भदौ ५ , दाङ ।
नेपाल कम्युनिस्ट पार्टीले हस्तक्षेपकारी अमेरिकी चलखेल विरुद्ध लुम्बिनी प्रदेशभरी बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।
बुधबार नेकपा लुम्बिनी प्रदेशको कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश अन्तर्गतका सबै जिल्लाहरुमा एमसिसी सम्झौता विरुद्ध बिरोध कार्यक्रमको आयोजना गरिएको थियो ।
नेकपाका स्थायी कमिटी सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज विषम सीले पार्टीले सुरुदेखि नै राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध संघर्ष चलाइरहेको बताउदै पछिल्लो समय एमसिसी संसदबाट लागू गर्ने सन्दर्भमा अमेरिकी सैन्य चलखेल छर्लङ्ग हुने गरि देखिएकाले पार्टीले एमसिसी परियोजनालाई कुनैपनी हालतमा रोक्ने उदेश्य सहित संघर्षलाई पुनः उठान गरेको बताउनुभएको हो ।
यस्तै पार्टीको लुम्बिनी प्रदेश कमिटीको निर्णय अनुसार तय गरिएको संघर्षको कार्यक्रमलाई प्रदेश अन्तर्गतका सबै जिल्लाले कार्यान्वयन गरेको नेता विषम सीले डेलीन्युजराप्तीलाई जानकारी दिनुभयो ।
यस्तै नेकपा दाङले पनि जिल्लाका तुलसीपुर , घोराही , भालुबाङ र गढवामा हस्तक्षेपकारी अमेरिकी चलखेल विरुद्ध बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।
नेकपा तुलसीपुर उपमहानगर समितिको आयोजनामा आयोजित बिरोध प्रदर्शन पछिको कोणसभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य प्रदिप सीले अमेरिकाले एमसिसी मार्फत यो मुलुकलाई बर्बाद बनाउन खोजेको स्पष्ट भएको ठोकुवा गर्नुभएको थियो ।
उहाँले भन्नुभयो – ‘ एमसिसी सम्झौता राष्ट्रघाती हो भन्ने कुरा पटकपटक पुष्ठि भइरहेको छ । हामिले पहिलेदेखी भन्दै आएका हौं कि यो सम्झौता देश र जनताको पक्षमा छैन । अमेरिकाले अहिले एमसिसीको नाममा हाम्रो देशका हवाई अड्डामा ठुलाठुला बिमानमा सैन्य खरखजना ओसारपसार गरिरहेको छ । नेपालको अहिलेको यो दलाल पुजीवादी संसदीय व्यवस्थाका चाटुकारहरुले अमेरिकाको गुलाम बन्दै बिना चेकजाँच अमेरिकन जहाँजमा आएका शंकास्पद सामानलाई निर्वाध अमेरिकी दूतावासमा प्रवेश गराइरहेका छन् । एमसिसी सम्झौता सहयोगको नाममा गुलियो बिष हो भन्ने कुरा प्रमाणित भएको छ । नेपाली जनताले एमसिसी सम्झौताको खारेजी चाहेका छन् , हामिले त्यसको अगुवाइ अन्तिमसम्म गर्छौं जबसम्म यो परियोजना पुर्ण रुपले खारेज हुदैन ।’
नेता प्रदिपले एमसिसी सम्झौता लागू गर्ने अमेरिकाले कुचेस्टा गरे नेपालमा नेकपाले भयानक प्रतिरोध गर्ने समेत बताउनुभएको हो ।
यस्तै बिरोध प्रदर्शन पछिको कोणसभालाई सम्बोधन गर्दै पार्टीका दाङ जिल्ला सेक्रेटरी तिलक सीले संसदीय व्यवस्थाका दलालहरुका कारणले वैदेशिक हस्तक्षेप बढेकाले नेपाली जनतालाइ समाजवाद प्राप्तिका लागि पार्टीले संगठित गरिरहेको बताउनुभएको हो ।
उहाँले नेपालको संसदीय सत्ताको संकट नेपाली बिशेषताको समाजवादले मात्रै हल गर्ने भएकाले पार्टीले समाजवादको प्रस्ताव सहित राजनितिक कार्यक्रम अघि बढाएको बताउनुभएको हो ।
बिरोध प्रदर्शन पछिको कोणसभाको सहजीकरण नेकपा दाङका कार्यालय सदस्य एवम तुलसीपुर उपमहानगर कमिटीका सेक्रेटरी रुद्र सीले गर्नुभएको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.