लुम्बिनी प्रदेशको राजधानी कार्यान्वयन भएको छ । प्रदेश सरकारले लुम्बिनीको स्थायी राजधानी बुधबारदेखि कार्यान्वयनमा ल्याएको हो । राजधानी कार्यान्वयनमा आएसँगै अब दाङको देउखुरीबाटै सरकारी कामकाज गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । देउखुरीमा तयार भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदेश प्रमुख अमिक शेरचनले झण्डोत्तोलनसहित कार्यालयको उद्घाटन गरेपछि कार्यालय औपचारिक रूपमा सञ्चालनमा आएको हो ।
०७७ असोज २० गते लुम्बिनी प्रदेशसभाले देउखुरीलाई स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो । राजधानी घोषणा भएको दुई वर्षसम्म पनि आस्थायी मुकाम बुटवलबाट कामकाज भइरहेको थियो । देउखुरीको लालमटीयामा रहेको राप्ती प्राविधिक शिक्षालयलाई अर्को ठाउँमा सारिएको छ । शिक्षालय परिसरमा अहिले राजधानीका संरचना तयार गरिएको छ । यहाँ मुख्यमन्त्री कार्यालय, प्रदेशसभा भवन र मन्त्रालयलगायत संरचना रहने बताइएको छ ।
लुम्बिनीका १३ मध्य मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ६ मन्त्रालय यही परिसरमा रहनेछन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापना भइसकेको छ । प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा छ । अबको लुम्बिनी प्रदेशसभाको बैठक पनि देउखुरीमै राख्ने तयारी छ । राप्ती प्राविधिक शिक्षालयभित्रको १८ बिघा क्षेत्रफलमा साना–ठूला गरेर ४० भवन छन् । राजधानी कार्यान्यनमा आएसँगै देउखुरीलाई सिँगारिएको छ ।
यस अघि ग्रामिण तथा शहरी विकास मन्त्रालय र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय भालुवाङमा आएका थिए । तर, काम भने बुटवलबाट हुँदै आएको थियो । स्थायी राजधानी तोकिएपछि प्रदेशको स्थायी राजधानीलाई आबश्यक पर्ने संरचना निर्माण गर्न प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन भइ काम गर्दै आएको छ । राजधानी घोषण गरिएको क्षेत्र १६ विघा क्षेत्रफलमा फैलिएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.