भूमिहीन र सुकुम्बासीमाथि ‘डोजर आतंक’ बन्द गर्न माओवादीको माग, दमनको कडा भर्त्सना

डेली न्युजराप्ती       २४ बैशाख २०८३ १६:४४ मा प्रकाशित     371 No Comments

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले वर्तमान सरकारद्वारा देशभर भूमिहीन र सुकुम्बासी बस्तीमाथि गरिएको डोजर अभियानलाई ‘निरंकुश र अमानवीय’ भन्दै कडा विरोध जनाएको छ। पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो कदम तत्काल रोक्न र पीडितलाई वैकल्पिक व्यवस्थासहित न्याय दिन सरकारसँग माग गरेको छ।
विज्ञप्तिमा वैशाख १२ गतेदेखि प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरी काठमाडौं उपत्यकासहित विभिन्न स्थानका सुकुम्बासी बस्तीमाथि डोजर चलाएको उल्लेख गरिएको छ। यसलाई पार्टीले “जंगली चरित्रको पराकाष्ठा” भन्दै निन्दा गरेको छ।
पार्टीका अनुसार, लाखौं भूमिहीन र सुकुम्बासीको समस्याको दीर्घकालीन समाधान खोज्नुको सट्टा बल प्रयोग गर्दै आवास भत्काउनु गैरजिम्मेवार कदम हो। विज्ञप्तिमा भनिएको छ, “वास्तविक भूमिहीन र सुकुम्बासीको पहिचान गरी उनीहरूलाई वैकल्पिक बसोबास र भूमि व्यवस्थापन गर्नु सरकारको दायित्व हो।”
यसैक्रममा, डोजर अभियानका क्रममा भएको घटनामा इन्द्रबहादुर राईसहित २ जनाको ज्यान गएकोप्रति पार्टीले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।
माओवादीले सरकारको दमनविरुद्ध भूमिहीन र सुकुम्बासी जनताको न्यायपूर्ण आन्दोलनलाई देशव्यापी समर्थन गर्ने घोषणा गर्दै आफ्ना पार्टी पंक्तिलाई सक्रिय हुन निर्देशन दिएको छ।
विज्ञप्तिको अन्त्यमा सरकारले दमनको नीति त्यागेर समस्या समाधानतर्फ गम्भीर हुन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार