राप्ती बाबई क्याम्पसमा राष्ट्रिय अनुसन्धान गोष्ठी सम्पन्न, शिक्षा–नवप्रवर्तनमा बहस

डेली न्युजराप्ती       ९ चैत्र २०८२ ०७:२३ मा प्रकाशित     99 No Comments

तुलसीपुर, ८ चैत । दाङको राप्ती बाबई क्याम्पसमा आयोजित दुईदिने प्रथम राष्ट्रिय अनुसन्धानात्मक गोष्ठी सम्पन्न भएको छ।
कार्यक्रममा स्वदेश तथा विदेशका प्राध्यापक, अनुसन्धानकर्ता, विद्यार्थी तथा विज्ञहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

गोष्ठीको पहिलो दिन आयोजित प्लेनरी सत्रमा विभिन्न क्षेत्रका विज्ञहरूले उच्च शिक्षा, अनुसन्धान तथा नवप्रवर्तनका विषयमा आफ्ना धारणा राखेका थिए। मिड–वेस्ट विश्वविद्यालयका प्रोफेसर डा. सी.पी. रिजालले उच्च शिक्षामा अनुसन्धान र नवप्रवर्तन रणनीतिबारे प्रस्तुति दिएका थिए भने नीति अनुसन्धान प्रतिष्ठानका डा. निरञ्जन देवकोटाले कृत्रिम बुद्धिमत्ताको नैतिक प्रयोगबारे विचार व्यक्त गरेका थिए।

त्यस्तै, महेन्द्र बहुमुखी क्याम्पसका नारायण पन्थीले दिगो ऊर्जा तथा सिंचाइ व्यवस्थापनका विषयमा प्रस्तुति दिएका थिए भने काठमाडौं विश्वविद्यालयका सह–प्राध्यापक डा. सुरेश गौतमले शहरी शिक्षण प्रक्रियामा देखिएका परिवर्तनबारे आफ्नो धारणा राखेका थिए।
विभिन्न प्राविधिक सत्रहरूमा व्यवस्थापन, लेखा तथा वित्त, नेपाली भाषा, मनोविज्ञान, समाजशास्त्र, शिक्षा तथा सूचना प्रविधि लगायतका विषयमा अनुसन्धानपत्र प्रस्तुत गरिएका थिए। सहभागीहरूलाई प्रस्तुतीकरणका लागि ६ मिनेट र छलफलका लागि २ मिनेटको समय निर्धारण गरिएको थियो।
गोष्ठीमा ग्रामीण अर्थतन्त्र, डिजिटल मार्केटिङ, उपभोक्ता व्यवहार, वित्तीय साक्षरता, सामाजिक सञ्जालको प्रभाव, भाषा विकास तथा सूचना प्रविधिको प्रयोगजस्ता समसामयिक विषयमा गहन छलफल भएको आयोजकले जनाएको छ।
दोस्रो दिनको कीनोट सत्रमा क्यालिफोर्निया स्टेट युनिभर्सिटी, अमेरिका का प्रोफेसर डा. मोहन बहादुर डाँगी, त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डा. कृष्णचन्द्र शर्मा तथा नेपाल संस्कृत विश्वविद्यालयका प्रोफेसर डा. सुदनकुमार पौडेलले शिक्षा र अनुसन्धानका विविध आयाममा महत्वपूर्ण धारणा राखेका थिए।
कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको थियो। सम्मेलनले शिक्षण, अनुसन्धान र नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्दै शैक्षिक गुणस्तर सुधारमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्यामकुमार रेग्मीको अध्यक्षता तथा त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डीन शंकर खनालको प्रमुख आतिथ्यमा कार्यक्रम समापन गरिएको थियो। कार्यक्रममा क्याम्पस प्रमुख गणेश पार्धे, शैक्षिक व्यक्तित्व विष्णु प्रसाद पोखरेल, पूर्ण विक्रम डाँगी, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत लगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन आयोजक समितिका सदस्य चमन धितालले गरेका थिए भने सहजीकरण सह–संयोजक सूर्यप्रसाद शर्माले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार