शोकमग्न वातावरणमा कमरेड नवराज दाहालको अन्त्येष्टि सम्पन्न

डेली न्युजराप्ती       १६ असार २०८३ १८:४८ मा प्रकाशित     100 No Comments

दाङ, असार १५ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) तुलसीपुर उपमहानगरपालिका कमिटी सदस्य तथा तुलसीपुर–१६ भेलाही निवासी कमरेड नवराज दाहालको असामयिक निधनप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै आज तुलसीपुर–१६ स्थित चौवाखोला घाटमा अन्तिम श्रद्धाञ्जली सहित दाहसंस्कार सम्पन्न गरिएको छ।

हिजो असार १४ गते निधन भएका कमरेड दाहालप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै नेकपा (माओवादी) अधिवेशन आयोजक समितिका सदस्य शितल सीले कम्युनिस्ट पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको थियो।

अन्त्येष्टि कार्यक्रममा अधिवेशन आयोजक समितिका सदस्य शितल सी, प्रदीप सी, तिलक सी, पार्टीका विभिन्न तहका नेताकार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक, परिवारजन, आफन्त तथा स्थानीय टोलवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै तुलसीपुर–१६ का वडा अध्यक्ष शिवानन्द डीसीको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।

शोकमग्न वातावरणबीच सम्पन्न अन्त्येष्टि कार्यक्रममा उपस्थित सबैले मृतक कमरेड नवराज दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले पार्टी, समाज र जनताको पक्षमा पुर्‍याउनुभएको योगदानको स्मरण गरेका थिए।
अन्तिम श्रद्धाञ्जली तथा अन्त्येष्टि कार्यक्रमको सहजीकरण नेपाल कम्युनिष्ट पार्टी (माओवादी) तुलसीपुर नगरका सचिव रुद्र सीले गर्नुभएको थियो। कार्यक्रम श्रद्धा, सम्मान र भावनात्मक वातावरणबीच सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार