हेमन्तप्रकाश वली ।
माघ १०,हंसपुर । नेकपा (माओवादी) दाङ-३ बाट प्रत्यक्ष उम्मेदवार बलबहादुर वली (शितल)ले भ्रष्टाचार गरेर जम्मा गरेको पैसा दिनभरी जलिनसक्ने पार्टीलाई जनताले भोट नदिने बताएका छन् ।
पार्टीको बबई गाउँकमिटीका अगुवा नेताकार्यकर्तालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
शनिबार बबई गाउँपालिकाको हंसपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार वलीले भने – ‘जेन-जी विद्रोहले अपदस्त गरेका पुराना पार्टीलाई जनताले भोट दिँदैनन् । कांग्रेस , एमाले , प्रचण्डहरुलाई जनताले स्वीकार गर्दैनन् । जेन-जी आन्दोलनको बेला दिनभरी भ्रष्टाचार गरेर कोठाभरी थन्क्याएको पैसा जलिनसक्ने पार्टीले भोट पाउने कुरा छोड्नुस, गाउँमा आए लखेटिने छन् ।’
‘घण्टीप्रति जनताको अलिअलि आकर्षण जस्तो देखिन्छ,’ उनले भने, ‘ यो आकर्षण विनाशकारी छ । रवी-बालेनहरु साम्राज्यवादको योजनामा नेपाललाई युक्रेन बनाउने दिशामा छन् । नवयुवाहरु घण्टीको अनावश्यक भ्रममा छन् , हामिले सचेततापुर्वक यो चुनावलाई राष्ट्र र जनता जोगाउने महाअभियानको रुपमा लैजानुपर्दछ । यो चुनाव मात्रै होइन् , मुलुकको अस्तित्व रक्षाको लडाइँ हो ।’

उम्मेदवार वलीले नेकपा (माओवादी)ले देश र जनताको विरुद्ध एक इन्चपनि अपराध नगरेकाले जनतामा पार्टीप्रति आकर्षण बढ्दो रहेको बताए ।
उनले भने – ‘यो देशमा भ्रष्टाचारका विरुद्ध हामि लडेका हौँ । एमसीसी , करछली , मानवतस्कर , राष्ट्रघात , जनघात , कुशासनका विरुद्ध हामि , हाम्रो पार्टी लडेको हो । शान्ति , समृद्धि र स्वाधीनताको पक्षमा हामि लडेका हौं । हामि अहिलेपनि जनताको व्यवस्था समाजवादका लागि लडिरहेका छौँ । हामिले जनतालाई धेरै बुझाउनै पर्दैन , जनताले सबै बुझेका छन् । जनताले हाम्रो आत्मनिर्भर उत्पादन अभियान , आलू खेती , धान उत्पादन , स-साना घरेलु उधोगधन्दा खोलेर जनतालाई रोजगारी दिएको बुझेका छन् । त्यसैले धेरै भन्नैपर्दैन , जनताले हामिलाई संसदको प्रतिनिधि बनाएर पठाउँछन् ।’
उम्मेदवार वलीले यो चुनाव सामान्य चुनाव नभएकाले राजनीतिक कार्यक्रम , विचार , एजेन्डा मूल्यांकन गरेर मतदान गर्न आग्रह गरेका थिए ।
यस्तै कार्यक्रममा पार्टीबाट समानुपातिक उम्मेदवार कान्छी चौधरी , पार्टीका जिल्ला सचिव तिलक योगी , पार्टीका केन्द्रीय सदस्य विकाश वली , पार्टीका केन्द्रीय सदस्य तथा दाङ-३को निर्वाचन परिचालन मुल समितिका संयोजक प्रदिप वलीले निर्वाचन सम्बन्धि निर्देशनात्मक सम्बोधन गरेका हुन् ।

कार्यक्रमको सहजीकरण तथा अध्यक्षता नेकपा (माओवादी) बबई गाउँकमिटीका इन्चार्ज उज्वल डाँगीले गरेका थिए ।
यता शनिबार नै बबई गाउँकमिटीको विस्तारित बैठकले आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको व्यापक तयारी गर्ने निर्णय गरेको छ ।
बैठकले यसपटकको निर्वाचनमा बबई गाउँपालिकालाई माओवादीमय बनाउने विशेष निर्णय गरेको जनाइएको छ।
पहिलोपटक संसदीय निर्वाचनमा भाग लिएको नेकपा (माओवादी)ले चुनाव चिन्ह गुलावको फूल सहित चुनावी अभियानमा उत्साहपुर्वक ढंगले सहभागी भईरहेको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.