तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनमा समाजवादी मोर्चा भण्डारीको नेतृत्वमा चुनावमा जाने

डेली न्युजराप्ती       २१ बैशाख २०८१ २१:०० मा प्रकाशित     161 No Comments

हेमन्त प्रकाश वली ।

बैशाख २१ , तुलसीपुर । आसन्न बैशाख २९ गते हुने तुलसीपुर उधोग वाणिज्य संघको निर्वाचनमा समाजवादी मोर्चा नेपालले मिनराज भण्डारीको नेतृत्वमा चुनावमा जाने निर्णय गरेको छ ।

आज शुक्रबार मोर्चाका तुलसीपुर उपमहानगर समितिका संयोजक मोहन थापाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले आसन्न तुलसीपुर उधोग वाणिज्य संघको निर्वाचनको सन्दर्भमा मोर्चाको तर्फबाट तुलसीपुर उधोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मिनराज भण्डारीको नेतृत्वमा जाने सर्वसम्मत निर्णय गरिएको मोर्चाका संयोजक मोहन थापाले जानकारी दिए ।

साथै बैठकले सर्वपक्षीय रुपमा मिनराज भण्डारीको नेतृत्वमा अगाडि जाने संगै निर्वाचनमा पनि एकतावद्ध भएर अघि बढ्ने निर्णय गरिएको हो ।

बैठकले सर्वपक्षीय छलफलबाट मोर्चा सम्वद्ध दलबाट १/१ जना प्रतिनिधि रहने गरि सर्वपक्षीय वार्ता टोली निर्माण गर्ने निर्णय समेत गरिएको जानकारी प्राप्त भएको छ ।

समाजवादी मोर्चा , नेपालमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित नेकपा ( माओवादी केन्द्र ) , नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) र जनता समाजवादी पार्टी आवद्ध रहेका छन् ।

यता नेकपा एमालेले फेरि पनि वर्तमान अध्यक्ष रामप्रसाद चालिसेको नेतृत्वमा सर्बसम्मत रुपमा टिम बनाएर तुलसीपुर उधोग बाणिज्य संघको निर्बाचनमा सहभागि हुने निर्णय गरेको छ ।

बुधबार तुलसीपुर स्थित एमाले पार्टि कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको एमालेका नेता माधव वलीले जानकारि दिए ।

नेता वलीका अनुसार अरु पदमा भने आपसी सहमतिमा टुङ्गो लगाइने भएको छ ।

तुलसीपुरको उधोग वाणिज्य संघको निर्वाचनका लागि अहिले नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाएको छैन् भने बजारमा संघको नेतृत्वको लागि महासचिव विनिल केसी र उपाध्यक्ष ललितजंग शाहको नाम बढी चर्चामा छ ।

अबको एक दुई दिन भित्रै पार्टीबाट संघमा पठाउने उम्मेदवारको टुँगो लगाउने पक्षमा कांग्रेस रहेको बुझिएको छ ।

तुलसीपुरको उधोग वाणिज्य संघको निर्वाचन नजिकिदै जाँदा सर्वसम्मत नेतृत्व चयनको प्रयास स्वरुप र सबैलाई स्वीकार्य हुने साझा व्यक्तिको खोजीमा दलहरु कसरतमा जुटेका छन् । 

यता २९ गते हुने तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनको लागि बिहीबार मतदाता नामावली प्रकासन गरिएको छ ।

संघ भित्र नयाँ नेतृत्व चुन्नका लागि तीन हजार चार सय ७४ जना मतदाताको नाम प्रकासित गरिएको निर्वाचत समितिका संयोजक प्रबिण लम्सालले जानकारी दिए । सार्वजनिक निर्वाचत कार्यतालिका अनुसार मतदाताको अन्तिम नामाबली प्रकासन भने २२ गते दिउँसो ३ बजेलाई तोकिएको छ ।

त्यस्तै उम्मेदवारहरुको नामाबली प्रकासन २४ गते अपरान्ह साढे ५ बजेसम्म तोकिएको छ । उम्मेदवारहरुको अन्तिम नामाबली प्रकासन २६ गते बेलुका साढे ५ बजेलाई निर्धारण गरिएको छ ।तीन बर्षे कार्यकालका लागि बाणिज्य संघको नयाँ नेतृत्व चुन्न २९ गते बिहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

निर्वाचन समितिले मतदाताले संघले प्रदान गरेको मतदाता परिचय पत्र , त्यसबाहेक नागरिकता वा राष्ट्रिय परिचय पत्र ल्याउनु पर्ने नियम बनाएको छ ।

निर्वाचन लगतै मतगणना सुरु हुने र गणना सकिना साथ निर्वाचित उम्मेदवारको प्रतिफल प्रकासित गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार