विप्लव नेतृत्वको नेकपा तुलसीपुरको सेक्रेटरीमा रुद्र सी चयन

डेली न्युजराप्ती       २ भाद्र २०८१ १९:३९ मा प्रकाशित     192 No Comments

भदौ १,दाङ ।
विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुर उपमहानगर कमिटीको सेक्रेटरीमा रुद्र सीलाई जिम्मेवारी प्रदान गरेको छ ।
पार्टीको तेस्रो आवधिक योजनाको दोस्रो पुर्ण बैठकले नेता रुद्र सीलाई तुलसीपुर उपमहानगर कमिटीको सेक्रेटरीको जिम्मेवारी दिने निर्णय गरेको हो ।

नेकपा दाङका अनुसार पार्टीका निवर्तमान तुलसीपुर सेक्रेटरी भुवन सी स्वास्थ्य समस्याका कारण केही समय उपचार गर्न जाने भएपछी पार्टी कामकाजलाई व्यवस्थित गर्न नेता रुद्र सीलाई सेक्रेटरीको जिम्मेवारी दिएको जनाएको छ ।

शनिवार तुलसीपुर उपमहानगर कमिटीको बैठकमा निवर्तमान सेक्रेटरी भुवन सीले माइन्युट हस्तान्तरण गर्दै नयाँ नेतृत्व प्राप्त गर्नुभएका नेता रुद्रको नेतृत्वमा तुलसीपुरको पार्टीले जनता र पार्टीको जिवनमा नयाँनयाँ उपलब्धी हाँसिल गर्ने बिश्वास व्यक्त गर्नुभएको थियो ।

यस्तै शनिवार तुलसीपुरमा बसेको बैठकले जिल्ला समितिको बैठकले गरेका निर्णयहरु कार्यान्वयन गर्ने , तुलसीपुरमा राजनीतिक अन्तरक्रियाको आयोजना गर्ने , पार्टीका वडा कमिटी तथा सेल कमिटीहरु पुनर्गठन गर्ने , पालिकामा राजनीतिक ध्रुवीकरण अभियानलाई तिब्रता दिने निर्णय गरेको छ ।

यस्तै बैठकले एकीकृत जनक्रान्तिका सहिद महानको शालिक निर्माणका लागि पार्टी जिल्ला कार्यालयलाई सहयोग गर्ने , तुलसीपुरमा क्रान्तिकारी , प्रगतिशील , देशभक्त , समाजवादीहरु एवम सच्चा लोकतान्त्रिक गणतन्त्रवादीहरु संग सहकार्य गर्ने निर्णय समेत गरेको छ।

बैठकले सामाजिक विभेद , विकृती , विसंगतीका विरुद्ध जनपरिचालन गर्ने , लघुवित्तीय संस्थाहरुको ज्यादतीका विरुद्धमा संघर्ष गर्ने , एमसिसि परियोजनाका विरुद्धमा बिरोध प्रदर्शन गर्ने लगाएतका निर्णयहरु गरिएको नेकपा तुलसीपुरले जनाएको छ ।

पार्टीले चलाएको आत्मनिर्भर उत्पादन कार्यले पार्टी जनताका बिचमा आकर्षणको केन्द्र बन्दै गइरहेकाले यसलाई अझै व्यवस्थित गर्दै जाने समेत बैठकबाट निर्णय गरिएको छ ।

बैठकमा उपस्थित पार्टीका नेताकार्यकर्ताहरुलाई पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सी , पार्टीका केन्द्रीय सदस्य प्रदिप सी , पार्टीका केन्द्रीय सल्लाहकार सुन्दर सी , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य एवम दाङका सेक्रेटरी तिलक सी लगाएतका नेताकार्यकर्ताले प्रशिक्षण मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सविन सीले संसदीय व्यवस्थामा दुई तिहाई बहुमत ल्याएपनी स्थिरता नहुने बताउनुभएको छ ।
शनिबार तुलसीपुरमा पार्टीको तुलसीपुर उपमहानगर कमिटीको दोस्रो पुर्ण बैठकमा प्रशिक्षण मन्तव्य व्यक्त गर्दै नेता सविनले उक्त कुरा वताउनुभएको हो ।

बैठकमा बोल्दै नेता सविनले भन्नुभयो– ‘ हामिले पहिलेदेखि भनेको कुरा हो कि संसदीय व्यवस्थामा दुई तिहाई बहुमत ल्याएपनी स्थिरता हुँदैन भन्ने कुरा पटकपटक प्रमाणीत भइसकेको छ । ०४८ सालमा कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेकै हो , के त्यतिबेला स्थिरता भयो त? केही समयअघि माओवादी-एमाले एकता भई दुई तिहाई बहुमत संसदमा भएकै हो , अनि किन टिकेन त्यो सरकार ? सरकारको कुरा छोड्नुस एमाले-माओवादीले त्यतिबेला पार्टी एकता समेत जोगाउन सकेनन् । त्यसैले अब यो व्यवस्था टिक्दैन , यो व्यवस्था नै फेल भइसकेको छ । यसको विकल्पका बिषयमा थुप्रै विकल्प आइरहेका छन् । कतिपयले ०४७ सालको संविधान फर्काउने कुरा गरेका छन् , कतिपयले राजसंस्था फर्काएर पश्चगामी धाराको नेतृत्व गरिरहेका छन् । यी कुनैपनी विकल्प सहि विकल्प होइनन् । जनता सधैं अग्रगमनको पक्षमा हुन्छन् , यसको अग्रगामी निकास भनेको नेपाली जनतालाई समाजवादी व्यवस्थाबाट देश र जनताको जीवनलाई समृद्ध बनाउने गरि सोच्नुपर्छ । हाम्रो पार्टीले अहिलेको व्यवस्थाको संकटलाई नेपाली बिशेषताको समाजवादबाट हल गरौं भन्ने प्रस्ताव गरेका छौँ । यो नै अहिलेको वस्तुवादी र अग्रगामी निकास हो ।’

माओवादी केन्द्रसंग पार्टी एकता गर्ने भनेको दुईवटा बैंक मर्ज भएको जस्तो कुरा होइन ।’, बैठकमा उहाँले थप स्पष्ट पार्दै भन्नुभयो , ‘ हामिले माओवादी केन्द्रसंग एकता गर्ने भनेका छौँ , यो कुनै लुकाउने कुरा होइन । हिजो जनयुद्धमा योगदान गरेका नेताकार्यकर्ता , सहिद परिवार , बेपत्ता योद्धाका परिवार एवम घाइते योद्धाहरु सबैले माओवादीहरुको एकता चाहिरहेका छन् । हामिले माओवादी धाराहरु सबैसंग एकता गर्ने भनेका छौँ तर यहाँ बढी प्रचण्डहरु संगको एकताका बारेमा चर्चा बढी भएका छन् । एकता सबैसंग गर्ने हो तर क्रान्ती पूरा गर्ने सर्तमा मात्रै एकता गर्ने हो । हामि प्रचण्डहरु जस्तो यहीँ संसदीय भाषमा डुब्नलाई एकता गर्दैनौं । पहिले विचारको विमर्श गरौं , हामिले नयाँ विचारको विकास गरेका छौँ त्यो हो एकीकृत जनक्रान्ती यसको बहस गरौं । हाम्रो कुरा एकीकृत जनक्रान्तिबाट नेपालमा समाजवाद स्थापना गर्न सकिन्छ । यदि कसैले हाम्रो नीति , कार्यक्रम र नेतृत्व स्वीकार गर्न तयार हुन्छन् भने एकता गर्ने नै हो । हामिले एजेन्डा , मुद्दा  मिल्नेहरुसंग पनि कार्यगत एकता , सहकार्य तथा संयुक्त मोर्चा बनाएर लड्ने नीति बनाएका छौं । नेपालका सबै इमानदार माओवादीहरु , क्रान्तिकारीहरु , देशभक्त , प्रगतिशील , समाजवादी एवम सच्चा लोकतान्त्रिक गणतन्त्रवादीहरुसंग पनि सहकार्य हुन्छ ।’

नेपालमा वैदेशिक हस्तक्षेप तिब्र भएको छ ’, नेता सविनले भन्नुभयो , ‘ नेपालमा बिदेशीहरुले आफ्ना चलखेलहरु तिब्र वनाइरहेका छन् । अहिले नेपालमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप मुख्य बनेको छ । अमेरिकाले नेपालमा एमसिसी प्रोजेक्ट मार्फत यो देशलाई जबर्जस्त लडाईमा धकेल्न खोज्दैछ । यसमा सबै नेपाली जनताहरुलाई सचेत बनाउदै कुनैपनी मूल्य चुकाएर अमेरिकाको एमसिसी परियोजना रोक्नुपर्छ । चिनको बिआरआई प्रोजेक्ट सैन्य प्रोजेक्ट नभाएकाले यो देशको हितमा रहेकाले यसलाई अगाडि बढाउनुपर्छ । हामि स्पष्ट छौँ बिना कुनै सर्त नराखेर नेपालको विकासका लागि कुनै मुलुकले सहयोग गर्छ भने त्यो स्वीकार गर्नुपर्दछ तर नेपाललाई जबर्जस्त युद्धमा धकेल्ने , सहयोग नाममा राइफल बोकेर आउने सहयोग खारेज गर्नुपर्छ । हामी छिट्टै एमसिसिका विरुद्ध देशव्यापी आन्दोलन गर्छौं ।’

यस्तै बैठकमा प्रशिक्षण मन्तव्य व्यक्त गर्दै पार्टीका केन्द्रीय सल्लाहकार सुन्दर सीले पार्टीका नेताकार्यकर्ताहरुले आफ्ना आचरण , सांस्कृतिक पक्षमा ध्यान दिनुपर्ने सुझाब व्यक्त गर्नुभएको थियो ।

उहाँले कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताहरु समाजमा क्रान्तिकारी आचरणमा सदैब रहनुपर्ने बताउनुभएको हो।

यस्तै बैठकमा प्रशिक्षण मन्तव्य व्यक्त गर्दै पार्टीका केन्द्रीय सदस्य एवम ३ नं.निर्वाचन क्षेत्र इन्चार्ज प्रदिप सीले जनताले अब नेकपा बाहेक अर्को विकल्प नदेखाले संगठनमा विशाल पंक्तिलाई जोड्दै जनताको सेवामा अहोरात्र खट्न निर्देशन दिनुभएको थियो ।

बैठकमा जिल्लाको समग्र नीति , योजनाका बारेमा प्रष्ट पार्दै जिल्ला सेक्रेटरी तिलक सीले पार्टीमा ध्रुवीकरण अभियानले व्यापकता पाएको बताउनुभएको थियो ।

उहाँले जिल्लामा पार्टीप्रती जनआकर्षण बढ्दो क्रममा रहेकाले जनतालाई गाउँगाउँमा पुगेर समाजवादी चेतना फैलाउनुपर्ने आवश्यकता रहेकाले पालिका कमीटीलाई सुदृढ गर्न सुझाव व्यक्त गर्नुभएको हो ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज सविन सीको प्रमुख आतिथ्यतामा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं.३ इन्चार्ज प्रदिप सी , पार्टीका केन्द्रीय सल्लाहकार सुन्दर सी , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य जिवनी सी , पार्टीका जिल्ला कार्यालय सदस्य भुवन सी , पार्टीका जिल्ला सल्लाहकारहरु वंशिधर सी , टंक सीको आतिथ्यता रहेको थियो ।

नेकपा तुलसीपुर उपमहानगर कमिटीको दोस्रो पुर्ण बैठकको अध्यक्षता एवम सहजीकरण कमिटीका सेक्रेटरी रुद्र सीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार