नेकपा महासचिव विप्लवद्वारा सुदर्शन र कञ्चनलाई पदमुक्त

डेली न्युजराप्ती       १४ बैशाख २०७९ १४:१४ मा प्रकाशित     481 No Comments

सुदर्शन र कञ्चनकै अराजकतावादी, अवसरवादी, विचलनवादी गतिविधिका कारण यो निर्णय लिनु पर्ने अवस्था सृजना भएको विप्लवको उद्घोष

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सुदर्शन र कञ्चनले गुटगत र अराजक गतिविधि गरेको भन्दै पदमुक्त गरेका छन् ।

आज एक वक्तव्य जारी गर्दै गल्तीहरुको प्रकृति हेर्दा उहाँहरु निकै पर पुगिसकेको, विभिन्न बैठक एवं भेला समेत गर्दै हिडेकाले पार्टी विधान अनुसार दुवै जनालाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराएका छन् ।

उनले भनेका छन्, `हामी पार्टीमा यस्तो नहोस् भन्ने चाहन्थ्यौं तर विभिन्न तत्वहरुको उक्साहट मुख्यत: सुदर्शन र कञ्चनकै अराजकतावादी, अवसरवादी, विचलनवादी गतिविधिका कारण यो निर्णय लिनु पर्ने अवस्था सृजना भएको छ ।´

महासचिव विप्लवले सबै पार्टी पंक्तिलाई बाह्राैँ पूर्ण बैठकका पारित प्रस्ताव र निर्णयहरुलाई रक्षा र कार्यन्वयन गर्दै निरन्तर अगाडि बढ्न विशेष अपिल समेत गरेका छन् ।

महासचिव विप्लवले वक्तव्यमा भनेका छन्,`हाम्रो जनप्रिय पार्टीको ऐतिहासिक बाह्राैँ पूर्ण बैठकले राजनैतिक प्रस्तावसहित सबै निर्णयहरु एकमतले गरेको थियो । चितवनमा आयोजित केन्द्रीय प्रशिक्षणले देशभरीको बुझाइलाई केन्द्रीत र एकरुप बनाइदिएको थियो । अपसोच सचिवालय सदस्य सुदर्शन र कञ्चनले त्यसपछि लगातार मालेमावादको सामान्य संगठनात्मक विधि एवं मान्यता एवं एकीकृत जनक्रान्तिको भावना विपरित बैठकका निर्णय र नेतृत्वका विरुद्ध पार्टी बाहिरका संचारमाध्यमहरुमा छाडा एवं अराजक तरिकाले अन्तवार्ता दिने, कार्यकर्तामाझ नाङ्गो गुटबन्दी गर्ने र पार्टीका सबै मूल्य मान्यता भत्काउने कार्य गर्नु भयो । काठमाडौंमा सचिवालयका कमरेडहरुबीच दुई पटक बसेर पार्टीका पारित निर्णयहरुको रक्षा गर्ने, आफ्ना कुनै विमति भए पार्टीभित्रै कमिटीमा राख्ने भन्ने निर्णय गरियो । तर निर्णय बाहिर नपुग्दै पुनः उहाँहरुले विरोधी संचारमाध्यममा फूटपरस्त एवं अराजक अन्तरवार्ता दिने कार्य जारी राख्नु भयो । तै पनि तत्कालको जटिल परिस्थितिमा पार्टी एकतामा बाधा नपरोस् भनेर नेतृत्वले संयमता अपनायो तर नेतृत्वको संयमता एवं उदारतालाई कमजोरीका रुपमा पकडेर आज सचिवालय सदस्य कञ्चनले कुनै सम्पर्क नै नगरी सचिवालयको सदस्यको नामबाट वक्तव्य जारी गर्दै पार्टीले स्थानीय चुनावमा पठाएका देशभक्त, जनवादी स्वतन्त्र उम्मेदवारहरुलाई सहयोग गर्नुको सट्टा चुनावबाट फिर्ता हुनु पर्ने नभए कारवाही गर्ने जस्ता हदै गैरजिम्मेवार एवं हास्यास्पद वक्तव्य निकालेपछि स्थिति एकदमै गम्भीर बन्न पुग्यो ।
सुदर्शन र कञ्चनले आफ्नो नमिलेको विषय स्थानीय चुनाव भएको बताए पनि यो निमित्त एवं बहानाको विषय मात्र हो । यो समस्याको चुरो कुरा प्रतिबन्ध भन्दा अगाडि मध्य कमाण्डमा हुँदा देखि नै क. सुदर्शनसँग संगठनात्मक एवं आर्थिक मामिलामा नमिलेका र संघर्ष भएका विषय थिए । सुदर्शन जेल हुँदा पनि उहाँ गिरफ्तार हुनुको मूल कारण पनि उहाँले नै पार्टीको सुझाव विपरित नजिक राखेका मान्छेले गर्दा हो भन्ने विषयमा गंभीर छलफल भए । त्यसैगरी कमरेड कञ्चनसँग पनि पार्टी संगठनका जिम्मेवारी, राजनैतिक कार्यनीतिका विषयमा गम्भीर छलफल चलेका थिए र केही विषयमा मेल खाएको थिएन । तर हाल आएर चुनावको विषय देखाएर पार्टी संसद्वादमा फसेको तर्क उराल्नु भएको छ । यो एकदमै गलत तर नियोजित प्रचार मात्र हो । चुनावकै कुरा गर्दा गएको असोज-कार्तिकमा सुदर्शनले नै रुकुम, दाङ, जाजारकोटका प्रशिक्षणहरुमा चुनाव कार्यनैतिक विषय भएकाले उपयोग पनि गर्न सकिने तर्कहरु राख्नु भएको थियो र जिल्लाका कमरेडहरुले प्रश्न समेत गर्नु भएको थियो । अनि कञ्चन कमरेडले नवौं पूर्ण बैठक देखि नै राष्ट्रपति प्रणालीको प्रस्ताव महासचिवले पेस गर्नु पर्ने धारणा राख्दै आउनु भएको थियो, जुन विषय कार्यनैतिक रुपले चुनावमा स्वतन्त्र उम्मेदवार पठाउने भन्दा पनि गलत हन्छ । उहाँहरुलाई सही लाग्दासम्म चुनाव र राष्ट्रपति संसदवादी नहुने क्रान्तिकारी हुने तर आफ्ना सोचहरु नमान्दा पार्टीले कार्यनीतिका रुपमा चुनावलाई ‘पार्टी दर्ता गरेर उपयोग नगर्ने तर एमसीसी तथा राष्ट्रघात विरोधी देशभक्त, जनवादी प्रतिनिधिहरुलाई सहभागी बनाउने र सहयोग गर्ने’ भन्दा संसदवादी हुने यो कुन मार्क्सवादको विश्लेषण हुन्छ ?
यो पुरै रकमी एवं अवसरवादी कुतर्क बाहेक केही हुँदैन ।

अर्को कुरा जब कुनै नेताले आफ्ना राजनैतिक दृष्टिकोण र व्यवहारिक गतिविधिहरु पार्टीका वैचारिक, राजनैतिक, आर्थिक एवं संगठनात्मक मान्यताहरुभन्दा उल्टो गर्दै जान्छ, आफ्नो गलत सोचहरु सार्वजनिक रुपले तथानाम राख्न थाल्छ, उसले औपचारिक घोषणा नगरे पनि सारतः पार्टी सम्बन्धबाट स्वतन्त्र भइसकेको हुन्छ । उसले केवल अलग हुने सहज बाटोको खोजी मात्र गरिरहेको हुन्छ । सचिवालय सदस्य सुदर्शन र कञ्चन यस्तै अवस्थामा पुग्नु भएको छ ।
सुदर्शन जी र कञ्चनजीले मच्चाएको वितण्डा एवं कञ्चनजीले अलग केन्द्रका रुपमा वक्तव्य निकालेपछि लगत्तै सचिवालयका कमरेडहरुसँग छलफल गरियो । सबैतिरका सुझाव एवं सुदर्शन र कञ्चनका गल्तीहरुको प्रकृति हेर्दा उहाँहरु निकै पर पुगिसकेको, विभिन्न बैठक एवं भेला समेत गर्दै हिडेकोले पार्टी विधान अनुसार दुवै जनालाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ ।
हामी पार्टीमा यस्तो नहोस भन्ने चाहन्थ्यौं तर विभिन्न तत्वहरुको उक्साहट मुख्यत: सुदर्शन र कञ्चनकै अराजकतावादी, अवसरवादी, विचलनवादी गतिविधिका कारण यो निर्णय लिनु पर्ने अवस्था सृजना भएको छ । तथापि हामी सबै पार्टी पंक्तिलाई बाह्रो पूर्ण बैठकका पारित प्रस्ताव र निर्णयहरुलाई रक्षा र कार्यन्वयन गर्दै निरन्तर अगाडि बढ्न विशेष अपिल गर्दछौं ।´

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार