दाङ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले शहिद कुमार पौडेलका परिवारसँग भेटघाट गरेका छन् । भेटघाटका क्रममा शहिद कुमार पौडेलका परिवारले आफ्नो छोराले देश र जनताको लागि क्रान्तिमा बलिदान गरेको भन्दै शहिद परिवारलाई पार्टीले कहिल्यै बिर्सन नहुने बताए ।
कुमारका बुवाले भने, –‘शहिद र जनताको सपना पूरा गर्ने जिम्मा यो पार्टी र तपाईहरुको काँधमा आएको छ त्यसैले शहिदका सपना पूरा गरेरै छाड्नु पर्छ । अन्य पार्टीहरुसँग आशा गर्ने ठाउँ समाप्त भएकाले देशलाई आशा दिने बाटोमा तपाईहरु लैजानु पर्छ । सबै शहिद परिवार यो पार्टी र क्रान्तिको साथमा छौँ र अन्तीमसम्म रहिरहनेछौँ ।’
जवाफमा महासचिव विप्लवले शहिद कुमार पौडेल लगायत सम्पूर्ण शहिदहरु क्रान्तिका ढुकढुकी भएकाले जुनसुकै अवस्थामा पनि आफूहरुले शहिदका सपना मर्न नदिने बरु क्रान्तिलाई अन्तीम विजयसम्म पुर्याएरै छोड्ने अठोट व्यक्त गरे । त्यसका लागि शहिद परिवार क्रान्तिको बाधक होइन साधक बनिदिनुपर्ने बताए ।
महासचिव विप्लवले भने, –‘अप्ठ्यारा र चुनौतीहरु अवश्य छन् तर ती अप्ठ्यारा र चुनौतीहरु तोड्दै शहिद र जनताहरुको सपना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
भेटघाटमा पार्टीका कार्यलय सचिव असल क्षेत्री, सर्लाही जिल्ला इन्चार्ज तथा नेकपाका केन्द्रीय सदस्य समर, केन्द्रीय सदस्यहरु प्रज्वलन, देवनारायण शाह लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
स्रोत: eratokhabar
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.