५ चैत, गुल्मी — गुल्मीको सत्यवती गाउँपालिका–५ हँसरास्थित भित्री कच्ची सडकमा आज बिहान एक ट्रक दुर्घटनामा परेको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।
बुर्तिबाङबाट बुटवलतर्फ जाँदै गरेको लु२ख ५३७३ नम्बरको पेप्सी–कोकाकोला बोकेको ट्रक पछाडि फर्काउने क्रममा अनियन्त्रित भई दुर्घटनामा परेको हो। उक्त घटनामा चालक, बुटवल उपमहानगरपालिका–११ जयकुटी निवासी ३४ वर्षीय केशव ज्ञवाली घाइते भएका छन्। उनको बायाँ खुट्टा र आँखामाथि चोट लागेको बताइएको छ।
ट्रकमा सवार तिलोत्तमा नगरपालिका–१ शंकरनगरका ३१ वर्षीय यादव ज्ञवाली पनि घाइते भएका छन्। उनको नाक, दाहिने हात र बायाँ खुट्टामा चोट लागेको प्रहरीले जानकारी दिएको छ।
दुवै घाइतेलाई उपचारका लागि गुल्मीको जोहाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय जोहाङबाट प्रहरी नायब निरीक्षक नरेन्द्र वि.क.को नेतृत्वमा खटिएको टोलीले उद्धार कार्य सम्पन्न गरेको हो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.