दाङ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको चुनावी तालमेल सहमति कार्यान्वयनको विषयलाई लिएर विवाद उत्पन्न भएको छ।
दाङ–२ मा माओवादीले सहमतिअनुसार प्रतिनिधिसभामा आफ्नो उम्मेदवारी नै नदिई एमालेका महासचिव शंकर पोखरेल लाई सघाएको थियो।
तालमेलको भावना अनुरूप दाङ–२ मा माओवादीले प्रत्यक्ष प्रतिस्पर्धाबाट पछि हट्दै पोखरेललाई जिताउन खुलेर सहयोग गरेको माओवादी नेताहरूको भनाइ छ। तर कालिकोटमा भने सोही सहमति विपरीत एमालेले आफ्नै उम्मेदवारी दर्ता गराउँदै राजनीतिक बेइमानी गरेको माओवादीको आरोप छ ।
कालिकोटमा माओवादीका प्रवक्ता प्रकाण्ड लाई सघाउने सहमति भएको दाबी गर्दै माओवादी पक्षले एमालेले वाचा विपरीत कदम चालेको जनाएको छ। “दाङ–२ मा हामीले इमान्दारितापूर्वक तालमेल कार्यान्वयन गर्यौं, तर कालिकोटमा एमालेले सहमति तोडेर उम्मेदवारी दियो,” माओवादी स्रोतले भन्यो, “यसले तालमेलको नैतिक आधार कमजोर बनाएको छ।”
राजनीतिक विश्लेषकहरूका अनुसार एक क्षेत्रमा पूर्ण समर्थन र अर्को क्षेत्रमा प्रतिस्पर्धा गर्ने रणनीतिले गठबन्धनभित्र अविश्वास बढाउन सक्छ। यस घटनाले दुवै दलबीचको सम्बन्धमा चिसोपन ल्याउने संकेत देखिएको छ।
एमाले पक्षबाट भने यसबारे औपचारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन। तर माओवादी वृत्तमा भने कालिकोटको कदमलाई ‘घात’ का रूपमा व्याख्या गर्दै आसन्न प्रतिनिधि सभाको निर्वाचनमा दाङ २ मा प्रत्यक्षतर्फ ने. क .पा.(माओवादी)को समर्थन कुनैपनि उम्मेदवारलाई नरहने कुरा माओवादी श्रोतले जानकारी दिएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.