काठमाडौं — रवीन्द्र मिश्र ले दलीय राजनीतिबाट तत्कालका लागि विदा लिने घोषणा गरेका छन्। उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत राप्रपाका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको जानकारी दिएका हुन्।
राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका मिश्रले देशभर राजसंस्था पुनर्स्थापनाको पक्षमा जनमत बढ्दै गए पनि त्यसलाई संगठित र पूँजीकृत गर्न पार्टी असफल भएको स्वीकार गरेका छन्। त्यसमा आफू पनि जिम्मेवार रहेको उनले बताएका छन्।
“देशभरि राजसंस्था पुनर्स्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि सो जनमतलाई संगठित र पूँजीकृत गर्न पार्टी विविध कारणले बारम्बार विफल भएको छ,” मिश्रले उल्लेख गरेका छन्।
उनले बदलिँदो भूराजनीति र आन्तरिक परिस्थितिलाई ध्यानमा राख्दै देशको भविष्यका लागि नयाँ समझदारी र संरचनागत पुनरावलोकन आवश्यक रहेको बताएका छन्। यही सन्दर्भमा आफूले दुई निर्णय लिएको उनले बताएका छन्।
मिश्रले पहिलो निर्णयका रूपमा आजकै मितिबाट लागू हुने गरी पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको जनाएका छन्। दोस्रो निर्णयका रूपमा राजसंस्था पुनर्स्थापना, सुशासन लगायतका मुद्दामा आफ्नो अडान यथावत रहने र अब केही समय गैरदलीय (स्वतन्त्र) रूपमा आफ्ना विचार र धारणा सार्वजनिक गरिरहने बताएका छन्।
गत ९ वर्षको राजनीतिक यात्रालाई स्मरण गर्दै मिश्रले आफूले इमानदारीपूर्वक राजनीतिक र राष्ट्रिय रूपान्तरणका लागि प्रयास गरेको तर त्यो प्रयास अझै पर्याप्त नभएको बताएका छन्।
उनले निर्वाचनमा अभूतपूर्व सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
साथै नेपाली राजनीति “तातो तावाबाट भुङ्ग्रोमा नजाओस्” भन्ने कामना पनि गरेका छन्।
मिश्रले देश–विदेशमा रहेका नेपाली तथा पार्टीका नेता–कार्यकर्तालाई आफ्नो राजनीतिक यात्रामा साथ दिएकोमा आभार व्यक्त गर्दै “नेपालको जय होस्” भन्ने सन्देशसहित लेखाई अन्त्य गरेका छन्।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.