दिवंगत आमा मोति वलीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम

डेली न्युजराप्ती       ४ कार्तिक २०८२ १३:५८ मा प्रकाशित     463 No Comments

हेमन्तप्रकाश वली ।
कार्तिक ३,तुलसीपुर ।
दिवंगत आमा मोति वलीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ ।
सोमबार नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर नगर समितिको आयोजनामा कार्यक्रममा सम्पन्न गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य शितल सीले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै दिवंगत आमाप्रति पार्टीको तर्फबाट भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन , आफन्तज , इष्टमित्रहरुमा गहिरो समवेदना व्यक्त गर्नुभएको थियो ।

शोक मनाउने कुरालाई धर्मको बन्धनमा बाँधिएको छ , उहाँले भन्नुभयो – ‘संस्कार र संस्कृतिलाई धर्मबाट अलग गर्नुपर्दछ । मृत्यु संस्कारलाई सहज ,सरल र वैज्ञानिक बनाउँदै जानुपर्छ ।’

नेता शितल सीले मृत्यु संस्कारको इतिहासमा १३ वर्षसम्म शोक मनाउने चलन रुपान्तरण हुँदैहुँदै यहाँसम्म आएकाले यसलाइ अझैँ सरल र सहज बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
उहाँले नेकपाले मृत्यु संस्कारलाई ५ दिनसम्म मनाउने निर्णय गर्दै लागु गरिरहेको बताउनुभएको हो ।

उहाँका अनुसार सी संस्कृति अनुसार मृत्यु संस्कारको पहिलो दिन पार्थिव शरीरको अन्त्येष्टि गर्ने , दोस्रो दिन त्रीरोपण(फल,फुल र जडिबुटी)का बिरुवा गर्ने , तेस्रो दिन समाजका गरिब , असहाय र अशक्तलाई खाद्यान्न , लत्ताकपडा वितरण गर्ने , चौथो दिन मृतकको स्मृतिमा अक्षयकोष स्थापना गर्ने र पाँचौ दिन श्रद्धाञ्जली कार्यक्रम गर्ने निति रहेको बताउनुभएको हो ।

कार्यक्रममा श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सविन सीले दिवंगत आमाले राणा शासनदेखि जेन-जी बिद्रोहसम्म भोगेर लामो जिवन बाँच्नुभएकि आमा मोति वलीबाट समाजले थुप्रै सकारात्मक योगदान ग्रहण गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘मान्छे अमर कोहिपनि हुँदैन , जन्मेपछि मर्नुपर्दछ । तर मृत्यु संस्कारलाई बोझिलो र झण्झटिलो बनाउनु हुँदैन । मान्छेलाई बाँच्दासम्म अपमान , हेला गर्ने र दिवंगत भइसकेपछि खिर खुवाएर स्वर्ग र नर्कको आवरणमा ढोङ गर्नुको कुनै तुक हुँदैन । त्यसैले अहिले हाम्रो पार्टीले मृत्यु संस्कारलाई ५ दिनसम्म मनाउने निर्णय गरेको छ । हामिले सी जाति र त्यसको आँफनै संस्कार बनाएका छौँ । नेपाली समाजमा यो बहसको विषय बनेको छ ।’

नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य शितल सीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सी , केन्द्रीय सदस्य एवम जिल्ला सेक्रेटरी तिलक सी , पार्टीका केन्द्रीय सदस्य एवम तुलसीपुर नगर इन्चार्ज प्रदिप सी , पार्टीका केन्द्रीय सदस्य निर्मल सी , विकाश सी , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य धर्ती सी , नेकपा (माओवादी केन्द्र)का प्रतिनिधि दुर्गा बहादुर विक , नेपाली काँग्रेसका वडा सभापति पद्म वली लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा माओवादी केन्द्रका प्रतिनिधि दुर्गा बहादुर विक , परिवारको तर्फबाट दिवंगत आमाका जेष्ठ सुपुत्र खड्ग बहादुर सी , नेपाली काँग्रेसका वडा सभापति पद्म वलीले समेत श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो।

दिवंगत आमा मोति वलीका ३ छोरा र दुई छोरी छन् ।
उहाँका जेष्ठ सुपुत्र खड्ग बहादुर सी नेपाल कम्युनिस्ट पार्टीका दाङ जिल्ला सचिवालय सदस्य हुनुहुन्छ । साथै माईला छोरा महावीर सी वडा कमिटी सदस्य र कान्छा छोरा नन्दलाल सी नेकपाका पार्टी सदस्य हुनुहुन्छ ।

आमा मोति वलीको २०८२ असोज २८ गतेका दिन ९६ वर्षको उमेरमा तुलसीपुर-१९ रनियापुर स्थित आँफ्नै निवासमा दुखद निधन भएको थियो ।

दिवंगत आमा मोति वलीको स्मृतिमा आयोजित श्रद्धाञ्जली कार्यक्रमको अध्यक्षता एवम सहजीकरण नेपाल कम्युनिस्ट पार्टीका तुलसीपुर नगर कमिटीका सेक्रेटरी रुद्र सीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार