नयाँ कम्युनिस्ट जाति ‘सी’बारे विमर्श:वक्ताहरुले भने‘यसमा विज्ञान,मानवता र समानता छ’

डेली न्युजराप्ती       ६ जेष्ठ २०८२ १९:१० मा प्रकाशित     338 No Comments

हेमन्तप्रकाश वली ।
जेठ ५,दाङ ।
आजभोलि थुप्रै नेपाली सामाजिक संजाल फेसबुक प्रयोगकर्ताको नामको पछाडी C वा सी लेखेको देखिने गर्दछ ।
नामको पछाडी नेपाली मान्यतामा जात हुने गर्दछ तर C वा सी हालसम्मको कुनैपनि परम्परागत , चलनचल्तीको जाती भने होइन् । यो विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रस्ताव गरेको नयाँ कम्युनिस्ट जाती ‘सी’ हो ।

नेकपाका अनुसार अङ्ग्रेजीमा C र नेपालीमा दिर्घ ‘सी’लेखिने यो जातिको अर्थ कम्युनिस्ट , समान , साम्य अथवा समजाति हो ।
कम्युनिस्टहरुको अन्तर्राष्ट्रिय गितमा भनेझैं ‘मानिसको अन्तर्राष्ट्रिय जाती हुनेछ’ विप्लवले संसारभरिका मानिसलाई एउटै डोरिमा बाँध्न खोजेको देखिएको छ ।

सोमबार दाङको घोराहीमा यहीँ नयाँ जाती ‘सी’को बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट समाजवादी मगर मुक्ती मोर्चा नेपाल केन्द्रीय समितिको आयोजनामा भएको हो ।

जातीय मुक्ती तथा सी जातिको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सी जातिमा विज्ञान , मानवता र समानता रहेको जिकिर गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेकपाका स्थायी कमिटी सदस्य सन्तोष सीले भने– ‘अब मान्छेको एउटै जाती हुनेछ त्यो भनेको सी हो अर्थात कम्युनिस्ट जाती हो । सी जातिको प्रस्ताव नवौं महाधिवेशनबाट भएको हो । संसारका कम्युनिस्टहरुले हल नगरेको एउटा विषय जातिको पनि , जो हाम्रो पार्टीले अहिले गरेको छ ।नयाँ चिजको विकास गर्दा सामान्य आलोचना हुन सक्दछन् , हामी त्यही सुझाव , आलोचना लिन आएका हौं । सी जातिको विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनका लागि एउटा ऐतिहासिक कदम हो ।’

नेता विषम सीले पार्टीले दर्शन , अर्थतन्त्र तथा संस्कृति सम्बन्धिको विचारमा थप नयाँ विकास गर्दै कम्युनिस्ट आन्दोलनको नेतृत्व गरिरहेको बताए ।

अन्तरक्रियामा सहभागीहरु ।

यस्तै अन्तरक्रियामा प्रस्तुत अवधारणापत्रमाथी टिप्पणी राख्दै महेन्द्र बहुमुखी क्याम्पसका उप-प्राध्यापक केवी चौधरीले उत्पीडित जातिको मुक्तिका लागि ज्ञान , श्रम र सिपद्वारा हल गर्नुपर्ने बताए ।
उनले आफू थारु समुदायबाट प्रतिनिधित्व गर्ने भएकाले प्रत्येक जातजाति , जनजाती , समुदायका आ-आफ्ना विशेषताहरुको ख्याल गरि जातिको विकल्प दिन सुझाव दिएका थिए ।

कार्यक्रममा सहभागी अर्का टिप्पणीकार काँग्रेस निकट नेपाल दलित संघका केन्द्रीय सदस्य जयमन नेपालीले
शाषकहरुले शोषण र दमनका लागि बनाएको बताए । उनले भने– ‘नेपालमा विभेद , छुवाछूत कायम छ । जातव्यवस्था कुनैपनी हालतमा स्विकार गर्दैनौं । हामी जात र धर्मको आधारमा उत्पीडनमा पर्न चाहेका छैनौं । नेकपाले विकास गरेको सी जातिमा विज्ञान , मानवता र समानता छ । सी जातिले सबै जाती , समुदायको मुक्तिको नेतृत्व गर्नेछ । महिला , दलित , जनजातीहरु माथि हुने उत्पीडन, हिंसा रोक्नुपर्दछ । शोषण र दमनका लागि बनाइएको जातव्यवस्थाका विरुद्ध अधिकारकर्मी एकतावद्ध हुनुपर्दछ ।’

‘जातीय मुक्तिका लागि शसक्त संगठन र नेतृत्व विकास गर्नुपर्दछ । सी जाती समानताको अभियान हो भन्ने बुझेको छु , टिप्पणीकार एवम नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष दलजित रोकामगरले भने ।’

यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रीयासनले सीप , श्रम र शिक्षासंग जोड्न् सकेमात्र जातीय मुक्ती सम्भव भएको बताए ।

पत्रकार प्रीयासनले भने– ‘भासन गर्दैमा जातीय मुक्ती हुदैन् , यो दलितको कुरा मात्रै होइन् समाजको गतिसंग दौड्न नसकेका ब्राह्मणको कुरा पनि हो । यो पार्टीले उत्पादनबाट नेतृत्व गर्नेगरी अभियान चलाएको कुरा महत्वपूर्ण छ । नेपाललाई समृद्धितिर , मुलुकलाई उत्पादनतिर जोडेर देशको नेतृत्व गर्न सके नेकपाले सी लेख भन्नैपर्दैन , प्रत्येक नेपालीले आँफै सी लेख्नेछन । उधममा आधारित अर्थतन्त्रमा रुपान्तरण नगर्दासम्म मुलुक बन्नै सक्दैन् । लामो समयसम्म मुलुक र जनतालाई शोषण गर्ने प्रवृत्तिका विरुद्ध लडाइँ अझै जरुरी छ । सी जातिको अन्वेषण सांस्कृतिक रुपान्तरणको मियो बन्न सक्दछ ।’

यस्तै अर्का टिप्पणीकार तथा वामपंथी विश्लेषक एवम पत्रकार शुसिल गौतमले विगतमा कविता र कला मार्फत जातीय विभेदका विरुद्ध लडेको स्मरण गरे ।
उनले भने– ‘जातीय पहिचानले वर्गसंघर्षलाई कमजोर बनाउछ । सी जातिको कुरामा सहमत छु तर यसलाई वर्गसंग जोड्नुपर्छ । जातभित्र वर्ग नै प्रधान हो । कम्युनिस्टहरुले हल गर्नुपर्ने पहिलो कुरा वर्गको हो । वर्गीय मुक्ती बिना जातीय मुक्तीको सम्भावना छैन् । सी जाति विप्लवले ल्याएको नयाँ थट हो , नयाँ पहल र विकास गर्न खोज्नु सकारात्मक कुरा हो ।’

यस्तै कार्यक्रममा मन्तव्य व्यक्त गर्दै माओवादी केन्द्रका जिल्ला अध्यक्ष वरुणले एकीकृत जनक्रान्ति सम्पन्न भएमात्र जातीय मुक्ती र सी जाती सम्भव हुने विश्वास व्यक्त गरेका हुन् ।

उनले भने– ‘अहिले भर्खर सी मात्रै लेखेर हुँदैन , यसलाई बदल्न एकीकृत क्रान्ति अनिवार्य हो । प्रगतिशील , वामपंथी , कम्युनिस्टहरु एकतावद्ध भएर सी जातिलाई सम्भव बनाउन सकिन्छ तर अहिले नेकपाले आफ्नो मातहत एवम आम कार्यकर्ता पंक्तिमा प्रयोग गरिरहेको छ , जुन कुरा संस्कार हो । मालेमावादमा थप विकासको आवश्यकता छ तर अहिलेको समग्र विषयलाई हल गर्ने भनेकै एकीकृत क्रान्ति नै हो ।’

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य सविन सीले महान विचार तथा उपलब्धिहरुका लागि जोखिम मोल्न तयार रहनुपर्ने बताए ।

उनले भने– ‘नयाँ कुराको अन्वेषण जो कोहिले गर्न सक्दैन । नयाँ खोज , अनुसन्धान र प्रयोगका लागि ठुलाठुला जोखिम मोल्नुपर्छ । सी जातिको अन्वेषण गर्नु भनेको विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनमा योगदान गर्नु हो । हामिले नयाँको खोजी नगर्दासम्म सपनाहरु जिवित हुदैनन् । धर्म र जातको कभरमा शोषण गर्ने व्यवस्था र जातव्यवस्थाको विकल्पमा सी जातिको अध्ययन अघि बढाएका हौं ।’

कार्यक्रममा नेकपाका पिबिएम सञ्जीव सीले पार्टीले दर्शनमा अनिश्चयको सिद्धान्त , अर्थराजनितिमा एकीकृत स्वामित्व तथा संस्कृतिमा सी संस्कारको नयाँ खोज प्रतिवादन गरेको उद्घोष गरे ।

‘नयाँ कुरा उठान गर्दा मृत्युुदण्ड , निर्वासन बस्नुपरेको इतिहास छ । सी जाती नयाँ खोज हो । यसमा आलोचना , समर्थन , बिरोध हुन सक्दछन् तर सत्य कुरा सधै बोलिरहनुपर्दछ । संसारभरिका मानिसहरुको एउटै जाती बनाउने यात्रा सामान्य होइन् तर यो सत्य बाटो हो ।
नयाँ-नयाँ खोजी र अनुसन्धान नगर्ने हो भने मुलुकलाई समृद्धितिर लग्न सकिदैन ।’

कार्यक्रममा कार्यपत्र प्रस्तुत समाजवादी मगर मुक्ती मोर्चा नेपालका नेता सुदर्शन मंगोल सीले गरेका थिए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरु प्रदिप सी , पाटन सी , तिलक सी , असिना सी तथा जनवर्गीय संघ/संगठनका प्रमुख एवम प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सहजीकरण समाजवादी मगर मुक्ती मोर्चा नेपालका सम्मेलन आयोजक समितिका सदस्य एनार्जन सीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार