दाङ, १५ चैत । दाङको घोराही उपमहानगरपालिकाले आउँदो शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना गर्दा जन्मदर्ता अनिवार्य गर्न निर्देशन दिएको छ । सरकारी तथा निजी विद्यालयले भर्ना गर्दा जन्मदर्ता नखोज्दा धेरै बालबालिकाको जन्मदर्ता नहुने भएकाले आउँदो शैक्षिक सत्रदेखि यसलाई अनिवार्य गर्न निर्देशन दिइएको हो । घोराही उपमहानगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको आयोजनामा घोराही–७ सौडियारमा हिजो मङ्गलवार आयोजित व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षासम्बन्धी नागरिक सचेतना कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले यस्तो निर्देशन दिनुभएको हो ।
यसका लागि घोराही उपमहानगरपालिकाले सबै सरकारी तथा निजी विद्यालयलाई परिपत्र गर्ने तयारी गरेको उहाँले बताउनुभएको छ । घिमिरेले ३५ दिनभित्रै जन्मदर्ता गराउने र सुरक्षित प्रसूति सेवा लिनका लागि उपमेयर खुत्रुके बचत कार्यक्रम मार्फत एक हजार रुपैयाँ प्रोत्साहन दिने गरिएको भन्दै व्यक्तिगत घटना तथा सामाजिक सुरक्षासम्बन्धी अभियान सफल बनाउन सरोकारवालाको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभएको छ । कार्यक्रममा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख दिवाकर योगीले जन्मदर्ता, बहुविवाह र बालविवाहलाई शून्यमा झार्ने, बसाइँसराइ गर्दा अनिवार्य घटना दर्ता गरेरमात्रै गर्ने, दोहोरो घटना दर्ता तथा सामाजिक सुरक्षा भत्तालाई शून्यमा झार्ने, सामाजिक सुरक्षा भत्ताको दर्ता, नवीकरण, लगत कट्टा, बैंक खाता सञ्चालनलगायतका विषयमा जानकारी दिनुभएको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.