दाङ । पहिलोपटक निर्वाचनमा होमिएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले थारु समुदायबाट कान्छी चौधरी (जीवनी)लाई प्रतिनिधि सभा समानुपातिक उम्मेदवार बनाउँदै समावेशी प्रतिनिधित्वको सन्देश दिएको छ। पार्टीले उत्पीडित, श्रमजीवी तथा सीमान्तकृत समुदायको आवाज संसदसम्म पुर्याउने लक्ष्यसहित चौधरीलाई उम्मेदवार बनाएको जनाएको छ।
थारु समुदायबाट उठेकी चौधरी लामो समयदेखि सामाजिक न्याय, महिला सशक्तीकरण र सामुदायिक अधिकारका सवालमा सक्रिय रहँदै आएकी छन्।
गाउँस्तरदेखि विभिन्न सामाजिक अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी उनी शिक्षा, स्वास्थ्य र रोजगारीका मुद्दामा स्पष्ट धारणा राख्ने नेतृका रूपमा चिनिन्छिन्।
पार्टीका स्थानीय नेताहरूका अनुसार चौधरीको उम्मेदवारीले थारु समुदायमा नयाँ उत्साह थपेको छ।
“समावेशी लोकतन्त्रको अभ्यास र समुदायको पहिचान स्थापित गर्न कान्छी चौधरीको विजय आवश्यक छ,” भन्दै कार्यकर्ताहरूले घरदैलो अभियान तीव्र पारेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार समानुपातिकतर्फ दलले पाउने मतको आधारमा प्रतिनिधित्व सुनिश्चित हुने भएकाले चौधरीको संसद यात्रा मतदाताको समर्थनसँग प्रत्यक्ष जोडिएको छ। विशेषगरी थारु बस्तीहरूमा उनको उम्मेदवारीप्रति सकारात्मक लहर देखिएको बताइन्छ।

चौधरीले आफू संसद पुगेपछि थारु समुदायको हक–अधिकार, भूमिसम्बन्धी समस्या, महिला तथा युवाको रोजगारी र सामाजिक समानताको मुद्दालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
“हामी समान अवसर, समान सम्मान र आत्मनिर्भर समाज निर्माणको अभियानमा छौं,” उनले भनिन्।
समानुपातिकतर्फ बलियो मत प्राप्त भएमा कान्छी चौधरी जीवनीको संसद प्रवेश सुनिश्चित हुने विश्वास पार्टीले व्यक्त गरेको छ। पहिलोपटक निर्वाचनमा होमिएको पार्टीले समावेशी र न्यायपूर्ण प्रतिनिधित्वमार्फत नयाँ राजनीतिक विकल्प स्थापित गर्ने दाबी गर्दै आएको छ।
यस्तै पार्टीले दाङ ३ नम्बर निर्वाचन क्षेत्रबाट तुलसीपुर उपमहानगरपालिका-८ निवासी जानकी चौधरीलाई पनि समानुपातिक उम्मेदवार बनाएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.