रानिजरुवामा पानीको हाहाकार, कुवा सुक्न थालेपछी दैनिक जनजीवन कष्टकर बन्दै

डेली न्युजराप्ती       ३ असार २०८१ ११:२३ मा प्रकाशित     37 No Comments

असार २ , तुलसीपुर । तुलसीपुर -५ मा अवस्थित रानिजरुवाको बस्ती सुकुम्बासी , ऐलानी एवम अव्यवस्थित परिचयले चिनिन्छ ।
बसपार्कको आलुमन्डीदेखि उत्तरतिर फैलिएको यो बस्तीमा अधिकांश निम्न वर्गका मानिसहरुको बसोबास रहेको छ ।

रानिजरुवाका नागरिकले आफ्नो जीवन दिनभरी ज्याला मजदुरी गरि बाँचेका छन् भने कतिपयले सानो व्यापार व्यवसाय गरेर दैनिक गुजारा चलाउने गरेका छन् ।

यहाँ ठेलामा चटपटे व्यवसायदेखि गिट्टि कुट्ने , ज्याला मजदुरी लगाएत कठिन शारीरिक श्रमका काम गरि जीवन गुजारा गर्नेहरु धेरै छन् ।

यहीँ बस्तीमा यतिबेला पानीको हाहाकार परेको छ । ऐलानी बस्ती भएका कारणले शुद्ध पिउने पानीको हालसम्म पनि व्यवस्थापन भएको छैन् । तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले भर्खरै खानेपानीको पाइप लाइन विस्तार गरेको भएपनी बबई लिफ्टिङको पानी आउन अझै समय लाग्ने भएको छ ।

बिगत लामोसमयदेखि यहाँका बासिन्दाहरुले शुद्ध खानेपानी त पाएनन् तर अहिले यहाँका नागरिकलाई खाना पकाउने , लत्ताकपडा धुने लगाएत दैनिक जिवन चलाउने पानीको समेत हाहाकार भएको छ ।

दिनप्रतिदिन अत्याधिक गर्मी बढ्न थालेपछी जमिनमुनि खनेर बनाइएका कुवाहरु सुक्न थालेका छन् ।
स्थानीय बासिन्दाहरुका अनुसार ९०% कुवाहरु सुकिसकेका छ्न भने कुवाको विकल्प अरु केही नभएको बताएका छन् ।

रानिजरुवा स्थित प्रगतिशील टोलमा बसोबास गर्ने स्थानीय लोक बहादुर वलीले भने– ‘ यहाँका नागरिकले कुवा मात्रै खनेका छन् । कुवाको पानीले हालसम्म गुजारा चलाएका थियौं तर सुख्खा समयमा कुवा सुक्ने भएपछी कठिन बनिरहेको छ । कुवाको विकल्प ट्यांकी हुन सक्थ्यो तर ट्यांकी बनाईएको छैन् त्यसकारणले पनि झनै असहज भइरहेको छ ।’

यो भन्दा अघिल्ला वर्षहरुमा पनि पानी हाहाकार नमच्चिएको भन्ने होइन ।’, उनले थप भने , ‘ यो वर्ष अघिल्ला वर्षहरुभन्दा अत्याधिक गर्मी बढेपछी जनजीवन कष्टकर बनिरहेको छ । यहीँ अहिलेकै अवस्था अनुसार अझै गर्मी बढ्ने हो भने जनजीवन पुर्ण रुपले प्रभावित हुने देखिएको छ । नुहाउने , लत्ताकपडा धुने देखि सामान्य रुपमा प्रयोग हुने पानी समेत उपलब्ध हुन नसक्दा समस्या भएको छ ।’

यस्तै सोही ठाउँमा बसोबास गरि खाजा नास्ता पसल सञ्चालन गरिरहेका आकाश पुनले पनि खानेपानीको हाहाकार पहिलेदेखी भइरहेको र त्यसको चिन्ता सधै हुने गरेको भएपनी यो पटक अत्याधिक गर्मी बढ्नुले दैनिक जीवन समेत प्रभावित भएको बताए ।

उनले पानीको हाहाकारले व्यवसायमा समेत असर गरिरहेको भन्दै पानीको वैकल्पिक व्यवस्थापन गर्न स्थानीय सरकार एवम सरोकारवालाहरुको ध्यानाकर्षण समेत गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार