तुलसीपुर । नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूको आवास अधिकार सुनिश्चित गर्न माग गर्दै आज तुलसीपुरमा विरोध प्रदर्शन गरेको छ।
“बस्न दे सरकार, बाँच्न दे सरकार” लगायतका नारासहित आयोजित प्रदर्शनमा भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले आफूहरूको बसोबासको अधिकार सुरक्षित गर्न सरकारसँग माग गरेका थिए। प्रदर्शनपछि आयोजित कोणसभामा विभिन्न वक्ताहरूले भूमिहीन नागरिकहरूको समस्या समाधानमा राज्य गम्भीर बन्नुपर्ने धारणा राखेका थिए।
संरक्षण समितिका जिल्ला संयोजक विकास वलीको सञ्चालनमा सम्पन्न कार्यक्रममा समितिका केन्द्रीय सदस्य हरिष गिरि , अभियान्ता सर्जन परियार, सामाजिक अभियन्ता रमेश सेन्चुरी र सन्तोष चौधरी, समितिका नगर उप–संयोजक हस्त केसी, नवलपुर भूमि अधिकार आन्दोलनका केन्द्रीय महासचिव हेमराज दाहाल तथा संरक्षण समितिकी जिल्ला सह–संयोजक प्रेरणा परियार लगायतले सम्बोधन गरेका थिए।
वक्ताहरूले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको दीर्घकालीन समस्या समाधान गर्न सरकारले ठोस पहल गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले नागरिकको आधारभूत आवश्यकता अन्तर्गतको आवास अधिकार सुनिश्चित गर्न तथा बसोबास गरिरहेको स्थानबाट विस्थापित नगर्न सरकारसमक्ष माग गरेका छन्।
कार्यक्रममा सहभागीहरूले वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकहरूको उचित व्यवस्थापन, जग्गाको स्वामित्व प्रदान तथा आवास अधिकारको ग्यारेन्टी गर्न राज्यलाई दबाब दिन आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी समेत दिएका छन्।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.