रसुवा बाढीपीडितको उद्धारमा राज्यका सबै स्रोत परिचालन गर्न नेकपा(माओवादी)को माग

डेली न्युजराप्ती       १२ भाद्र २०८३ १२:३९ मा प्रकाशित     127 No Comments

तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले रसुवाको भोटेकोशीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
पार्टीका महासचिव विप्लव सीद्वारा जारी विज्ञप्तिमा यही २०८३ जेठ १० गते बिहान त्रिशूली नदीको शिर रसुवा जिल्लाको भोटेकोशीमा अचानक आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा अकल्पनीय जनधनको क्षति पुर्‍याएको उल्लेख गरिएको छ। बाढीमा परी निधन भएका नागरिकहरूप्रति पार्टीले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
विज्ञप्तिमा बाढीमा परी घाइते भएका नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्को यस घडीमा सरकारसँग विभिन्न मागसमेत अघि सारिएको छ।
माओवादीले बाढीको चपेटामा परेका नागरिकहरूको उद्धारका लागि राज्यका सम्पूर्ण साधन–स्रोत परिचालन गर्न, पीडित नागरिकलाई थप विचल्लीमा नपार्न र घाइतेहरूको द्रुत उद्धार तथा निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेको छ। साथै बाढीबाट सर्वस्व गुमाएका नागरिकहरूको उचित व्यवस्थापन गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ।
भोटेकोशी बाढीको प्रभाव र क्षति इतिहासकै ठूलोमध्ये भएको भन्दै राज्य र नागरिक सम्मिलित विशेष राहत कोष खडा गरी संयुक्त परिचालन समिति निर्माण गर्न पार्टीले माग गरेको छ।
त्यस्तै, विपद्मा परेका देश तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरूबाट सहयोगको अपिल गर्दै सबै मित्र राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय मानवीय भावनाअनुसार राहत अभियानमा सहभागी हुन विशेष अपिल गरिएको छ।
माओवादीले संकट र विपद्को यस घडीमा युवा, विद्यार्थी, विभिन्न मोर्चा तथा संगठनहरूसहित आफ्ना पार्टीपंक्तिलाई उद्धार, राहत र व्यवस्थापनका कार्यमा विशेष सक्रियतासहित सहभागी हुन निर्देशनसमेत दिएको छ।
विज्ञप्तिको अन्त्यमा पार्टीले प्राकृतिक विपद्बाट पीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै विपद्को सामना गर्न सबैलाई एकताबद्ध हुन आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार