दाङ, जेठ २९ – प्रधानमन्त्री बालेन शाहले नेपालको सीमासम्बन्धी विषयमा दिएको अभिव्यक्तिको विरोध गर्दै नेकपा (माओवादी) दाङले जिल्लाका विभिन्न पालिकामा हिजो सोमबार मशाल जुलुस प्रदर्शन गरेको छ।
पार्टीका अनुसार तुलसीपुर, घोराही, लमही, गढवा, बबई, शान्तिनगर, दंगीशरण, राजपुर लगायत जिल्लाका विभिन्न स्थानीय तहमा शनिबार साँझ मशाल जुलुस निकालिएको हो।
प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई गैरजिम्मेवार, राष्ट्रहितविपरीत तथा राष्ट्रिय स्वाधीनतामाथिको प्रहारका रूपमा चित्रण गर्दै त्यसको सार्वजनिक रूपमा खण्डन गरेका छन्।
मशाल जुलुसका क्रममा सहभागीहरूले राष्ट्रियता, स्वाभिमान र सीमाको रक्षासम्बन्धी नाराबाजी गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए। पार्टीका स्थानीय नेताहरूले देशको सीमा र सार्वभौमिकताजस्ता संवेदनशील विषयमा जिम्मेवार पदमा रहेका व्यक्तिहरूले गम्भीरता र जिम्मेवारीका साथ अभिव्यक्ति दिनुपर्ने बताएका छन्।
नेकपा (माओवादी) दाङले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति आम नागरिक, राजनीतिक दल तथा सरोकारवाला पक्षले समेत खबरदारी गर्नुपर्ने जनाएको छ। पार्टीले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको विषयमा कुनै पनि प्रकारको सम्झौता स्वीकार्य नहुने भन्दै आवश्यक परे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ।
मशाल जुलुस शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.