हेमन्तप्रकाश वली ।
माघ ७,तुलसीपुर । विप्लव नेतृत्वको नेकपा (माओवादी) आगामी फाल्गुन २१ को निर्वाचनमा भाग लिनुको रहस्य खुलेको छ ।
पार्टीका पोलिटब्युरो सदस्य तथा दाङ-३ का प्रत्यक्ष उम्मेदवार बलबहादुर वली (शितल)ले चुनाव लड्नुको उदेश्य खुलाएका हुन् ।
मंगलबार तुलसीपुरको सरकारी वकिल कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी मनोनयन दर्ता गराएका वलीले दलालहरुले संसदबाट देश बेच्ने षडयन्त्र गरेकाले पार्टीले चुनावमा जाने निर्णय गरेको बताए ।
उनले भने – ‘देशैभरीबाट इमानदार , देशभक्त प्रतिनिधिहरुको संसदमा प्रतिनिधित्व भएन भने राष्ट्रको अस्तित्व गम्भीर संकटमा जाँदैछ । दलालहरुले जसरीपनि चुनाव जितेर बैधानिक ढंगले संसदबाट देश बेच्ने षड्यन्त्र गरिरहेका छन् , यो षड्यन्त्र रोक्न पार्टीले चुनावमा जाने निर्णय गरेको हो।’
प्रतिनिधिसभा सदस्य उम्मेदवार वलीले पार्टीले निरन्तर भ्रष्टाचार , एमसीसी , जनघात , राष्ट्रघात , करछली , मानवतस्करका विरुद्ध र समाजवादको पक्षमा संघर्ष गरेकाले जनताले पार्टीलाई जिताउने विश्वास व्यक्त गरेका थिए ।
साथै उम्मेदवार वलीले जनताले नयाँ विकल्प खोजेकाले आफ्नो पार्टी वास्तविक नयाँ भएको समेत जिकिर गरेका हुन् ।
विप्लव नेतृत्वको नेकपा (माओवादी)ले पहिलोपटक संसदीय निर्वाचनमा भाग लिँदैछ ।
गुलावको फूल चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएको माओवादीले चुनावबाट आफ्नो पक्षमा नतिजा निकाल्ने दाउमा छ ।
पार्टीबाट दाङ -१ मा भ्रष्टाचार र कुशासन विरुद्धको अभियान्ता प्रकाश शाहीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष उम्मेदवारी दर्ता गराएका छन् ।
राजनीति शास्त्रमा स्नातकोत्तर उतिर्ण शाही देउखुरी क्षेत्रका लोकप्रिय युवा हुन् ।

तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिँह कार्कीलाई सर्वोच्च अदालत परिषरभित्रै कालोमोसो दलेर उम्मेदवार शाही चर्चामा आएका थिए ।
उनले अहिले धानखोला-लमही चारलेन सडक निर्माण संघर्ष समितिको नेतृत्व गरिरहेका छन् ।
उनी संघर्ष समितिका संयोजक समेत हुन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.