‘म सफा गर्छु मेरो देश’ अभियान अन्तर्गत उम्मेदवार र माओवादी कार्यकर्ताले गरे पातुखोला सरसफाइ

डेली न्युजराप्ती       ३ फाल्गुन २०८२ १२:४६ मा प्रकाशित     15 No Comments

हेमन्तप्रकाश वली ।
फागुन २ , तुलसीपुर ।
नेकपा (माओवादी) दाङ-३ प्रतिनिधि सभाका उम्मेदवार बलबहादुर वली (शितल) र माओवादी कार्यकर्ताले तुलसीपुरको पातुखोला सरसफाइ गरेका छन् ।
शनिबार ‘म सफा गर्छु मेरो देश’ अभियानमा जोडिएर उम्मेदवार वली र उनको पार्टी नेकपा (माओवादी)का सयौं नेताकार्यकर्ताहरुले विहान पातुखोलाको फोहोर सरसफाइ गरेका हुन् ।

सरसफाइ अभियानमा सहभागी नेकपा (माओवादी)का पोलिटब्युरो सदस्य तथा दाङ-३ प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार शितलले फोहोर सरसफाइसँगै राजनीतिको सरसफाइ जरुरी रहेको बताए ।
उनले भने – ‘फोहोर व्यवस्थापनमा राज्य चुकेको छ । देश डम्पिङ साइट जस्तो भएको छ । यसले नागरिकको स्वास्थ्यमा गम्भीर संकट ल्याएको छ । यसमा स्थानीय सरकार , नागरिक र मुलतः राज्यको जिम्मेवारी हो । तर यहाँ देशको राजनीति सफा गर्नुपर्ने बेला भएको छ । देशको राजनीतिक दुर्गन्ध यो दुर्गन्धभन्दा अझ जटिल छ। हामी राजनीतिको दुर्गन्ध सफा गर्नेगरी चुनावमा आएका छौँ ।’

उम्मेदवार वलीले एकपटक नेपाली जनताले राजनीतिको दुर्गन्ध सफा गर्ने जिम्मेवारी नेकपा (माओवादी)लाई दिनुपर्ने बताएका थिए ।

सरसफाइमा सहभागी माओवादीका नेताकार्यकर्ता

‘संसदवादी दल र नयाँ भनिने चटकेहरुले देशलाई नराम्रोसँग डुबाए । जनतामा पुराना पार्टीप्रति चरम निराशा छ ,’ उनले भने, ‘पुराना प्रतिको वितृष्णाको फाईदा एजेन्डा ,निति तथा कार्यक्रम विहिन रास्वपाले लिन खोजेको छ । तर रास्वपा पुराना भन्दा झन बढि डरलाग्दो गरी राष्ट्रिय अस्मिता सिध्याउन आएको छ । वास्तविक नयाँ नविकृत माओवादी हो । विप्लव नै हुन नयाँ र जनताको असली प्रतिनिधि । जनताले यो निर्वाचनमा देशको रक्षाको निम्ति हामिलाई जिताउनुपर्ने छ । माओवादी नै यो देश र जनताको प्रतिनिधित्व गर्ने असल प्रतिनिधि पार्टी हो ।’

उम्मेदवार वलीले फागुन २१ गते नेकपा (माओवादी)लाई गुलाफ चिन्हमा मतदान गर्न जनता उत्साहित भएको समेत बताएका थिए ।

‘म सफा गर्छु मेरो देश’ अभियान २३३औँ हप्तामा पुगेको छ । यसको नेतृत्व स्थानीय निम बहादुर बुढाथोकीले गरिरहेका छन् ।

सरसफाइमा सहभागी माओवादीका नेताकार्यकर्ता

बुढाथोकीले अभियानको आग्रहलाई स्वीकार गरेर सरसफाइ अभियानमा सहभागी भएकोमा उम्मेदवार र पार्टीका नेताकार्यकर्तालाई विशेष धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार