दाङ, २६ पुस ।
दाङको तुलसीपुरमा बृहत सिकाई मेला हुने भएको छ । बालबालिका र युवाहरूलाई गुणस्तरीय शिक्षामा पहुँच प्रदान गर्न र स्थानीय शैक्षिक विकासको सम्भावनाहरू पहिचान गर्न बृहत सिकाई मेला हुने भएको हो ।
तुलसीपुर–१ भ्यूडहर सुनुपुरमा रहेको बीरेन्द्र माध्यमिक विद्यालयमा आउँदो आइतबार (पुस २८ गते ) ‘तुलसीपुर बृहत सिकाई मेला’ हुन लागेको हो । विद्यालयका प्रधानाध्यापक टोप बहादुर घर्तीले तुलसीपुर उपमहानगरपालिकाको सहयोग र सहकार्यमा तुलसीपुर बृहत सिकाई मेला गर्न लागिएको बताउनुभयो ।
उहाँका अनुसार सिकाई मेलाको तयारी तिब्र पारिएको छ । सिकाई मेलामा तुलसीपुरका सामुदायिक तथा संस्थागत सबै विद्यालयले सहभागिता जनाउने उहाँले बताउनुभयो ।
सिकाई मेलामा नविनतम प्रविधिको प्रर्दशनी, बालबालिका र परिवारमैत्री गतिविधि, स्थानीय कला, संगित र नृत्य प्रदर्शन, घरेलु तथा हस्तकलाका सामग्रिको प्रदर्शनी, चित्रकला र रंगकला, जलचक्र, सौर्य उर्जाको प्रयोग र पर्यावरणीय संरचनाको प्रदर्शनी लगायत विभिन्न अन्तक्रियात्मक तथा साँस्कृतिक कार्यक्रमहरु हुनेछन् ।
प्रधानाध्यापक घर्तीले शैक्षिक सामग्रि प्रदर्शन र ज्ञान सिप हासिल गर्न शैक्षिक सरोकारवाला लगायत सम्पूर्णमा उपस्थितिका लागि अनुरोध समेत गर्नुभएको छ । सिकाई मेलामा वरिष्ठ पत्रकार टिकाराम यात्री प्रमुख वक्ताको रुपमा आउने विद्यालयले जनाएको छ ।
–इतुलसिपुरबाट
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.