देशभर हर्षोल्लासका साथ मनाइयो इद उल फित्र, नमाज र दानको महत्त्व

डेली न्युजराप्ती       ८ चैत्र २०८२ ०९:२३ मा प्रकाशित     77 No Comments

दाङ, ७ चैत । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत (रोजा) सम्पन्न गरेका देशभरका मुस्लिम समुदायले आज इद उल फित्र पर्व श्रद्धा र उल्लासका साथ मनाएका छन्।
एक महिनासम्म सूर्योदयदेखि सूर्यास्तसम्म निराहार व्रत बसेपछि आज बिहान विशेष नमाज पाठ गरी पर्वको औपचारिक सुरुवात गरिएको हो। नमाजपछि तीन दिनसम्म आफुभन्दा ठूला बडाकहाँ गएर आशीर्वाद लिने तथा सानालाई आशीर्वाद दिने परम्परा रहेको छ।
इदका अवसरमा आफन्त तथा पाहुनालाई सेवई, खजुरलगायत मीठा परिकार खुवाउने चलन छ। साथै दानको विशेष महत्त्व रहेको यस पर्वमा दीनदुःखी र गरिबलाई सहयोग गर्ने परम्परा पनि छ।
काठमाडौंको घन्टाघरस्थित नेपाली जामे मस्जिदसहित देशभरका मस्जिद तथा इदगाहमा विशेष कार्यक्रम गरी नमाज अदा गरिएको छ। नमाजपछि शुभकामना आदानप्रदान र आशीर्वाद लिने क्रम सुरु भएको छ।
मुस्लिम धर्मग्रन्थ कुरानअनुसार प्रत्येक मुस्लिमले आफ्नो वार्षिक बचतको साढे दुई प्रतिशत (२.५%) जकातका रूपमा दान गर्नुपर्ने व्यवस्था छ। यसरी संकलित रकम वा जिन्सी सामग्री गरिब तथा विपन्नलाई वितरण गरिन्छ। यसका अतिरिक्त ‘सदकातुल फित्र’ (फितर) अन्तर्गत गहुँ वा सो बराबरको नगद दान गर्ने चलन पनि छ, जुन जन्मिन लागेको शिशुको नाममा समेत दिनुपर्ने मान्यता छ।
इद उल फित्रको अवसरमा मुस्लिम समुदायले नयाँ कपडा लगाएर आफन्त तथा साथीभाइसँग भेटघाट गर्दै शुभकामना साटासाट गर्छन्। यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार