्ट्रको अस्तित्व संकटमा परिरहेको छ । अबको एउटै विकल्प भनेको यो असफल व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद स्थापना गर्नु हो । वैज्ञानिक समाजवादले मात्रै यो मुलुकको रक्षा गर्न सक्छ।’

केही समयअघि भारतको नयाँ संसद भवनमा अखण्ड भारतको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुलाई समेटिएपछी येतिबेला नेपालमा भारतको चर्को आलोचना र बिरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार