पेट्रोलियम पदार्थको मूल्य बढ्यो,अन्तर्राष्ट्रिय बजारकै प्रभाव : नेपाल आयल निगम

डेली न्युजराप्ती       ३ चैत्र २०८२ ०८:४७ मा प्रकाशित     66 No Comments

काठमाडौं । नेपाल आयल निगम ले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले नेपालमा पनि मूल्य समायोजन गर्नुपर्ने अवस्था सिर्जना भएको जनाएको छ।

निगमले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा पछिल्लो समय मध्यपूर्व तथा पश्चिम एसियामा देखिएको द्वन्द्वको प्रभावले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा उल्लेख्य रूपमा बढेको उल्लेख गरेको छ। यसका कारण पेट्रोलियम पदार्थको आपूर्ति र मूल्य व्यवस्थापनमा कठिनाइ देखिएको निगमले जनाएको छ।

निगमका अनुसार पेट्रोलियम पदार्थको स्रोत नभएका मुलुकमा आपूर्ति व्यवस्थापन र मूल्य समायोजन गरेर नागरिकलाई सहज रूपमा उपलब्ध गराउने काम चुनौतीपूर्ण बन्दै गएको छ। यसअघि वि.सं. २०७९ सालमा रूस–युक्रेन युद्धका कारण पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य अत्यधिक बढ्दा नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति र मूल्य व्यवस्थापन प्रभावित भएको स्मरण निगमले गरेको छ।

त्यतिबेला मूल्य समायोजन गर्न नसक्दा इन्डियन आयल कर्पोरेशन लाई करिब २४ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको अवस्था आएको निगमले जनाएको छ। उक्त रकममध्ये केही रकम नेपाल सरकारबाट ऋण लिएर तथा राष्ट्र बैंकमा रहेको अचल सम्पत्ति धितो राखेर व्यवस्थापन गरिएको पनि विज्ञप्तिमा उल्लेख छ।
हाल पनि अन्तर्राष्ट्रिय बजारको मूल्यका आधारमा पेट्रोलियम पदार्थको लागत बढेको जानकारी निगमले दिएको छ। निगमका अनुसार हाल पेट्रोलको मूल्य प्रतिलिटर १५७ रुपैयाँ रहेकामा लागत मूल्य १८८ रुपैयाँ पुगेको छ, जसका कारण प्रतिलिटर ३१ रुपैयाँ घाटा भइरहेको छ।

त्यस्तै डिजेलमा प्रतिलिटर १४२ रुपैयाँ खुद्रा मूल्य रहेकामा लागत १९६ रुपैयाँ पुगेको जनाइएको छ, जसले प्रतिलिटर ५४ रुपैयाँ घाटा भइरहेको देखाएको छ। खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर १ हजार ९१० रुपैयाँ खुद्रा मूल्य रहे पनि लागत २ हजार १९६ रुपैयाँ पुगेको निगमले जनाएको छ, जसमा प्रति सिलिण्डर २८६ रुपैयाँ घाटा रहेको बताइएको छ।

निगमले अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार आगामी दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुन सक्ने संकेतसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार