दाङमा माओवादीको प्रदर्शन : ‘राष्ट्रियतामाथिको हस्तक्षेप स्वीकार्य छैन’

डेली न्युजराप्ती       १ असार २०८३ १९:०० मा प्रकाशित     177 No Comments

दाङ, जेठ ३१ — सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गरेको हस्तक्षेप तथा अतिक्रमणको विरोधमा विप्लव नेतृत्वको नेकपा (माओवादी) जिल्ला समिति दाङले आज घोराहीस्थित तुलसीपुर चोकमा विरोध प्रदर्शन गरेको छ।

पार्टीको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले राष्ट्रिय स्वाधीनता र सीमाको रक्षा गर्नुपर्ने माग गर्दै विभिन्न नाराबाजी गरेका थिए। प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै पार्टीका संगठनात्मक सम्मेलन आयोजक समितिका सदस्य सविन पोख्रेलले सुस्तामा भएको हस्तक्षेपप्रति आपत्ति जनाउँदै सरकारको भूमिका कमजोर रहेको आरोप लगाए।

उनले प्रधानमन्त्री बालेन शाहले “नेपालले पनि भारतको सीमा मिचेको छ” भन्ने अभिव्यक्ति दिएको भन्दै त्यस्ता अभिव्यक्तिले सीमा क्षेत्रमा विदेशी हस्तक्षेपलाई प्रोत्साहन गर्ने वातावरण सिर्जना गरेको दाबी गरे। पोख्रेलले वर्तमान सरकार गरिब, सुकुम्बासी तथा विपन्न नागरिकको पक्षमा नभई उनीहरूको ढाड सेक्ने नीति र व्यवहारमा केन्द्रित रहेको आरोप समेत लगाए।
सुस्तामा भएको भनिएको अतिक्रमणका विरुद्ध देशभक्त नागरिकहरूले देखाएको प्रतिरोधको प्रशंसा गर्दै उनले राष्ट्रिय स्वाधीनता, भूमि र सीमाको रक्षाका लागि सबै देशभक्त शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा सहभागीहरूले सुस्ता क्षेत्रमा भएको हस्तक्षेपको विरोध गर्दै राष्ट्रिय अखण्डता र स्वाभिमानको पक्षमा चर्का नाराबाजी गरेका थिए। माओवादीले सीमा अतिक्रमण तथा राष्ट्रिय स्वाधीनतामाथिका सबै प्रकारका हस्तक्षेपका विरुद्ध संघर्ष जारी रहने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार