काठ, पाइप र सलाइको कमाल: १५ वर्षे उमितले बनाए ‘एम–१४’, गाउँ नै चकित

डेली न्युजराप्ती       ६ चैत्र २०८२ ०८:०२ मा प्रकाशित     152 No Comments

रोल्पा, ५ चैत — सिर्जनशीलता र जिज्ञासाले भरिएका एक किशोरले घरेलु सामग्रीकै प्रयोगबाट बन्दुक निर्माण गरेर सबैको ध्यान खिचेका छन्।
परिवर्तन गाउँपालिका–५ कोरलका कक्षा ९ मा अध्ययनरत १५ वर्षीय उमित बुढामगरले दुई साताको मेहनतपछि ‘एम–१४’ नाम दिएको बन्दुक तयार पारेका हुन्।

परिवर्तन गाउँपालिका–१ कुरेलीस्थित बाल कल्याण मावि उपबाङ्मा अध्ययनरत बुढामगरका अनुसार स्रोत–साधन अभावका बाबजुद उनले प्रयोगविहीन सामग्री संकलन गर्दै काठ, फलामका पाइप, ब्याट्री र बाँसको संयोजनमा बन्दुक निर्माण गरेका हुन्।
चरा धपाउने उद्देश्यले बनाइएको उक्त बन्दुक सलाइको काँटी प्रयोग गरेर पड्काउन सकिने उनले बताए।

उनको यो अनौठो प्रयासले स्थानीय समुदाय मात्र होइन, विद्यालय र जनप्रतिनिधिहरूलाई समेत प्रभावित बनाएको छ।

बन्दुक निर्माणपछि वडाध्यक्ष मैते बुढा मगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रवीणकुमार बुढामगर, प्रधानाध्यापक पूर्णबहादुर वलीलगायत शिक्षक–शिक्षिका र सुरक्षाकर्मीले खादा र अबिर लगाएर बधाई दिएका थिए।

परिवर्तन गाउँपालिका यसअघि पनि यस्तै रोचक उपलब्धिका कारण चर्चामा आउने गरेको छ। २०८० सालमा वडा नम्बर–४ पाछाबाङकी खुशी बुढामगरले १० महिनामै ७ वटा लोकसेवा परीक्षा उत्तीर्ण गरेर देशभर चर्चा कमाएकी थिइन्।

साना स्रोतबाट ठूलो सिर्जना सम्भव हुन्छ भन्ने उदाहरण बनेका उमितको यो प्रयासले गाउँमै नयाँ उत्साह र प्रेरणा थपेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार