धनगढी ।नेकपा एमाले केन्द्रिय समिति सदस्य प्रेम शाहले पार्टीमा तानाशाही प्रवृत्ति हाबी भएकोले आफूले एमाले परित्याग गरेको घोषणा गरेका छन् ।एमाले छोडेर बिप्लव नेतृत्वको नेकपामा समाहित भएपछि मङ्गलबार धनगढीमा सञ्चारकर्मीसङ्ग प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
दिपायल सिलगढी नगरपालिका वडा न ४ निवासी ६६ बर्षिय शाहले २०७९को निर्वाचन देखि नै आफू एमालेबाट अलग भएर स्वतन्त्र वामपन्थीको रूपमा रहेको समेत बताए ।
“एमालेमा तानाशाही प्रवृति हाबी हुँदै गयो, यसले इमानदार नेताकार्यकर्ता पाखा लाग्ने र दलाली र चाकरी गर्नेहरू मात्रै टिक्ने अवस्था बन्यो”- कुराकानीको क्रममा शाहले भने-” हुन त एमाले पटकपटक सरकारमा गयो, तर पार्टीले भन्दै आएको आर्थिक, सामाजिक र राजनीतिक एजेन्डाहरुलाई कहिल्यै कार्यान्वयन गरेन, खाली मनमोहन अधिकारी नेतृत्वको ९ महिने सरकारले गरेका कार्यक्रममको मात्रै चर्चा गर्यो, त्यसैले मैले एमाले त्यागेको हु।”
कुराकानीको क्रममा उनले विप्लव अबको बैकल्पिक नेतृत्व र आशा गर्ने शक्ति भएको भन्दै नेकपाले लिएको उत्पादन सम्बन्धि नीति, पार्टीको बर्ग पक्षधरता, देशभक्ति र कम्युनिस्ट चरित्रबाट प्रभावित भएको बताए।
काङ्ग्रेस, एमाले र माओवादी केन्द्र लगायत प्रमुख तीन ठुला पार्टीहरुले बारम्बार नागरिकलाई भोट बैंक मात्रै बनाउने गरेकोले जनताको अधिकार र सामाजिक न्यायको लागि इमानदारीतापूर्वक काम गर्ने कम्युनिस्ट पार्टी र नेता देशको बर्तमान आवश्यकता भएको उनको भनाइ थियो।
बिगत लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा काम गरेका शाह २०५४ मा दिपायल सिलगढी नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित उपमेयर थिए भने हाल दिपायल उच्च अदालत बार एशोसियसनको उपाध्यक्ष समेत हुन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.