कम्युनिस्ट आन्दोलन समाप्त नभएको दाबी, नविकरण र पुनर्गठन आवश्यकः सविन सी

डेली न्युजराप्ती       १४ चैत्र २०८२ ०९:३० मा प्रकाशित     88 No Comments

दाङ, १३ चैत २०८२ ।
नेकपा (माओवादी)का केन्द्रीय सदस्य सविन सीले हालैको चुनावी परिणामलाई लिएर कम्युनिस्ट आन्दोलन समाप्त भएको भन्दै भइरहेको प्रचारप्रति असहमति जनाएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कम्युनिस्ट आन्दोलन र समाजवादी सपनाको अन्त्य नहुने स्पष्ट पारेका हुन्।

उनले वर्तमान परिस्थितिमा समीक्षा, सुधार, रूपान्तरण, आत्मपरीक्षण, नविकरण र पुनर्गठन आवश्यक रहेको स्वीकार गर्दै केवल आलोचना, निराशा र आरोप–प्रत्यारोपले परिवर्तन सम्भव नहुने बताएका छन्।

रचनात्मक सुझाव र समालोचनालाई ग्रहण गर्दै विकासको बाटोमा अघि बढ्नुपर्ने उनको भनाइ छ।
सविन सीका अनुसार नयाँले पुरानोलाई प्रतिस्थापन गर्ने प्रक्रिया स्वाभाविक भए पनि आफ्नै संघर्ष र बलिदानबाट निर्माण भएका आधारहरूलाई कमजोर पार्ने प्रवृत्ति दीर्घकालीन रूपमा टिक्न नसक्ने बताएका छन्।

उनले चुनावी परिणामलाई कम्युनिस्ट आन्दोलनको पराजय नभई सत्तामा रहेका शक्तिहरूको असफलताको परिणामको रूपमा व्याख्या गरेका छन्।

उनले नेपाली समाजले खोजेको विकल्पनव–शोषणकारी वा उपभोक्तावादी अर्थराजनीति नभई रोजगारी, सामाजिक न्याय, स्वाभिमान र सुशासन भएको उल्लेख गरेका छन्। आफूलाई वामपन्थी मान्नेहरू निराश नहुन आग्रह गर्दै उनले संघर्ष निरन्तर जारी रहने बताएका छन्।

उनले वर्गीय असमानता रहँदासम्म समाजवादी आन्दोलन जीवित रहने दाबी गर्दै पार्टीहरूको गठन, विघटन र पुनर्गठन समयक्रममा चलिरहने बताएका छन्।

सविन सीले कम्युनिस्ट आन्दोलनको नविकरण, पुनर्निर्माण र पुनर्जागरणमार्फत नेपाली समाजको आवश्यकता सम्बोधन गर्ने राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक प्रणाली निर्माणको प्रक्रिया अवरुद्ध नहुने विश्वास व्यक्त गरेका छन्।

साथै, उनले कम्युनिस्ट आन्दोलनका शहीद तथा योगदानकर्ताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै हाल संघर्षरत कार्यकर्ताहरूलाई सम्मान प्रकट गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार