माओवादीहरुलाई एकताबद्ध गरेर समाजवादको यात्रा गर्ने हो: विप्लव

डेली न्युजराप्ती       ३ मंसिर २०८० ०९:५४ मा प्रकाशित     110 No Comments

शोभराज बराल

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालका सबै माओवादीलाई एकताबद्ध बनाउने भएको छन् । शनिबार काठमाडौंमा आयोजित क्रान्तिकारी कम्युनिस्टहरुको धु्रविकरण तथा एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले माओवादीहरुलाई एकताबद्ध गरेर समाजवादको यात्रा गर्ने योजना रहेको बताएका हुन् ।

वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य कान्छाराम तामाङसहित १ सयभन्दा बढी नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै विप्लवले नेपालका माओवादी, वामपन्थी, लोकतान्त्रिक र राष्ट्रवादी शक्तिहरुको एकता गरेर समाजवादको यात्रा गर्ने बताए । ‘पहिला हामी माओवादीहरु एक हुने हो, त्यसपछि सम्पूर्ण कम्युनिस्ट वामपन्थीहरुलाई एकताबद्ध गर्ने हो, समाजवादी पक्षधरलाई पनि एक बनाउने हो, राष्ट्रवादी शक्तिसँग पनि सहकार्य गर्ने हो ।’, उनले भने, ‘तर सहकार्य एकताको बहानामा पछाडि पर्किन सकिदैन । अगाडि बढ्ने हो, समाजवादको यात्रा गर्ने हो ।’

उनले कान्छाराम, कुबेरहरू नेकपामा आउनु मात्र ठूलो कुरा नभएको भन्दै यसले दिने सन्देश कयौं गुणा ठूलो भएको बताए । उनले यो एकता कम्युनिस्ट आन्दोलन जोगाउन भएको भन्दै एकताले समाजवादसम्मको यात्रा तय गर्ने जिकिर गरे । ‘एकता निरन्तर चलिरहन्छ, नेपाल कम्युनिस्ट पार्टीको जन्म भयो त्यो एकता हो, झापा विद्रोह पनि एउटा एकता हो, जनयुद्ध पनि एकता हो, एकीकृत जनक्रान्ति पनि एकता हो ।’, उनले भने, ‘पुराना एकताहरू असफल भएपछि नयाँ एकता जन्मिन्छन् ।’

कम्युनिस्ट र गैरकम्युनिस्ट सबैलाई एकताबद्ध गर्ने सकिने उनको भनाई थियो । अहिले नेपाल जटिल मोडमा पुगेको भन्दै उनले भने, ‘नेपाल गम्भीर मोडमा छ, यसलाई जोगाउने जिम्मा नेपाली श्रमिक जनताको हो, युवा विद्यार्थीको हो । यो कुरा बुझ्नुपर्छ ।’, उनले भने, ‘युवाहरुले बुझेनन् भने, श्रमिक जनताले बुझेनन् भने, बुद्दिजीविले बुझेनन् भने देश पछाडि फर्किने खतरा छ । हामी पछाडि फर्किने होइन अगाडि बढ्ने हो । समाजवादको यात्रा गर्ने हो । नेपाली माटो सुहाउँदो समाजवाद ल्याउने हो ।’

क्रान्ति गर्न आफूहरुले नयाँ तरिका अगाडि सारेको भन्दै यसलाई सफल पार्न सबै नेपाली जनता एकताबद्ध हुनुपर्ने उनको जिकिर थियो । ‘देश संकटमा छ, यसको नेतत्व नेकपाले गर्छ ।’, उनले भने, ‘विरोधीहरु बढे भनेर कान्छेहरु टिकट बन्द गर्छन, राजा फर्काउने कुरा गर्छन्, ४७ सालको संविधान फर्काउने हल्ला भइरहेको छ ।’, उनले भने, ‘कुनै पनि हालतमा २०४७ साल फर्किदैन । उनीहरुबाट डराएर सरकारले टिकटक बन्द गरेर गल्ती गर्यो ।’

यो देश बचाउने जिम्मा नेकपाले लिने भन्दै नेपालमा राजतन्त्र फर्किने कुनै पनि सम्भावना नरहेको उनको तर्क थियो । ‘देशको चिन्ता हामीमा छ, देशद्रोह, राष्ट्रघात कसैले गर्छ भने हामी त्यसको प्रतिकार गर्छाैं ।’, उनले भने, ‘हामीलाई अमेरिकाको डलर चाहिएको छैन, हामीलाई चाइनिज यान पनि चाहिएको छैन । हामी श्रममा विश्वास गर्ने मान्छे हो । हामी हात, खुट्टा, दिमाग भएका मान्छे हौँ, हामीलाई कसैले नहेपे हुन्छ ।’

नेपाली जनताको चाहना समाजवादमा जाने भएको भन्दै  उनले आफूहरु समाजवादमा गए अमेरिकी डलर आवश्यक नपर्ने दाबी गरे । दलाल पुँजीवाद असफल भैसकेको उनको तर्क थियो । विप्लवले नेपालमा समाजवाद स्थापना गर्नका लागि आफूहरु जनमता संग्रह गर्न तयार रहेको बताए । ‘नेपालमा दलाल पुँजीवाद असफल भइसक्यो । यसको अन्त्यका लागि हामी जनमत संग्रहका लागि तयार छौं । दलाल पुँजीवादकी वैज्ञानिक समाजवाद भनेर जनमत संग्रह गरौं न । हामी राजतन्त्र कि समाजवाद भनेर पनि जनमत संग्रह गर्न तयार छौं । जनताले तानाशाही शासन चाहदैनन् । हामी समाजवादका पक्षधरहरुले स्वत जित्छौं ।’

ध्रुवीकरण कार्यक्रमको. अध्यक्षता महासचिव विप्लवले गरेका थिए भने संचालन प्रवक्ता प्रकाण्ड सीले गरेका थिए । कार्यक्रममा उपस्थित सबैलाई नेकपा स्थायी समिति सदस्य विषम सीले स्वागत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार