दाङ–३ का उम्मेदवार बलबहादुर ओली ‘शीतल’द्वारा निर्वाचन परिणामप्रति प्रश्न

डेली न्युजराप्ती       २८ फाल्गुन २०८२ ०७:०० मा प्रकाशित     131 No Comments

दाङ: दाङ–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बलबहादुर ओली ‘शीतल’ले हालै सम्पन्न वि.सं. २०८२ फागुन २१ गतेको निर्वाचन परिणामबारे प्रश्न उठाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले देखिएको मतपरिणामलाई नेपाली जनताको शतप्रतिशत वास्तविक मतको प्रतिबिम्ब मान्न कठिन भएको बताएका छन्।

ओलीले मतपरिवर्तनका पछाडि विभिन्न कारणहरू जिम्मेवार रहेको उल्लेख गरेका छन्।
उनका अनुसार संसदवादी दलहरूले राष्ट्र र जनताको हितविपरीत काम गरेको, पश्चिमा शक्तिबाट फैलाइएका झुटा अफवाहको प्रभाव, नयाँ दलाल शक्तिको पुँजी र पैसाको प्रयोग, मतदान केन्द्रहरूमा कार्यकर्ताद्वारा गरिएको दबाब तथा जनाधिकारको अपहरणजस्ता कारणले मत परिणाम प्रभावित भएको दाबी गरेका छन्।

त्यस्तै, उनले राज्यद्वारा सिर्जित सैन्य दबाबको मनोविज्ञान, देशी तथा विदेशी शक्तिकेन्द्रको चलखेल र सर्वेक्षणको नाममा विदेशीहरूको असामान्य उपस्थितिले पनि निर्वाचन परिणाममा असर पारेको आरोप लगाएका छन्। साथै राजनीतिक दलहरूमा बढ्दो भ्रष्टिकरणले पनि मतपरिणाम प्रभावित भएको उनको भनाइ छ।

ओलीले निर्वाचन सम्पन्न भएलगत्तै अमेरिकाले नेपालसँग साझा समृद्धि र सुरक्षा क्षेत्रमा आगामी सरकारसँग मिलेर काम गर्न चाहेको सन्देश दिएको विषयलाई पनि गम्भीर रूपमा लिनुपर्ने बताएका छन्। उनले यसलाई “स्टेट पार्टनरशिप प्रोग्राम (SPP)” सँग जोड्दै सम्भावित वैदेशिक सैन्य हस्तक्षेपको संकेत हुनसक्ने दाबी गरेका छन्।

उनले आगामी दिनमा नेपाल सरकारले अमेरिकी परियोजना एमसीसीको संरक्षणका नाममा SPP लागू गरे देश नयाँ संकटतर्फ जान सक्ने चेतावनी दिएका छन्।

ओलीले सचेत नेपाली नागरिकलाई देश र जनताको पक्षमा समर्पित भई वास्तविकताको अध्ययन गर्न समेत आह्वान गरेका छन्।
उनको यो धारणा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार