दाङ। नेत्रविक्रम चन्द ‘विप्लव’ले अब आफ्नो नाममा थपघट गर्ने भएका छन् । उनी मात्रै होइन, उनी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध सबैले आफ्नो नामका पछाडि अनिवार्य रुपमा ‘सी’ लेख्नुपर्ने छ । जसलाई विप्लवले ‘कम्युनिष्ट साम्यवादी’ नयाँ जाति निर्माण गरेको रुपमा अथ्र्याएका छन् ।
कपिलवस्तुको शिवगढीमा २५ असोजदेखि जारि उनको पार्टीको नवौं महाविधेशनलाई बुधबार समापन गर्ने क्रममा विप्लवले यस्तो प्रस्ताव गरेका थिए । महाधिवेशन हलले उनको प्रस्ताव अनुमोदन समेत गरेको थियो ।
‘हामीले यो महाधिवेशनबाट नयाँ दृष्टिकोण मात्रै होइन, एउटा नयाँ जाति निर्माण गरेका छौं,’ उनको दाबी छ, ‘कम्युनिष्ट साम्यवादी एउटा जाति निर्माण गरेका छौं । र, सबैले आफ्नो नामका पछाडि अनिवार्यरुपमा ‘सी’ लेख्ने छौं । म यो कुरा सगर्व घोषणा गर्दछु, अब विप्लव नेत्रविक्रम चन्द होइन विप्लव ‘सी’ हुने छ ।’
विप्लवले राखेको दोस्रो प्रस्ताव श्रम अभियानबारे थियो । हरेक दुई महिनामा अनिवार्यरुपमा एक दिन भौतिक श्रम गर्ने पर्ने उनको प्रस्तावलाई पनि महाधिवेशन हलले अनुमोदन गरेको छ । ‘हरेक दुई महिनामा हामीले एक दिन आर्थिक उत्पादन हुने गरि श्रम गर्नुपर्ने छ,’ उनको प्रस्ताव थियो, ‘हरेक नेताले दिनको ५०० उत्पादन गर्नुपर्ने छ । उसले उत्पादन गर्नै पर्छ । कोठमा बसेर होइन, भौतिक श्रममा भाग लिनुपर्ने छ । त्यसलाई हामी कम्युनिष्ट श्रम दिन भन्ने छौं ।’
तेस्रो प्रस्तावमा रुपमा उनले ‘केन्द्रीय शहीद, बेपत्ता तथा घाइते कोष’ बनाउने विषय राखेका थिए । कोषले घर नहुने शहीद, बेपत्ताको घर निर्माण गर्ने दाबी विप्लवको छ ।
राष्ट्रिय स्वाधिनता र समाजवादी सत्ता निर्माणको कार्यनीति लिएको भन्दै विप्लवले ‘जनसत्ता’ ब्युँताउने समेत बताए । ‘चुनाव पूरै खारेज गरेर हामीले एउटा नमुना आन्दोलन फेरि खडा गर्नुपर्छ।’
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.