दाङ, फाल्गुन १८ । पश्चिम दाङ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका प्रत्यक्ष उम्मेदवार बलबहादुर ओली (शितल)ले आफ्नो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) विरुद्ध योजनाबद्ध रूपमा भ्रम फैलाउने प्रयास भइरहेको आरोप लगाउनुभएको छ।
फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गोलाकार भित्रको “गुलाबको फूल” चुनाव चिन्ह लिएर मैदानमा उत्रनुभएका शितलले आफ्नो चुनावी अभियान तीव्र रूपमा अघि बढिरहेको र जनलहर बढ्दो अवस्थामा रहेको दाबी गर्नुभयो।
उहाँका अनुसार यही अवस्थाबाट अत्तालिएर प्रतिस्पर्धी पक्षले अनैतिक र भ्रामक प्रचार सुरु गरेको हो।
शितलले विज्ञप्ति जारी गर्दै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार धनबहादुर मास्के र उनका कार्यकर्ताले “नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र नेपाली कम्युनिष्ट पार्टी मिलिसकेको, त्यसैले भोट गुलाबको फूलमा होइन, तारामा हाल्नुपर्छ” भन्ने भ्रामक हल्ला फैलाएको जनगुनासो व्यापक रूपमा प्राप्त भएको उल्लेख गर्नुभयो।
उहाँले यस्तो गतिविधि जनतालाई भ्रमित पार्ने, जनअभिमत अपहरण गर्ने र राजनीतिक नैतिकता विपरीतको कदम भएको आरोप लगाउँदै निचस्तरको प्रचार नगर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो। “राजनीतिक प्रतिस्पर्धा स्वस्थ, सभ्य र तथ्यमा आधारित हुनुपर्छ,” शितलको भनाइ उद्धृत गर्दै उल्लेख गरिएको छ।
पश्चिम दाङ–३ का बुद्धिजीवी, राष्ट्रवादी शक्ति तथा आम मतदातालाई सम्बोधन गर्दै शितलले कुनै पनि अनैतिक र पाखण्डी प्रचारको प्रभावमा नपर्न आग्रह गर्नुभएको छ। उहाँले देशको रक्षा, राष्ट्रिय स्वाधीनता र जनहितको पक्षमा मतदान गर्न गोलाकार भित्रको “गुलाबको फूल” चुनाव चिन्हमा मतदान गर्न हार्दिक अपिल समेत गर्नुभएको छ ।

सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.