दाङमा एमसीसी परियोजना विरुद्ध कालोपट्टी बाँधेर बिरोध प्रदर्शन

डेली न्युजराप्ती       ३१ श्रावण २०८२ १४:२९ मा प्रकाशित     636 No Comments

हेमन्तप्रकाश वली ।
साउन ३०,तुलसीपुर ।
दाङमा अमेरिकी परियोजना(एमसीसी) विरुद्ध कालोपट्टी बाँधेर बिरोध कार्यक्रम गरिएको छ ।
शुक्रबार नेपाल कम्युनिस्ट पार्टी दाङको आयोजनामा घोराहीको तुलसीपुर चोकमा एमसीसी परियोजना पुनः सक्रिय बनाउने षड्यन्त्रको बिरोधमा कार्यक्रम गरिएको हो ।

बिरोधपछिको कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सीले अमेरिकाले ललिपप देखाएर नेपालको सामरिक महत्वको भूगोल कब्जा गर्न एमसीसी लाद्न खोजेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘अमेरिका र नेपालका दलालहरुले यो परियोजनालाई विकासे नाम दिएका छन् । तर यो नेपाली दलाल सत्ताका मतियारलाई देखाइएको ललिपप हो । यो भित्र अमेरिकाको सैन्य रणनीति छ । एमसीसी सम्झौता मुलुकको सार्वभौम सत्ता र स्वाधीनताको विरुद्ध छ । नेपालको संविधान भन्दा माथि रहने परियोजनाका विरुद्ध हामि लडिरहन्छौँ । एमसीसी परियोजनालाई संविधानभन्दा माथि राखेर लागु गर्न खोज्नु यो देशका दलालहरु र अमेरिकी साम्राज्यवादका लागि अभिसाप हुनेछ , देशभक्त नेपालीहरु चुपचाप सहेर बस्नेवाला छैनन् ।’

यस्तै नेता सविन सीले अमेरिकी अत्याधुनिक हतियारको डर , धम्कीमा स्वाभिमानी नेपाली जनता अमेरिकाको दास नबन्ने बताउनुभएको हो ।
उहाँले अमेरिका र यहाँको प्रतिक्रियावादी सत्ताले जबर्जस्त एमसीसी लाद्न खोजे जनताले आफुसंग जे छ त्यसैलाई हतियार बनाएर लड्ने जिकिर गर्नुभयो ।

नेता सविनले एक अर्को प्रसंगमा किसानलाइ सहज ढंगले रासायनिक मल उपलब्ध गराउन सरकारसंग माग गर्नुभयो ।
कालोबजारी र बिचौलियाले मलको कृतिम अभाव सिर्जना गरेर सेटिङमा मल वितरण भइरहेको पार्टीलाई सुचना आएकाले सम्बन्धित पक्ष जिम्मेवार नबने कारबाही गर्ने चेतावनी समेत दिनुभयो ।

कार्यक्रममा नेकपा जिन्दावाद , एमसीसी परियोजना खारेज गर , एकीकृत जनक्रान्ति जिन्दावाद , दलाल पुजीवाद मुर्दावाद , अमेरिकि हस्तक्षेप बन्द गर , रिजेक्ट एमसीसी , गो ब्याक अमेरिका , नेपाली विशेषताको समाजवाद जिन्दावाद लगाएतका नाराहरु लगाइएको थियो ।

कोणसभाको सहजीकरण पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला सचिव तिलक सीले गर्नुभएको थियो ।

यता शुक्रबार नै नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्ला प्रशासन कार्यालयमा एमसीसी परियोजना पुनः सुचारु गर्न लागिएको भन्दै बिरोध पत्र पेश गरेको जानकारी दिएको छ ।
नेकपाका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सी , पार्टीका केन्द्रीय सदस्य विक्रम सी , पाटन सी , तिलक सी , प्रदिप सी लगाएतको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बुढालाई बिरोध पत्र पेश गरेको हो ।

बिरोध पत्रमा एमसीसी परियोजना मुलुकको सार्वभौम सत्ता र राष्ट्रिय स्वाधीनताको विरुद्धमा रहेको राष्ट्रघाति सम्झौता खारेज गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार