जनयुद्धका सहिद परिवारको गुनासो: छोराछोरी गुमायौँ तर हाम्रा दुख उस्तै छन्

डेली न्युजराप्ती       २० फाल्गुन २०८० २०:५७ मा प्रकाशित     325 No Comments

हेमन्त प्रकाश वली ।

फागुन २० , तुलसीपुर । तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा चलेको दस वर्षको जनयुद्धमा सहादत प्राप्त गरेका सहिद परिवारका आफन्तजनले आफ्ना दुखहरु उस्तै रहेको दुखेसो पोखेका छन् ।

आइतबार तुलसीपुरमा विप्लव सी नेतृत्वको नेकपा तुलसीपुर उपमहानगर कमिटीद्वारा आयोजित सहिद ,बेपत्ता परिवार र घाइते योद्धाहरु सम्मान तथा अभिनन्दन कार्यक्रममा सहभागी सहिद ,बेपत्ता परिवार तथा घाइते योद्धाहरुले उक्त दुखेसो पोखेका हुन् ।

अभिनन्दन कार्यक्रममा अभिनन्दित हुन आएका सहिद परिवार समाजका केन्द्रीय सदस्य धर्ती सीले सहिद परिवारलाई देख्दा मर्माहत भएको बताए । उनले भने– ‘ नेपाली जनताका होनहार छोराछोरीहरुले आफ्नो अमुल्य जिवनको प्रवाह नगरी बलिदान गरेका हुन् तर आज ती महान छोराछोरीका आफन्तजनका दुखहरु अहिलेपनी उस्तै छन् । संसदीय व्यवस्थाको पक्षमा सहिदहरुले बलिदान गरेका होइनन् भन्ने कुरा सहिद परिवारले बुझ्जुपर्छ । सहिद परिवारले पनि संसदीय व्यवस्थामा गएका संसदवादी पार्टीहरुलाई प्रश्न गर्न जरुरी छ । अझैपनी गाउँगाउँमा जाली , फटाह , शासकहरुले मोजमस्ती गर्दैछन् , दलालहरु मोटाएकै छन् , गरिबहरु झन पछि झन गरिब हुदैछन् ।’

कम्युनिस्टहरु कहिलैपनी संसदीय व्यवस्थामा जाँदैनन् ,उनले थपे, ‘कम्युनिस्टहरु वैज्ञानिक समाजवादका पक्षधर हुन्।जनयुद्धमा सहिदहरुले गरेको बलिदान संसदीय व्यवस्थाका लागि होइन समाजवादका लागि हो । पहिलो कुरा एकजुट हुन जरुरी छ । समाजवाद सबैको चाहना हो भने अब ढिला नगरि समाजवादमा जाऔं त्यो नै सहिदहरुप्रतिको सच्चा श्रदासुमन हुनेछ । हामीहरु एकीकृत जनक्रान्ती मार्फत लागिरहेकै छौँ ।सहिद परिवारले पुनः एकपटक सहिदहरुको उद्देश्य पूरा गर्नका लागि समाजवादी कार्यक्रम अघि सारेको हाम्रो पार्टीलाई साथ दिन जरुरी छ ।’

अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एवम पार्टीका पश्चिम दाङ जिल्ला इन्चार्ज प्रदिप सीले जनयुद्धका सपना पूरा नहुदै संसदवादमा पतन भएपछि प्रचण्डहरुसंग अलग भएको जिकिर गरेका हुन्। 

नेता प्रदिपले भने– ‘हामिले प्रचण्डबाबुरामसंग सम्बन्धबिच्छेद गरेर ठिक गरेका हौं । त्यतिबेला हामिले गरेको बिद्रोह ठिक थियो । खरानिमा गएर ध्वस्त पारिएको क्रान्तिको झण्डालाई उठाएका हौं । पछिल्लो एकीकृत जनक्रान्तीमा मात्रै हामिले बाह्र जना होनहार साथिहरु गुमाएका छौँ । अहिले परिस्थिति फेरिएको छ । साम्राज्यवाद नेपाल आइपुगेको छ त्यसको विरुद्ध कम्युनिस्ट बामपंथीहरु मिलेर देशको रक्षा गर्नुपर्छ भनेर प्रचण्ड सहितको समाजवादी मोर्चा बनाएका हौं । हामी हाम्रो तरिकाले लड्ने हो , बाहिर हुने अनेक भ्रामक प्रचारबाजीको खासै महत्व हुँदैन । यो सत्तामा प्रचण्डले चाहेर पनि राम्रो काम गर्नसक्नुहुदैन किनकी यो सत्तामा दलाल पुजिपती वर्गको दबदबा छ । यो वर्गले हाम्रो प्रतिनिधित्व गर्दैन । त्यसैले यो सत्ताबाट सहिदहरुका सपना पूरा हुदैनन् । सहिदहरुको सपना पूरा गर्नको लागि यो सत्तालाई ध्वस्त गरि समाजवादी सत्ता अपरिहार्य बनेको छ ।’

सहिद परिवारहरु निराश भईरहनु पर्दैन , नेता प्रदिपले थप भने ‘ माओवादी आन्दोलनका केही नेताकार्यकर्ताले शहिदहरुलाई भुलेपनी हामिले कहिलै भुलेका छैनौं । हामी सहिदहरुका सपना पूरा गर्नको लागि एकीकृत जनक्रान्तिको कार्यदिशा सहित नयाँ जनक्रान्तीको नेतृत्व गरिरहेका छौँ । जनयुद्ध देखि एकीकृत जनक्रान्तीसम्म हामिले महान सहिदका सपना पूरा गर्न जुनसुकै मुल्री चुकाउन तयार भएर बिद्रोहको बाटोमा डटिरहेका छौँ । हामिलाई बिश्वास छ एकदिन हामी बिजयी हुनेछौं । संसदीय सत्ता जालोबाट जनतालाई उन्मुक्त गर्नेछौं ।’

नेता प्रदिपले नेपालको दलाल पुजीवादी संसदीय सत्ता पुर्ण रुपले असफल भएकाले अब समाजवाद निर्विकल्प बनेर आएकाले सबैले समाजवादका विषय छलफल चलाउनुपर्ने धारणा व्यक्त गरेका थिए ।

यस्तै कार्यक्रममा घाइते योद्धाहरुको तर्फबाट एवम पुर्व जनमुक्ति सेनाका कमान्डर निम बहादुर बुढाथोकीले जनयुद्ध गरेको पार्टी अहिले टुक्राटुक्रा भएर बिभाजित भएको देख्दा दुख लागेको बताए ।

उनले भने– ‘ महान जनयुद्धको नेतृत्व गरेको पार्टी अहिले आएर टुक्राटुक्रा भएको देख्दा मन खिन्न हुन्छ । सहिद परिवारहरु पनि बिभाजित भएर अभिनन्दित हुनुपरेको छ । सहिद परिवारको एउटै इच्छा छ एउटै मन्चबाट अभिवादन गर्न मन छ । एकताका लागि सहिद परिवारले नेतृत्वलाई सुझाब दिनुपर्छ । क्रान्तिकारी पार्टीमा लाग्दैमा क्रान्तिकारी भइदैन व्यवहारमा क्रान्तिकारी बन्नुपर्छ । सहिदहरुका सपना पूरा गर्न सहिद परिवारहरु पनि एकताबद्ध बन्न जरुरी छ ।’

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै एकीकृत जनक्रान्तिका सहिद महानकि पत्नी मालती सीले दस वर्षको जनयुद्ध देखि एकीकृत जनक्रान्तीसम्म आइपुग्दा थुप्रै लडाइहरु लडेपनी सहिदहरुका सपना पूरा नभएको जिकिर गरिन । उनले भनिन् ‘सहिद परिवार एकतावद्ध नहुदासम्म सहिदहरुका सपना पूरा हुदैनन् । सहिदलाई भुलेर परिवारहरु अन्य पार्टीमा पुग्नु दुखद हो । हामिले सहिदहरुको सपना भुलेर राजनीतिक आस्था त्याग्नु हुँदैन । केही निश्चित नेताहरुमा विचलन आयो भन्दैमा क्रान्ती रोकिदैन , सहिदहरुको सपना पूरा नहुदासम्म क्रान्ती अनिवार्य सर्त हो ।मृत्यु कस्तो हुनुपर्छ भन्ने मुख्य कुरा हो । हाम्रा आफन्तहरुले बलिदान गरेका हुन् त्यसको गहिरो महत्व छ ।’

यस्तै कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै युवा संगठन नेपालका केन्द्रीय सदस्य एवम राप्ती ब्युरो इन्चार्ज जिवनी सीले जन्मपछि मृत्यु अनिवार्य भएको भएपनी जनयुद्धमा सहिदहरुले गरेको बलिदानी ऐतिहासिक बलिदान भएको बताइन् ।

जनयुद्ध सम्झिदै उनले भनिन् ‘ हामी जनयुद्धमा अंगभंग भयौ, घाइते भयौं । हामिले संसदीय सत्तामा मोजमस्तीका लागि रगत बगाएका होइनौं तर बिडम्बना जनयुद्धका नाइके प्रचण्ड सत्तामा हुनुहुन्छ तर सहिदका  सपना पूरा भएका छैनन्। हामी सहिदका अधुरा सपनाहरु पूरा नहुदासम्म क्रान्ती गरिरहनेछौ त्यो हाम्रो मौलिक हक हो ।’

सहिद परिवार ,बेपत्ता परिवार तथा घाइते योद्धाहरु सम्मान एवम अभिनन्दन कार्यक्रमलाई बोल्दै युवा संगठन नेपालका महासचिव तिलक सीले सहिद परिवारमा आज थुप्रै खालका प्रश्नहरु भएको बताए ।

उनले भने ‘ जनयुद्धलाई प्रचण्ड- बाबुरामहरुले बिचबाटोमै अलपत्र पारेपछी सहिद परिवारमा थुप्रै प्रश्नहरु छन् । यो सम्मान कार्यक्रमलाई सामान्य ढंगले बुझ्नुहुदैन । सहिदहरुको बलिदान सामान्य मृत्युवरण होइन यो मानव समाजलाई समान बनाउनका लडिएको ऐतिहासिक युद्ध थियो । वर्गीय , जातीय , लैंगिक बिभेदका विरुद्धको बलिदान थियो ।’

हामिले कम्युनिस्ट संस्कृति अंगाल्नुपर्छ , नेता तिलकले थपे ‘ हामि अब सहिद परिवारले घरघरमा सहिदहरुलाई दिपावली सहित सम्झिनुपर्छ । सबैले घरघरमा सहिदहरुका फोटा टाँसेर माला अर्पण गर्नुपर्छ । जसले सुन्दर समाज निर्माणका लागि हासिहासी बलिदान गर्यो उसलाई सधै सम्झिरहनुपर्छ । मानव सभ्यतालाई समृद्धितिर लैजाने , जनताको सत्ता स्थापना गर्ने सहिदहरुका ती महान सपनाहरु पूरा गर्न प्रतिबद्ध छौँ ।’

संसदीय व्यवस्था लादिएपछि प्रचण्ड-बाबुरामहरुसंग बिद्रोह गरेका हौं , नेता तिलकले फेरि भने ‘हामी एकपटक लड्न चाहान्छौ । सहिदका सपना पूरा गर्न एकपटक लड्न चाहेका छौं तर लडाइ अब हिजोको जस्तो हुँदैन , हामी हिजो जस्तो लडाइ गर्दैनौं । हामी आफ्नै तरिकाले लड्छौ । सहिदका सपना पूरा नहुदासम्म सहिद , घाइते , बेपत्ताहरुका अधुरा सपना पूरा गर्न जुनसुकै मूल्य चुकाउन तयार छौँ । माओवादी आन्दोलन हराएको छैन , बिसर्जन भएको छैन त्यसको लिगेसी हामीसंग छ । माओवादी आन्दोलनलाई अपराधीकरण गर्नेलाई दण्डित गर्ने दिन आउँछ ।’

यस्तै कार्यक्रममा शुभकामना मन्तव्य दिदै नेकपा पश्चिम दाङका सेक्रेटरी निर्मल सीले सहिदहरुलाई ठूलो बलिदानबाट पनि जनताको सत्ता आउन नसक्नु दुखद विषय भएको बताए। उनले भने ‘जनयुद्धबाट  सोचेको सत्ता पाउन सकेनौं  हामी चिन्तित छौँ । चिन्ता मात्रै गरेर हुँदैन हामी त्यो सपना एकीकृत जनक्रान्ती मार्फत पूरा गर्ने अभियानमा छौँ । हामी बैज्ञानिक समाजवाद स्थापनाका लागि लडिरहेका छौँ । जनयुद्धको मुल नेतृत्वको कारणले हामी हाम्रो सत्ता स्थापना गर्ने कुरामा चुकेका हौं तर निराश हुनुपर्दैन हामी हाम्रो पार्टी र नेतृत्व निरन्तर लडिरहेका छौँ ।’

नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम् दाङका इन्चार्ज प्रदिप सीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पार्टीका पश्चिम दाङका सेक्रेटरी निर्मल सी , युवा संगठन नेपालका महासचिव तिलक सी , सहिद परिवार समाजका केन्द्रीय सदस्य धर्ती सी ,  अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका केन्द्रीय सदस्य बिजय सी , युवा संगठन नेपालका केन्द्रीय सदस्य जिवनी सी , एकीकृत जनक्रान्तिका सहिद महानका पत्नि मालती सी , नेकपा पश्चिम दाङका जिल्ला कमिटीका सदस्यहरु लगाएतको आतिथ्यता रहेको थियो ।

नेकपा पश्चिम दाङ जिल्ला कमिटी सदस्य अरुणा सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता पार्टीका तुलसीपुर नगर इन्चार्ज भुवन सीले गरेका थिए भने सहजीकरण गणतान्त्रिक खेलकुद महासंघका लुम्बिनी प्रदेश इन्चार्ज रुद्र सीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार