प्रेम सम्बन्धमा खटपटपछि फेसबुकमा ‘म मर्दैछु’ लेखेर १७ वर्षीय युवकको पुलबाट हामफालेर मृत्यु

डेली न्युजराप्ती       २ चैत्र २०८२ ०९:१७ मा प्रकाशित     202 No Comments

रुकुम पश्चिम । रुकुम पश्चिममा एक किशोरले सामाजिक सञ्जाल फेसबुकमा “म मर्दैछु” भन्दै स्टाटस लेखेपछि पुलबाट हाम्फालेर ज्यान गुमाएका छन्।

जिल्लाको त्रिवेणी गाउँपालिका–१० सालघारी निवासी कर्णबहादुर ओलीका १७ वर्षीय छोरा महेन्द्र ओलीले आइतबार बिहान मुसिकोट नगरपालिका–१ खलंगास्थित बहाराटाकुरा र सल्ले जोड्ने झोलुङ्गे पुलबाट हाम्फालेर आत्महत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार पुलबाट करिब दुई सय मिटर तल रहेको खोल्सामा महेन्द्रको शव फेला परेको छ।

मुसिकोट नगरपालिका–१ स्थित कारागार नजिकै कोठा भाडामा बस्दै आएका महेन्द्र कक्षा १२ मा अध्ययनरत थिए। प्रारम्भिक अनुसन्धानका अनुसार प्रेम सम्बन्धमा खटपट भएपछि उनले आत्महत्याको बाटो रोजेको हुनसक्ने प्रहरीले जनाएको छ।

पुलबाट हाम्फाल्नुअघि उनले फेसबुकमा एक किशोरीसँगका तस्बिर राख्दै आफू त्यसैका कारण मर्न लागेको उल्लेख गरेका थिए। उनले परिवारसँग माफी माग्दै उक्त किशोरीलाई सजाय दिनुपर्ने आशयको स्टाटससमेत लेखेको देखिएको छ।

प्रहरीका अनुसार घटनास्थलको मुचुल्का तयार पार्ने काम भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार