मन्त्री मास्कीले अस्पतालको अध्यक्षमा भान्जे जवाइ नियुक्त गरेपछि माओवादीमा चरम विवाद

डेली न्युजराप्ती       २ मंसिर २०८० ११:०७ मा प्रकाशित     110 No Comments

अर्थमन्त्री मास्कीले भने – यहाँ सरकारको कानुन चल्छ

चेतन वली ।

तुलसीपुर, २ कात्तिक । राप्ती प्रादेशिक अस्पताल विकास समितिमा अध्यक्ष नियुक्तको विषयलाई लिएर नेकपा माओवादी केन्द्र दाङमा विवाद चर्किएको छ । लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले पार्टीले सिफारिस गरेको व्यक्ति बाहेक अर्कै व्यक्तिलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेपछि माओवादी भित्र अन्तरद्धन्द्धले प्रवेश पाएको हो । अर्थमन्त्री मास्कीले भान्जी जवाइ नाता पर्ने दीपक शाहलाई अस्पताल विकास समितिको अध्यक्षमा कात्तिक २३ गते नियुक्त गरेको पार्टीका नेताहरूले बताएका छन् ।

माओवादी तुलसीपुर नगरकमिटीको २०८० कात्तिक १४ गते बसेको बैठकले शशिकिरण ढकाललाई प्रादेशिक अस्पतालको अध्यक्षमा मनोनित गर्न प्रदेश कमिटीलाई सिफारिस गरेको थियो । पार्टीको मर्म र भावना विपरित मन्त्री मास्कीले आफू अनुकुलका व्यक्तिलाई नियुक्त गरेर नाङ्गो नाच देखाएको भन्दै नेताहरूले कडा आलोचना गरेका छन् । तुलसीपुर नगर कमिटीले गरेको सिफारिस विपरित प्रदेश सरकारले प्रादेशिक अस्पतालको अध्यक्षमा कर्णाली प्रदेश अन्तर्गत सल्यानका दीपक शाहलाई मनोनित गरेपछि पार्टी भित्रै विवाद सुरु भएको हो ।

नगरकमिटीको बैठकले सर्वसम्मत रुपमा ढकाललाई सिफारिस गरेपनि प्रदेश सरकारले त्यसको विपरित काम गरेको माओवादी केन्द्र तुलसीपुर नगरकमिटीका अध्यक्ष खुशीराम चौधरीले बताउनुभयो । यस अघि अर्थमन्त्री धनबहादुर मास्कीले तुलसीपुर नगर कमिटीले सिफारिस गरेको व्यक्तिलाई नियुक्त गर्ने आश्वासन दिनु भएको थियो । यस्तै नेकपा माओवादी केन्द्र दाङ जिल्ला अध्यक्ष सुवाश पुनले पनि तुलसीपुर नगरकमिटीको निर्णय विपरित आफूले नचिनेको अर्कै व्यक्तिलाई अस्पतालको अध्यक्षमा नियुक्त गरेको भन्दै पार्टी भन्दा व्यक्ति ठूलो हुन नसक्ने बताउनुभयो ।यस विषयमा आफूले विस्तृत रुपमा बुझेर मात्रै थप भन्न सकिने उहाँको भनाई छ ।

यता नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले सरकारमा रहेका व्यक्तिलाई पहिले नै जिल्ला कमिटीहरू सँग आन्तरिक रुपमा छलफल गरेर मात्रै अस्पतालमा अध्यक्ष नियुक्त गर्न भनेको बताउनुभएको छ । सरकारमा रहेकाले त्यसैअनुसार नियुक्त गरिएको भनेर आफूलाई जानकारी गराउन भने पनि अहिले आफूकहाँ यस्तो गुनासाहरू आइरहेको उहाँको भनाई छ । पार्टी कमिटीको निर्णयलाई मान्नुपर्ने नियम भएपनि अर्कै व्यक्तिलाई नियुक्त गरिएको भन्ने कुरा आएकोले यसबारे विस्तृत रुपमा आफूले बुझ्ने उहाँले बताउनुभयो ।  अध्यक्षमा नियुक्त भएकालाई आफूले राम्रोसँग नचिन्ने उहाँले बताउनुभो । 

यता अर्थमन्त्री मास्कीले प्रदेश सरकारको क्षेत्राधिकार भित्र पर्ने कुरा भएकाले सरकारको बाहेक अरुको भनाई नलाग्ने बताउनुभयो । पार्टीले सिफारिस गर्ने कुरा फरक पक्ष भएपनि निर्णय सरकारले गर्ने हुँदा योग्य र सक्षम व्यक्तिलाई छनौट गरिएको बताउनुभयो । अध्यक्षमा नियुक्त गरिएका दीपक शाह पहिले कर्णाली प्रदेशको भएपनि अहिले दाङको भएको उहाँको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार