स्वतन्त्र उम्मेदवारको ‘आक्रामक प्रचार’

डेली न्युजराप्ती       २३ बैशाख २०७९ १८:०१ मा प्रकाशित     305 No Comments

जीतसागर जी.एम.
दाङ, २३ बैशाख ।
स्थानीय तह निर्वाचनको आउन एक सातामात्रै बाँकी छ । मिति नजिकिदै जाँदा उम्मेदवारलाई मतदाता भेटघाटकै चटारो छ । दाङमा ५२० पदका लागि २ हजार २ सय २ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । पालिकाको प्रमुख÷अध्यक्ष वा उपप्रमुख÷उपाध्यक्षदेखि वडा अध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिनमा अधिकांस दलबाट उम्मेदवारी दिएका छन् भने केही व्यक्तिले पदमा स्वतन्त्रबाट चुनावी मैदानमा छन् ।

दल तथा उम्मेदवारले चुनावी मत परिणाम आफ्नो पक्षमा पार्नका लागि घरदैलो तथा मतदाता भेटघाट तिब्र बनाउँदै गर्दा स्वतन्त्रबाट निर्वाचनमा होमिएका उम्मेदवारहरूको प्रचार–प्रचार अभियानलाई तिब्र पारेका छन् । स्वतन्त्र उम्मेदवारले आक्रामक रूपमा प्रचार गरिरहदा दलका उम्मेदवारलाई धक्का लाग्ने देखिएको छ । कतिपय उम्मेदवारको निर्णायक मत स्वतन्त्र उम्मेदवारले लैजादा चुनावी नतिजा सोचेभन्दा देखिन्छ ।

दलका उम्मेदवारभन्दा आकर्षक एजेण्डा लिएर स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । स्वतन्त्र उम्मेदवारले भ्रष्टाचार नियन्त्रणदेखि सेवा सुविधा नलिने घोषणासहित मतदाताको घरदैलोमा पुग्दै गर्दा दलका उम्मेदवारलाई पनि नैतिक संकट परेको छ । स्वतन्त्र उम्मेदवारहरूले आक्रमक प्रचार शैलीदेखि रक्षात्मक मुद्दाहरू अघि सारेको देखिन्छ । उनीहरूको प्रचारको शैली गठबन्धन, एमाले र अन्य दलमा उम्मेदवारको भन्दा फरक र भिन्दै पनि छ । जनताको विषयवस्तु छुने गरी स्वतन्त्र उम्मेदवारहरूले एजेण्डा प्रस्तुत गर्दै आएका छन् ।

तुलसीपुर उपमहानगर–पालिकाको उपमेयरका लागि स्वतन्त्रबाट उम्मेदवारी दिएका खेमराज वलीले नगरभित्रको नीतिगत भ्रष्टाचारको अन्त्यका लागि आफूले उपमेयरमा उम्मेदवारी दिएको बताए । ‘मेरो पहिलो प्राथमिकता भनेको सुशासन नै हो’ उनले भने–‘नीतिगत रूपमा हुने भ्रष्टाचारको अन्त्य पछिमात्रै तिब्र विकास सम्भव छ’ उनले उपमेयरमा आउने अवसर प्राप्त गरेपछि कुनै सेवा सुविधा नलिएर काम गर्ने प्रतिवद्धतासहित मतदातामाझ पुगेका छन् । सेवा सुविधा नलिने बताएपछि पार्टीबाट चुनावी मैदानमा रहने उम्मेदवारलाई सकस पर्ने देखिएको छ । पार्टीका उम्मेदवारजस्तै उनको पनि चुनावी प्रचार–प्रचार तिब्र बनेको छ ।

तुलसीपुर उपमहानगर–पालिकामा स्वतन्त्रबाट उपमेयरका लागि वलीसहित दुईजनाले उम्मेदवारी दिएका छन् । तुलसीपुरमा प्रमुखका लागि स्वतन्त्र उम्मेदवार छैनन् । घोराहीमा चूडामणि सुवेदी र लिलाबहादुर पुन प्रमुखका लागि स्वतन्त्रबाट प्रतिस्पर्धामा रहेका छन् । स्वतन्त्रबाट उपप्रमुख पदमा बसन्ता कुमारी भट्टराई प्रतिस्पर्धामा रहेकी छन् । गढवामा गिरीराज बिसी र गणेश कुमार कुमाल अध्यक्षका लागि स्वतन्त्रबाट प्रतिस्पर्धामा रहेका छन् । उपाध्यक्षका लागि गढवामा चन्द्रबहादुर खत्री स्वतन्त्रबाट चुनावी मैदानमा छन् ।

दंगीशरण गाउँपालिकाको अध्यक्षका लागि स्वतन्त्रबाट घनश्याम शाह र आशा केसी प्रतिस्पर्धामा छन् । उपाध्यक्षका लागि दंगीशरणमा स्वतन्त्र उम्मेदवार छैनन् । यस्तै बंगलाचुलीमा पनि अध्यक्ष र उपाध्यक्षका लागि स्वतन्त्रबाट उम्मेदवार छैनन् । बबईमा स्वतन्त्रबाट अध्यक्षका लागि एक र उपाध्यक्षका लागि एकजना प्रतिस्पर्धामा रहेका छन् । स्वतन्त्रबाट अध्यक्षका लागि भक्तबहादुर डाँगी र उपाध्यक्षका लागि स्वतन्त्रबाट शारदा कुमारी शाह चुनावी मैदानमा छन् । राजपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षका लागि स्वतन्त्र उम्मेदवार छैनन् ।

राप्ती गाउँपालिकाको अध्यक्षका लागि स्वतन्त्रबाट रमेश चौधरी र बुद्धिप्रकाश चौधरी रहेका छन् । दुवैजनाले काँग्रेसबाट बागी उम्मेदवारी दिएका छन् । पार्टी निकटका नेताले दुवैजनाको बागी उम्मेदवारीले पार्टीबाट उम्मेदवारी दिएका उम्मेदवारको मत काट्ने बताएका छन् । ‘दुईजनामध्ये बुद्धिप्रकाशको मत बढी आउने देखिन्छ, त्यसले गर्दा आधिकारिक उम्मेदवारलाई असर गर्ने देखिन्छ ।’ एक नेताले भने– ‘पाटीमा मिलाउनु पथ्र्यो, बुद्धि प्रकाश सहिद परिवार भएको हुँदा पनि पार्टीले मिलाएर लैजानुपथ्र्यो । तत्कालीन दश वर्षे युद्धको समयमा २०५८ सालमा तत्कालीन विद्रोही नेकपा माओवादीले उनको बुबालाई हत्या गरेको थियो ।’

राप्ती गाउँपालिकाको उपाध्यक्षका लागि स्वतन्त्रबाट उम्मेदवार छैनन् । यस्तै लमही नगरपालिकामा प्रमुखका लागि एकजना स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । लमही नगरपालिकामा प्रमुखका लागि डिल्लीराज खनाल स्वतन्त्रबाट चुनावी मैदानमा छन् । शान्तिनगरमा अध्यक्षका लागि स्वतन्त्रबाट धनवीर केसी प्रतिस्पर्धामा छन् । शान्तिनगरमा उपाध्यक्षका लागि स्वतन्त्रबाट उम्मेदवार छैनन् ।

तुलसीपुर उपमहानगर–पालिकाका वडामा पनि गठबन्धन दलभित्रैबाट बागी उम्मेदवारीले गठबन्धनको पक्षमा आउने मतलाई काट्ने देखिएको छ । तुलसीपुरका १९ वडामध्ये १, ३, ६, ९, १०, १३, १४ मा वडा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवार छैनन् । अरू बाँकी वडामा स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् ।

तुलसीपुरमा सत्ता गठबन्धन दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेर गएपनि तुलसीपुर–२ मा नेकपा एसले बागि तिलकबहादुर केसीलाई बागी उम्मेदवारी उठाएको छ । बागी उम्मेदवारी उठाएको छ । तुलसीपुर–४ मा पनि नेकपा एसले बस्नेतलाई बागी उम्मेदवारी उठाएको छ । यस्तै वडा नम्बर ५ मा प्रेमबहादुर बाँठा स्वतन्त्रबाट वडा अध्यक्षका लागि चुनावी प्रतिस्पर्धामा छन् ।

यस्तै वडा नम्बर ७ मा गठबन्धनका उम्मेदवारविरूद्ध नेकपा माओवादी केन्द्रका साउने चौधरी स्वतन्त्रबाट चुनावी प्रतिस्पर्धामा छन् । भिमबहादुर डाँगी पनि स्वतन्त्रबाट वडा अध्यक्षका लागि चुनावी मैदानमा छन् । वडा नम्बर ८ मा ओपेन्द्र दाहाल स्वतन्त्रबाट चुनावी मैदानमा छन् । वडा नम्बर ११ मा स्वतन्त्रबाट अर्जुन केसी वडा अध्यक्षका लागि चुनावी प्रतिस्पर्धामा छन् । वडा नम्बर १२ मा कुलबहादुर वली र वडा नम्बर १५ मा सुन्दर विक स्वतन्त्रबाट चुनावी मैदानमा छन् । वडा नम्बर १६ मा चारजना स्वतन्त्र उमेदवार वडा अध्यक्ष लागि चुनावी प्रतिस्पर्धामा रहेका छन् । तर चारैजना बागी उम्मेदवार हुन् । पदमबहादुर केसी एमालेबाट टिकट नपाएपछि स्वतन्त्रबाट प्रतिस्पर्धामा छन् ।
साभार:प्रदेशटुडेबाट…

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार